प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना महामारी नियन्त्रणमा लिन सक्रियताका साथ लाग्नुपर्ने बताएका छन्।
बालुवाटारमा शनिबार स्वास्थ्य क्षेत्रसँग सम्बन्धित जानकारसँगको छलफलमा उनले कोरानाको सामना गर्न सरकार सक्षम रहेको बताए।
‘हामी कोरोना सामना गर्न सक्षम छौँ, सरकारले थुप्रै विषय कार्यान्वयन गरेको छ, नियन्त्रणका उपाय गर्न तयार र उत्सुक छ, आगामी दिनमा पनि निरन्तर हुन्छ’, उनले भने, ‘सरकारका प्रयासमा स्वास्थ्य क्षेत्र, निजी व्यावसायिक क्षेत्र, गैरसरकारी संस्था, गैरआवासीय नेपाली सबैका आआफ्ना ठाउँबाट संगठित प्रयासको खाँचो छ।’
‘हाम्रो स्वास्थ्य प्रणालीमा केही समस्या देखिएका होलान् तर ‘कोल्याप्स’ भएको छैन। समस्या भए समस्या छन् पो भन्नुपर्यो, कोल्याप्स भयो त भन्नुभएन नि,’ उनले भने।
कोरोना नियन्त्रण गर्न सरकारले केही गरेर भनेर भन्नु मूर्खता भएको टिप्पणी गर्दै उनले एउटा पनि कोरोना परीक्षण गर्ने प्रयोगशाला नभएको मुलुकमा अहिले ८० भन्दा बढी प्रयोगशाला स्थापना भएको बताए।
‘यसबीचमा नेपालको स्वास्थ्य क्षेत्रमा निकै सुधार भएको छ। महामारी पहिल्यै थाहा हुने कुरा भएन, अप्रत्याशित महामारीको सामना गर्नुपर्दा केही समस्या हुन सक्छ,’ उनले भने।