विराटनगरका कोभिड विशेष अस्पतालका सञ्चालकहरुले तत्काल अस्पतालहरुमा बेड बिस्तारसँगै आवश्यक उपकरण र जनशक्ति व्यवस्थापन गर्न नसके धेरै संक्रमितले समयमै उपचार नपाएर अकालमा ज्यान गुमाउनुपर्ने अवस्था आउने बताएका छन् ।
उनीहरुले कोभिड अस्पतालका सबै बेड बिरामीले भरीभराउ भएकाले थप बिरामी भर्ना गर्न नसकिने अवस्था सिर्जना भएको भन्दै तत्काल संक्रमितको उपचारको प्रबन्ध मिलाउन आवश्यक तयारीमा जुट्नुपर्नेमा जोडसमेत दिएका छन् ।
पछिल्लो समय उपचारको अभावमा संक्रमितहरुले ज्यान गुमाउनु परेको जनगुनासो बढेपछि मंगलबार प्रदेश १ प्रदेशसभाको सामाजिक विकास समितिले विराटनगरमा रहेका कोभिड अस्पतालहरुको अनुगमन तथा निरीक्षण गरेको छ । सोही क्रममा अस्पताल सञ्चालकले संसदीय समितिलाई यस्तो सुझाव दिएका हुन् ।
कोशी अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा. चुमनलाल दासले कोभिड–१९ उपचार केन्द्र दुरुस्त अवस्थामा रहेको बताउँदै पुरानो ब्लकलाई पनि सञ्चालन गर्नुपर्ने बताए ।
‘संक्रमित बिरामीहरुको चाप दिनानुदिन बढ्दै गईरहेकाले यो अस्पताल पनि प्याक हुने अवस्थामा पुगेको छ,’ मेसु दासले भने, ‘अस्पतालका सबै बेड बिरामीले भरिने अवस्थामा पुगेकाले थप संक्रमितको उपचारका लागि दक्षिणतर्फको ब्लकमा पनि आवश्यक जनशक्ति थपेर सय बेड सञ्चालन ल्याउने तयारी छ ।
कोरोना संक्रमितको सघन उपचारका लागि विराटनगरस्थित नोबेल मेडिकल कलेजले पनि १९७ बेडको कोभिड अस्पताल सञ्चालनमा ल्याएको छ । ६२ वटा आईसियु र ७१ वटा भेन्टिलेटर बेडसहित सञ्चालनमा आएको सो अस्पताल पनि बिरामीले भरिएको अनुगमन टोलीले जनाएको छ ।
नोबेलमा दैनिक ३० जनाभन्दा बढी गम्भीर प्रकृतिका संक्रमितहरु उपचारका लागि आउने गरे पनि बेड नपाएर फर्किने गरेको कलेजका निर्देशक डा. राजेश नेपालले संसदीय समितिलाई जानकारी गराए ।
प्रदेशमा १५ सय बेडको कोभिड अस्पताल सञ्चालनको आवश्यकता देखिएको उनले बताए । १५ सयको बेडको अस्पताल सञ्चालनमा आएको खण्डमा मात्र अहिले देखिएको संक्रमितको चापलाई अस्पतालले थेग्न सक्ने उनको भनाइ छ ।
निर्देशक नेपालका अनुसार प्रदेश १ मा तीन सरकारीसहित ६ कोभिड अस्पतालमा ७ सय २७ बेड क्षमता छ । तर,अब त्यसले थेग्नसक्ने अवस्था नरहेकोले ७५० बेड तत्काल थप गर्न पहल गर्नुपर्ने उनको सुझाव छ ।