शनिबार, कार्तिक १५ २०८३
ताजा अपडेट

मौसमविदले भने– भारी वर्षाको सम्भावना छ, यातायात क्षेत्र प्रभावित हुनसक्छ


  • बुधबार, जेष्ठ ५ २०७८
12.4K
SHARES

फाइल तस्विर

५ जेठ, काठमाडौं । अरब सागरमा विकसित भएको ताउ ते चक्रवात सामुद्रिक आँधीको प्रभावले नेपालका सुदूरपश्चिम, कर्णाली, गण्डकी र लुम्बिनी प्रदेशमा भारी वर्षा हुने मौसमविदले बताएका छन् । केही स्थानमा अति भारी वर्षा पनि हुने भएकाले नदीहरुमा आकस्मिक बाढी आउने र यातायात क्षेत्र प्रभावित हुन सक्ने मौसमविदको पूर्वानुमान छ ।

जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले केही नदीहरुको बाढी सतर्कताको तहसम्म पुग्ने भन्दै तटीय क्षेत्रमा नजान सबैलाई आग्रह गरेको छ ।मौसमविद शान्ति कँडेलका अनुसार सामुद्रिक आँधीको प्रभावले अहिले चितवन, म्याग्दी जिल्लासहित गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरुमा हल्का वर्षा भइरहेको छ । आज गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा भारी वर्षाको सम्भावना पनि छ, मौसमविद कँडेलले भनिन्, ‘बागमती प्रदेशमा आज चाहिँ भारी वर्षा हुँदैन तर भोलिको हकमा बागमती क्षेत्रमा पनि भारी वर्षाको सम्भावना छ ।

दुई दिन देशभर सतर्कता अपनाउन आग्रह

अरब सागरमा बनेको ताउ ते चक्रवात अहिले कमजोर भइसकेको छ । यो अहिले चक्रवातको रुपमा छैन । मौसमविदहरुले यस्तो अवस्थालाई ‘डिप्रेसन’ भन्छन् । यो अहिले केही शक्तिशाली न्युनचापीय क्षेत्रको रुपमा छ र यो उत्तर–उत्तर पूर्व सर्ने क्रममा छ । उत्तर–उत्तर पूर्व सर्ने क्रममा नेपालको पश्चिमी क्षेत्र नजिक पर्ने भएकाले पूर्वी नेपालको तुलनामा पश्चिम नेपालका जिल्लाहरुमा बढी प्रभाव पर्ने मौसमविदको भनाइ छ ।यद्यपि पूर्वतिर पनि पानी पर्ने र हिमपात हुने भएकाले आज र भोलि दुई दिन देशभर नै सतर्कता अपनाउनुपर्ने मौसमविद कँडेलले बताइन् ।

पूर्वतिर तुलनात्मक रुपमा कम हुन्छ भन्दैमा त्यहाँ सतर्कता अपनाउनुपर्दैन, केही पनि हुँदैन भन्न खोजेको होइन । वर्षा हुन्छ हिमपात हुन्छ, सतर्कता पनि अपनाउनुपर्छ,कँडेलले भनिन् ।

चक्रवातको प्रणाली र पश्चिमी वायुको प्रणाली आपसमा मिसिंदा आजको तुलनामा भोलि बढी वर्षा र हिमपात हुने मौसमविदहरुको पूर्वानुमान छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा