शनिबार, कार्तिक १५ २०८३
ताजा अपडेट

अक्सिजन छैन संक्रमितको उपचार गर्न हामी सक्दैनौ : उपत्यकाका निजी अस्पताल


  • बुधबार, बैशाख २९ २०७८
12.8K
SHARES

फईल तस्बिर

काठमाडौं उपत्यकाका निजी अस्पतालले अक्सिजनको चरम अभाव रहेको भन्दै थप कोरोना संक्रमितलाई भर्ना गर्न नसकिने बताएका छन्।
मागभन्दा एकदम थोरै अक्सिजन उपलब्ध भएको भन्दै अस्पतालहरूले बिरामी भर्ना गर्न नसकिने बताएका हुन्।

ललितपुरस्थित मेडिसिटी अस्पतालले मंगलबार विज्ञप्ति जारी गर्दै अक्सिजनको चरम अभाव रहेकाले कुनै पनि हालतमा उपचार गर्न नसकिने जनाएको छ। ‘प्रत्येक दिन ४ सय ५० देखि ५ सय अक्सिजन सिलिण्डर आवश्यक पर्नेमा नेपाल सरकारबाट १ सय सिलिण्डर मात्र प्राप्त हुने जानकारी पाएपछि कुनै पनि हालतमा उपचार गर्न सम्भव छैन,’ विज्ञप्तिमा भनिएको छ।

मंगलबारको तथ्यांक अनुसार मेडिसिटीमा १ सय २० जना कोभिडका विरामीको उपचार भइरहेको र ४० जना भन्दा बढीको भेन्टिलेटरसहितको सघन उपचार कक्षमा उपचार भएको अस्पतालले जनाएको छ।

यस्तै काठमाडौंस्थित नेपाल मेडिकल कलेजले मंगलबार नै अक्सिजन नपुग्ने हुँदा विरामीको व्यवस्थापन आफैं गर्न भन्दै सूचना जारी गरेको थियो। अस्पतालले अक्सिजन आपूर्ति गर्ने कम्पनीको मेसिन बिग्रिएकोले तत्काल अक्सिजन उपलब्ध नहुने भन्दै थप विरामीलाई भर्ना गर्न नसकिने र भएका विरामीलाई पनि अन्यन्त्र व्यवस्थापन गर्न सम्बन्धित पक्षलाई आग्रह गरेको थियो।

यस्तै मेडिकेयर, हेल्पिङ ह्यान्ड्स, भारतमैत्री र दीर्घायू अस्पतालले पनि अक्सिजन नभएको भन्दै विरामी लिन नसक्ने अवस्था रहेको भन्दै विज्ञप्ति जारी गरिसकेका छन्।

स्वास्थ्य मन्त्रालयले समेत उपत्यकामा माग अनुसार अक्सिजन आपूर्ति गर्न नसकेको जनाएको छ। मंगलबार पत्रकारहरूसँग भर्चुअल कुराकानी गर्दै मन्त्रालयका सचिव लक्ष्मण अर्यालले उपत्यकामा अहिले दैनिक १५ हजार सिलिण्डर अक्सिजन माग भएकोमा करिब १० हजार सिलिण्डर मात्र आपूर्ति गर्न सकिएको बताए।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा