नेकपा एमालेको सुदूरपश्चिम संसदीय दलले मुख्यमन्त्री त्रिलोचन भट्टलाई विश्वासको मत दिने निर्णय गरेको छ ।
पार्टीले विपक्षमा मत हाल्न दिएको निर्देशनविपरित नेपाल समूहको बाहुल्यता रहेको संसदीय दलले मुख्यमन्त्री भट्टलाई विश्वासको मत दिने निर्णय गरेको हो ।
२४ सदस्यी संसदीय दलमा केपी ओली पक्षका ७ सांसदले भने बहुमतको उक्त निर्णयमा असहमति जनाएका छन् । एमालेका लीलाधर भट्ट, रतन थापा, पठानसिंह बोहोरा, गेल्वुसिंह बोहोरा, माया तामाङ बोहोरा र वलदेव रेग्मी र नेपालु चौधरीले निर्णयमा हस्ताक्षर गर्न अश्वीकार गरेका छन् ।
योसँगै सुदूरपश्चिम प्रदेशमा एमालेको संसदीय दल पनि विभाजित भएको छ । आजै कांग्रेस संसदीय दलले पनि मुख्यमन्त्री भट्टलाई विश्वासको मत दिने निर्णय गरेको छ ।
जसपाका दुई सांसदले भने भट्टलाई विश्वासको मत नदिने भएका छन् । दुबै सांसद जसपाको महन्थ ठाकुर पक्षीय हुन् । केन्द्रमा भएको सत्ता समीकरण अनुसार मत नदिने निर्णय भएको जसपा संसदीय दलका नेता कृष्णबहादुर चौधरीले बताएका छन् । सुदूरपश्चिम प्रदेश सभामा जसपाका चौधरी र मालामति राना सदस्य छन्।
जसपाले मत नदिए पनि एमालेको बहुमत सदस्य र कांग्रेसको साथ रहँदा मुख्यमन्त्री भट्टको पद भने जोगिने भएको छ ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।