शनिबार, कार्तिक १५ २०८३
ताजा अपडेट

आज आमाको मुख हेर्ने दिन, मातातीर्थ औंसी


  • मंगलबार, बैशाख २८ २०७८
14.5K
SHARES

फईल तस्बिर

आज वैशाखकृष्ण पक्षको औंसी तिथि अर्थात् आमाको मुख हेर्ने दिन । जन्मदाता आमालाई सम्मान गरी मनाइने यो पर्वलाई ‘आमा खुवाउने औंसी’ पनि भनिन्छ ।

यस दिन आमालाई मनपर्ने खानेकुरा खुवाएर आमाप्रति श्रद्धा, भक्ति, सम्मान तथा आदर गरिन्छ । छोराछोरीले आज बिहानै उठी नुहाएर आफ्नी आमालाई उपहार दिई मीठा र तागतिला खानेकुरा खान दिई आशीर्वाद थाप्ने गर्दछन् । आमा नभएकाहरूले भने आमालाई तर्पण र पिण्ड तथा पुरोहितलाई सिदादानसहित भोजन गराई दिवंगत आमाको सम्झना गर्दछन् ।

मातृदेवो भव ।
पितृदेवो भव ।।
आचार्यदेवो भव ।।।

‘जननी जन्मभूमिश्च स्वर्गादपि गरियसी’
‘कुपुत्रो जायते क्वचिदपि कुमाता न भवति’

शास्त्रहरूमा आमालाई पिताभन्दा उच्च स्थानमा राखिएको पाइन्छ । यसरी श्रद्धा, भक्ति, सम्मान र आदर गरिएकी आमालाई मीठो खान तथा राम्रो लगाउन दिई छोराछोरीहरूले आमाबाट शुभ–आशिर्वाद ग्रहण गर्ने चलन छ ।

आमाप्रति विशेष भक्ति र भावयुक्त सम्मान गरिएको हुँदा यो दिनलाई आमाको मुख हेर्ने दिन भनिन्छ । यो घडीमा मातातीर्थ औँसी, मातृऔँसी एवं मातृ दिवस पनि भन्ने गरिन्छ । आजको दिन आमाप्रति सम्मान र आमालाई सम्झिने दिन हो । संसारको सबैभन्दा पवित्र नाता, आमा, संसारको सबैभन्दा पवित्र सम्बोधन हो, ‘आमा’ ।

हामीमध्ये धेरैले सर्वप्रथम बोल्न सिकेको शब्द, आमा । अनि पल–पलमा सम्झना आउने, सुख दुःखमा झझल्को आउने एउटा अनुहार, ‘आमा’ ।
बिहान सबेरै उठी स्नान गरी आमालाई उपहार प्रदान गर्ने, मिष्ठान्न भोजन खुवाई आमाको मुख हेर्ने र आशिर्वाद लिने गरिन्छ । आज आमाबाट टाढा रहेका सन्तानहरू आमालाई भेट्न पुग्छन् । आमालाई मीठा खानेकुरा खुवाउँछन् ।

बिवाह गरेर पतिका घर गएका चेलीबेटीहरू मीठा परिकारहरूसहित आमाघर अर्थात माइती पुग्छन् । विभिन्न कारणले आमालाई भेट्न नपाएकाहरूले भने संचारका साधनहरूमार्फत् पनि सम्झने गर्छन् ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा