शनिबार, साउन ९ २०८३
ताजा अपडेट

सीसीएमसी निर्देशक समितिको अध्यक्ष प्रधानमन्त्री, ईश्वर पोखरेल सदस्य मात्रै


  • शुक्रबार, जेष्ठ ७ २०७८
12.4K
SHARES

फाइल तस्विर

कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को निर्देशक समितिको नेतृत्व गरिरहेका उपप्रधानमन्त्री ईश्वर पोखरेलको भूमिका खुम्चिने भएको छ ।

कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि सरकारले ल्याएको ‘कोभिड-१९ संकट व्यवस्थापन अध्यादेश, २०७८’ मा निर्देशक समितिको अध्यक्ष प्रधानमन्त्री रहने उल्लेख छ । हालसम्म सीसीएमसीको अध्यक्षता गरिरहेका उपप्रधानमन्त्री पोखरेल भने अब निर्देशक समितिको सदस्य मात्र रहनेछन् ।

उपप्रधानमन्त्रीसँगै स्वास्थ्य तथा जनसंख्या, गृह, अर्थ, उद्योग, वाणिज्य तथा आपूर्ति र परराष्ट्रमन्त्री निर्देशक समितिको सदस्य रहने व्यवस्था अध्यादेशमा छ । समितिमा सरकारका मुख्य सचिव र प्रधानसेनापति पनि सदस्य रहनेछन् भने सीसीएमसीका प्रमुख सदस्य सचिव रहने भनिएको छ ।

‘कोभिड-१९ को रोकथाम, नियन्त्रण, निदान र उपचारका लागि नीति योजना र रणनीति स्वीकृत गर्ने काम निर्देशक समितिले गर्नेछ’ समितिको काम, कर्तव्य र अधिकारमा भनिएको छ, ‘कोभिड-१९ को रोकथाम, नियन्त्रण, निदान र उपचारसम्बन्धी कार्यमा समितिले प्रदेश र स्थानीय तहबीच आवश्यक समन्वय र नीतिगत मार्गदर्शन गर्नेछ ।’

संघीय सरकार, प्रदेश र स्थानीय तहको भूमिका निर्धारणको अधिकार पनि समितिलाई नै दिइएको छ । समितिले कोरोना भाइरस रोकथाम, नियन्त्रण, निदान र उपचारसँग सम्बन्धित जुनसुकै निकाय, संस्था वा पदाधिकारीलाई आवश्यक निर्देशन दिनसक्ने पनि भनिएको छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा