नेकपा एमालेको माधवकुमार नेपाल समूहले प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली वाह्य शक्तिसामु लम्पसार परेको आरोप लगाएको छ ।
संविधान, लोकतन्त्र, संसद, राष्ट्रिय स्वाधीनता र स्वाभिमानको रक्षाका लागि वामपन्थी र लोतन्त्र पक्षधर दलहरुसँग सहकार्य गर्नु परेको भन्दै उसले प्रतिनिधिसभा विघटनविरुद्ध दायर रिट निवेदनबाट हस्ताक्षर फिर्ता नलिने प्रष्ट पारेको छ ।
शनिबार बसेको नेपाल समूहको स्थायी कमिटी सदस्यहरुको बैठकले पार्टी एकतामा जोड दिएको छ । तर अध्यक्ष एवं प्रधानमन्त्री ओलीले वार्तालाई दाउपेचका रुपमा मात्र लिएको भन्दै नेपाल समूहले भनेको छ, ‘पार्टी एकताका लागि हामीले लिखित रुपमा दिएको पत्रमा उल्लेखित कुराहरु जबसम्म विश्वसनीय रुपमा पूरा हुँदैनन्, तबसम्म वार्ता फगत समय कटाउने चाल मात्र ठहरिनेछ ।’
आफूहरु अहिले पनि पार्टी एकताका लागि सार्थक र परिणाममुखी वार्ताको पक्षमा रहेको नेपाल समूहले बताएको छ । तर प्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीबाट संविधान र पार्टी विधान विपरीत गतिविधि भएको भन्दै नेपाल समूहले भनेको छ, ‘यस्तो अवस्थामा हामीले अघि सारेका कुराहरु तत्काल निश्चित समयावधिमा विश्वसनीय रुपमा कार्यान्वयन हुने गरी सहमति सार्वजनिक भए मात्र अध्यक्ष केपी ओली पार्टी एकताको पक्षमा रहेको ठहरिनेछ ।’
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।