नेकपा एमालेको माधवकुमार नेपाल समूहले अध्यक्ष केपी शर्मा ओलीलाई २ जेठ २०७५ मा फर्किन २४ घण्टे साँझसम्मको डेडलाइन दिएको छ । नभए यो समूहका सांसदहरुले सामूहिक राजीनामा दिनेछन् ।
शनिवार साँझ सकिएको नेपाल समूहका सांसदहरुको बैठकले आइतबार साँझसम्म पर्खने सहमति गरेको हो । ‘२ जेठ २०७५ मा केपी ओली फर्कन तयार नभए राजीनामा दिन तयार भएका छौं । तर भोलि साँझसम्म कुर्छौ’, एक सांसदले भने ।
उनका अनुसार ओली अडानमै रहिरहेमा आइतबार साँझ वा सोमबार विहानसम्म सांसदहरुले राजीनामा दिनेछन् । राजीनामा दिन सांसदहरुले प्रतिबद्धता नै जनाएका छन् । ‘सांसदको राजीनामा व्यक्तिगत रुपमा बुझाउनुपर्छ, तर हामी सवै सांसद राजीनामा दिन तयार भएका छौं’, ती सांसदले भने ।
प्रधानमन्त्रीले विश्वासको मत लिने प्रयोजनका निम्ति २७ वैशाखमा संसद्को विशेष अधिवेशन बोलाइएको छ । तर अहिलेकै अवस्थामा प्रधानमन्त्री ओलीलाई माधव नेपाल समूहका सांसदहरुले विश्वासको मत नदिने भएका छन् । ‘विश्वासको मत लिएपछि कारबाही अगाडि बढाउने योजनामा केपी ओली लाग्नु भएको छ । वार्ता पनि हामीलाई अल्मल्याउनकै निम्ति हुुँदैछ भन्ने सामुहिक निष्कर्ष हो’, बैठकमा सहभागी अर्का सांसदले भने ।
तर भोलि (आइतबार) पनि ओली पक्षसँग वार्तामा बस्न नेपाल समूहका नेताहरु तयार भएका छन् । बैठकमा नेताहरुले ओली पक्षका नेताहरुसँग वार्तामा गरिएको अडान र छलफलबारे सांसदहरुलाई ब्रिफिङ गरिएको थियो ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।