बुधबार, असार ९ २०७८
ताजा अपडेट

अहँकारको वृक्षमा विनासको फल


  • विवेक विनयी
  • सोमबार, जेष्ठ १० २०७८
5.9K
SHARES

महाभारत प्रसंगमा महर्षि वेद व्यास र दुर्याेधन विच महत्वपूर्ण सम्वाद छ ।
धर्म के हो थाहा छ दुर्याेधन ?
-थाहा छ गुरुदेव ।
अधर्म के हो थाहा छ ?
-थाहा छ गुरुदेव ।
पाप के हो थाहा छ ?
-थाहा छ गुरुदेव ।
युद्ध के हो थाहा छ ?
-थाहा छ गुरुदेव ।
अनि सबै कुरा थाहा हुने मान्छे किन युद्ध गर्न तम्सेको ?
-गुरुदेव म युद्ध चाहान्न । तर, म भित्र कोही छ जसले मलाई बारबार युद्ध गर्न उक्साइ रहेको छ । मलाई तम्स्याई रहेको छ ।

को थियो त दुर्याेधन भित्र ? निश्चित रुपमा अहँकार । धुर्याेधन भित्र एक शक्तिशाली अहँकार थियो । त्यही अहँकारको आगोले लेख्यो महाभारात ।
महाभारतमा मात्र होइन मनुष्यजातीको इतिहासमा अहिले सम्म भएका तीनहजार भन्दा बढी साना ठूला युद्धहरुको प्रमुख कारण अहँकार नै थियो । मसिनो गरि हेर्ने हो भने हरेक मानिसमा अहँकार छ । कसैमा कम, कसैमा बढी । कसैले आफ्नो अहँकारलाई रोके त कसैले बाहिर निकाले । अहँकार कै कारण सम्बन्धमाहरुमा वैमनस्य, कलह हुँदै बद्लाको किनार सम्म पुग्छ ।
नेपालको अहिलेको परिस्थिति, अहँकार र यसको भूमिका सन्दर्भमा केही घोत्लने प्रयास गर्दैछु ।

अहँकार (Ego) के हो ?
यसबारे केही घोत्लऔँ । हरेक मानिस आफ्नो अस्तित्व पहिचान (Identity of self/existence) प्रति संवेदनसिल हुन्छ । म यस्तो असल, सुन्दर, सिपालु, महान, शिक्षित, धनी, घरानीय, खानदानी, दानी, मालिक आदि थुप्रै तवरले समाजमा पहिचान बनाउँन चाहान्छ । समाजमा आफ्नो उच्च पहिचान, प्रसिद्धि र आफु सही छु भन्ने देखाउन उसले आफ्नो व्यक्तित्वमा धेरै कुराहरु जोड्छ । जस्तो आफ्नो शरीर, पात्राता, शिक्षा, सिप, सम्बन्ध, धन, पद आदि । कोही म धनी छु भन्छ । कोही धेरे पढेको, कोही शरीरिक रुपमा सुन्दर, कोही करुणानीधि, कोही उच्च पद पाएको मान्छे हुँ त कोही…।

यसरी हरेक मानिसले आफ्नो “म” लाई बढेमानको बनाउँन चाहान्छ । आफुलाई दुनियाँमा भयँकर “म” भएको ठान्छ । यही “म” लाई विस्तार गरी उसले मेरो, म आफैँ, मलाई आदि शब्दहरु जोडेर आफ्नो भव्य “म” थप फैल्याउँछ ।

विस्तारै उसको आसपासका मानिसहरुले उसले बताएको महान “म” साँचो हो, ठिक हो भनेर मलजल गरिदिन्छन् । केहीले प्रशंसा र पुरस्कार पनि दिन्छन् । अब उसलाई आफ्नो भव्य “म” मा झनै गर्व हुन्छ । गहिरो विश्वास हुन्छ । अझैँ अघि बढ्नुपर्छ भन्ने सोच्छ ।

अब उसको यो “म” ले पलपल आफुसित केही न केही कुरा जोडिएको राम्रो ठान्छ । त्यसैले उसले आफ्नो “म” मा थुप्रै कुराहरु जोडेर विस्तार गर्दै बोल्छः म यस्तो मान्छे…, मैलेँ यस्तो गरेँ…, म यसरी पुरस्कृत भएँ…, त्यो मेरो हो…, यस मानेमा म नै पहिलो व्यक्ति … आदि ।

यो सबै मनको (Mind) विस्तार हो । मनको कारखानामा यी सबै कुराहरु उत्पन्न हुन्छ । र यसको सिलसिला अनन्त चल्छ । यो “म” जति नै विस्तार भए पनि सन्तोष मान्दैन । केवल अझै भव्य “म”…भनिरहन्छ । अतृप्त यात्रा जारी रहन्छ । त्यसैले त मानिसहरु सबैतिरबाट तिरस्कृत हुँदा, गैरकानुनी हुँदा वा लम्पसार परिसक्दा पनि आफ्नो पद छोड्न चाहँदैनन । उसलाई लाग्छ म अझै यहीँ हुनुपर्छ । म उत्तम छु…।

समय मा नै यो “म” बारे उचित जागरण भएन भने अन्तमा उसले धुर्याेधनले म नै “सर्वश्रेष्ठ युद्धवीर हुँ अर्जुन” भनेर घोषणा गरेझैँ आफ्नो महानता घोषणा गरी विनास निम्त्याउँछ । यस्तो घोषणा कसैले धुर्याेधनले झैँ खुलेआम गर्दछ त कसैले आफ्नो स्रोत, साधन, पद, तथा कानुनको चरम दुरुपयोग गर्दै मेरो “म” ठिक छ । मैले भने झैँ हुनुपर्छ भन्दै कुकर्म जारी राख्छ ।

अतः अहँकार मानिसको अस्तित्व पहिचानको भ्रम हो । यसले आफ्नो व्यक्तित्वमा केही न केही जोडिएर रहोस् भन्ने ठान्छ । मेरो अस्तित्वलाई मन निर्मित (म हुँ) पहिचान चाहिन्छ भनेर विश्वास गरी त्यसैमा अर्जुनदृष्टि लगाएर कर्म गर्नु भ्रम मात्र हो । भ्रम अज्ञानताको कालारात्री हो । ज्ञानको उज्यालो पर्नसाथ अध्याँरो भाग्छ ।

जस्तो रात झिसमिसेबाट शुरुहुन्छ र त्यसको पनि प्रकार छ । त्यसरी नै अहँकार पनि परिवारबाट सानो मात्रा शुरु भइ अघि बढ्छ् । परिवारका सबै सदस्याहरुले आफ्नो पहिचान दावी गर्दै भन्छन्ः मैले यस्तो गरेँ, उस्तो गरेँ । म धेरै काम गर्छु, सबै तिमीहरुको लागि…। सानातिना अहँकारलाई रोक्न सकिन्छ । त्यो धेरै विनासकारी हुन्न । तर, त्यसले प्रगतिको बाटो भने अवस्य सुस्त पार्छ या रोकि दिन्छ ।

रात पनि कुनै चाँदनी रात हुन्छ त कुनै निष्पट्ट अध्याँरो हुन्छ । अहँकार पनि चाँदनी रात र कालारात्री जस्तो हुन्छ ।

हामीले सुनीरहेका हुन्छौँ कि म किन झुक्ने, किन सहयोग गर्ने त्यसलाई । अस्ति मलाई सहयोग गरेको छ र ? यस्ता सानातिना अहँकार घरपरिवार वा आफन्त, छरछिमेकमा भइरहेका हुन्छन् । यो चाँदनी रात जस्तो हो । यस्तो अहँकार सानो आकारमा हुन्छ । यो बढेन भने ठूलै विनास ल्याउँदैन तर व्यक्तिगत तथा सामूहिक प्रगतिको बाटो भने अवश्य रोक्छ ।

दुर्याेधनको अहँकार कालारात्री जस्तो हो । उसले आफुलाई सर्वश्रेष्ठ घोषणा गरी संसार आफ्नो मुठ्ठीमा राख्न चाहान्छ । त्यसको लागि उसले जस्तो सुकै कुकर्म पनि गर्छ । धुर्याेधनले त्यही गर्न खोजे ।

त्यसो भए मानिसले आफ्नो अस्तित्वको पहिचान नखोज्ने ? नबनाउने ?
जरुर आफ्नो अस्तित्वको पहिचान गर्ने । पहिचान बनाउने ।
तर, यसलाई गहिरो गरी बुझ्न जरुरी छ । प्रथम त मानिसको अस्तित्वको पहिचान उसको मन (Mind) बाट आउँदैन भनेर बुझ्न जरुरी छ । मनबाट आउने “म” को विस्तार ऊ होइन । भौतिक विज्ञान, सिद्धान्त र मान्यताको पृष्ठभूमिबाट यसलाई बुझ्न कठिन छ । जसरी मानिसको मृत्युको कारण पत्ता लागेन भने हस्पिटलमा लगेर पोसमोर्टम गरिन्छ । त्यसरी नै अस्तित्वलाई पनि राम्रोसँग बुझ्न हामीले अध्यात्मको हस्पिटलमा लगेर पोसमोर्टम गर्न जरुरी छ ।

जसलाई हामी म भनिरहेका छौँ त्यो शरीर होइन । मन पनि होइन । त्यो “म” शरीर र मनदेखि पार छ । दैनिक बोलीचालीमा यो सत्य प्रयोग भइरहेको हुन्छ तर मानिसलाई थाहा हुन्न । जस्तो सबैले भन्छन्ः मेरो जीउ दुखेको छ । मेरो टाउको दुखेको छ ।

यो बोलीमा दुई अस्तित्व प्रष्ट देखिन्छ । म र मेरो शरीर । शरीर त थाहा भयो तर त्यो “म” को हो ? कहाँ छ ? हामीले अन्जानमा भए पनि “म” शरीर र मन होइन भनेर हरेक पटक बोली रहेका छौँ । सत्य चाँहि “म” शरीर र मन बाट अलग छ । शरीर र मनको पार के छ ? चेतना (Consciousness) । त्यही हो मानिसको अस्तित्व ।

जब बयोवृद्ध राजा जनक बाल ऋषि अष्ट्रबक्र सामू ज्ञानको लागि तड्पे तब अष्ट्रबक्र जनकलाई बताउँछनः जनक तिमी शरीर होइनौ । मन होइनौ । कर्ता पनि होइनौ । भोक्ता पनि होइन । तिमी एक शुद्ध चेतना हौउ । मन निर्मित “म” हुँ भन्ने अहँकारबाट बाहिर आऊ जनक ।

त्यसैले हाम्रा ऋषिहरुले अहँकारलाई षड्रिपु (६ वटा सत्रुहरु) मध्ये मानिसको प्रमुख आन्तरीक सत्रु माने ।

राजा जनक प्रज्ञावान थिए । उनले आफ्नो शुद्ध चेतना (अस्तित्वको) पहिचान गरे । मानिसको अस्तित्व चेतना हो । विराट चेतना जसलाई परमात्मा, ईश्वर, भगवान आदि जे भने पनि भयो । आफु शरीर र मनको पार चेतना हुँ भनेर जानेको दिन उसको अस्तित्वको पहिचान भयो ।
विचारविर्मषलाई मानेर मात्र आफ्नो अस्तित्वको पहिचान गर्न सकिन्न । यसलाई मान्ने मात्र होइन जान्ने । शब्दहरु त झण्डा जस्ता मात्र हुन । नेपालको झण्डा देख्दा त्यसको कपडा, रंग आदिमा अल्झेर तर्कविर्तकमा लागियो भने असली देशप्रेम छुट्छ । झण्डाको सन्देश गुम्छ । यहाँ त झण्डमा टेकेर देशप्रेममा डुब्ने हो । शब्दहरुमा टेकेर “जान्ने” भावमा डुबुल्की मार्ने हो यहाँ ।

राजा जनकले अष्ट्रबक्रको कुरा सुने पछि हो होइन भनेर शब्दमा हराएनन् । शब्दको इशारा तर्फ स्वयं अनुभव गर्न हामफाले । अन्ततः थाहा पाए सत्य ।

धेरै मानिसहरु यहाँ विज्ञान, सिद्धान्त र मान्यता आदिलाई पक्रेर तर्कवितर्कमा झुलिरहेका हुन्छन् । यसबाट के फाइदा ? यो त अण्डा पहिला कि कुखुरा पहिला भन्ने विषयमा तर्कवितर्क गरै झैँ भइगयो । उपलब्ध सबै कुराहरु अध्ययन, अनुसन्धान गर्ने र आफ्नो यात्रा कता हो त्यता तिर अघि बढ्नु नै उत्तम हुन्छ । तर्कवितर्कमा डुबेर आफुलाई महान देखाउनु पनि अहँकार नै हो ।

विज्ञानले म शरीर हुँ भन्छ । आध्यात्मले म शरीरमा बस्छु भन्छ । यहाँ तर्कमा अड्किने होइन । विज्ञान र आध्यात्म एकअर्काको विरोधी जस्तो गरी मानिसहरु व्याख्य गरिरहेका छन् । यो विल्कुल गलत हो । दुवैको आफ्नै विशेषता र सिमा छ । यी दुवैको उपयोग गरेर मानिसले संमृद्ध र आनन्दमय जीवन यापन गर्नुपर्छ । आफ्नो परम अस्तित्वको पहिचान गर्नु तर्फ लाग्नुपर्छ ।

मानिसको अस्तित्वको असली पहिचान शरीर र मन भन्दा पर रहेछ । त्यसलाई प्राप्त गर्न सकिने रहेछ भनेर बुझे पछि हामी सित भएको सबैथोक जीवनमा साधनको रुपमा प्रयोग गर्न जरुरी छ । शरीर, मन, धन, पद, शिक्षा, सम्मान आदि सबै । यी सबै वस्तुहरु हामीलाई आवश्यक छन् । यसको सदुपयोग गर्नुपर्छ तर त्यसैमा आफुलाई जोडेर मेरो पहिचान यही हो भन्ने भ्रममा बाँच्नु हुन्न ।

होसपूर्वक यस्ता कार्यहरु हुन थाल्यो भने हामीले प्राप्त गरेको धन, इज्जत, शिक्षा, शरीर, मन सबै मंगल भावले सेवामा प्रयोग हुन थाल्छ । यसबाट आफ्नो र अरुको पनि कल्याण हुन्छ । नेल्सन मन्डेलाले आफुसँग भएको सबै कुराहरु मंगल भावले देश र जनतालाई समर्पित गरे । यस्तो संसार भर थुप्रै उदाहरण छन् ।

आफुसँग भएको वा जोडिएको वस्तुहरुप्रति सजगता वा होस भएन भने त्यसले मानिसलाई अहँकारी बनाउँछ । राक्षस बनाउँ । राक्षसहरु घनघोर तपस्या गरी शक्ति प्राप्त गर्थे अनि म सर्वश्रेष्ठ हुँ भनेर अरुलाई अत्यचार गर्थे र अन्तमा सकिन्थे । अहँकारलाई बुझाउन हाम्रा धर्मग्रन्थहरुले थुप्रै सुन्दर विम्वरु प्रयोग गरेका छन् । हामीले बुझ्नै पर्छ कि अहँकारवस गरिएको सबै कर्मको फल उसलाई प्राप्त हुन्छ । यो जन्ममा पुरा भएन भने अर्काे जन्ममा भए पनि उसले सबै मूल्य चुक्त गर्नै पर्छ ।

नेपालको राजनीतिमा अहिले जे भइरहेको छ त्यो सबै अहँकारको कारण हो । म सर्वश्रेष्ठ, शक्तिशाली, म मात्रै ठिक छु भन्ने अहँकारको लक्ष्णको कारण दुःखत अवस्थाको सृजना भइरहेको छ ।

देशभरी दैनिक दर्जनौँ मानिसहरुले आत्महत्या गरिरहेका छन् । हरदिन २०० जना जति मानिसहरु कोरोनाको कारण मरिरहेका छन् । आर्थिक र मानसिक रुपमा ग्रसित मानिसहरुको संख्या कहाली लाग्दो गरी बढीरहेको छ । विकास निर्माण ठिप्प छ । यस्तो अवस्थामा देशैभरी राजनेताको मंगल भाव बोकेको झण्डाहरु फरफराउनु पर्ने हो तर अहँकारको कालो झण्डा हल्ली रहेका छन् । प्रतिसोधको महाभारत चलिरहेको छ देशमा ।
महाभारत शुरु हुनु पूर्व महर्षि व्यासले राजा धृतराष्ट्रलाई युद्ध रोक्न दुर्याेधनलाई कारवाही गर नत्र सबैको विनास हुन्छ भनेर सम्झाएका थिए । राजा धृतराष्ट्रलाई व्यासले दिएको वचन वहुतै मर्मस्पर्शी छः राजन अहँकारको वृक्षमा विनासको फल मात्र पाक्दछ । युद्ध रोक । धृतराष्ट्रले रोक्न सकेनन् । अन्ततः व्यासले भने झैँ धुर्याेधनले रोपेको अहँकारको वृक्षमा विनासको फल फल्यो र उसको अन्त्य भयो । वृक्ष रोपेपछि ढिलोछिटो फल्छ । केही कठिन धैर्यता भने आवश्यक पर्छ ।

विवेक विनयी
प्राचार्य जुगल नवगुरुकुल


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा