चिकित्सकहरुले लापरबाही गरेको भन्दै एक बिरामीका आफन्तले प्रादेशिक अस्पताल जनकपुरधाम अन्तर्गतको कोरोना अस्पतालभित्र तोडफोड गरेका छन् ।
महोत्तरीको जलेश्वर अस्पतालमा उपचार गराइरहेका जलेश्वर नगरपालिका ४ बस्ने ५५ वर्षीय सुखीचन महतोलाई श्वासप्रश्वासमा समस्या भएपछि प्रादेशिक अस्पताल जनकपुरको कोरोना अस्पताल ल्याइएको थियो ।
भेन्टिलेटरमा राखेर उनको उपचार भइरहेकोमा चिकित्सकको लापरबाही गरेको आरोप लगाउँदै चन्द्रकला अस्पताल लैजान खोज्दा महतोको मृत्यु भएको थियो । त्यसपछि उनका छोराहरू वर्ष ३४ का मनोज महतो र वर्ष २७ का पप्पु महतोले अस्पतालका उपकरण तोडफोड गर्दै चिकित्सकमाथि हातपात गरेको धनुषा प्रहरी कार्यालयका प्रवक्ता मकेन्द्र कुमार मिश्रले बताए ।
उनीहरुले गरेको तोडफोडबाट तीन वटा भेन्टिलटर बिग्रेको कोरोना अस्पतालका प्रवक्ता डा. मनीष पाण्डेले जानकारी दिए । उनका अनुसार अन्य उपकरणमा समेत क्षति पुगेको र बुझ्ने काम भइरहेको छ ।
पुरानो भेन्टिलेटर बिग्रेपछि प्रदेश सरकारले हालै मात्र यहाँ ८ वटा भेन्टिलेटर जडान गरिदिएको थियो । ती युवाको समूहले स्टाफ नर्ससहित चार जना स्वास्थ्यकर्मीमाथि हातपात गरेका छन् । दुई जना घाइते नै भएको डा. पाण्डेले बताए ।
तोडफोड गर्ने दाजुभाइलाई नियन्त्रणमा लिई घटना सम्बन्धमा थप अनुसन्धान कार्य भई रहेको प्रहरी प्रवक्ता मिश्रले बताए ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।