आइतबार, कार्तिक १६ २०८३
ताजा अपडेट

वीरको नयाँ भवनलाई कोरोनाको ‘डेडिकेटेड युनिफाइड कमाण्ड’ अस्पताल बनाउने मन्त्रिपरिषदको निर्णय


  • शनिबार, बैशाख २५ २०७८
7.4K
SHARES

फाइल तस्बिर

वीर अस्पतालको नयाँ भवनलाई कोभिड–१९ को युनिफाइड केन्द्रीय अस्पताल बनाउने मन्त्रिपरिषदले निर्णय गरेको छ।

शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको  मन्त्रिपरिषद्‌को आकस्मिक बैठकले वीर अस्पतालको नयाँ भवनलाई सुरूमा ५ सय शय्याको युनिफाईड कोभिड अस्पताल बनाउने निर्णय गरेको उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले सेतोपाटीलाई जानकारी दिए।

‘वीरभन्दा पारीपट्टी बनेको ५ सय बेडको अस्पताललाई कोरोना डेडिकेटेड अस्पताल बनाउने निर्णय भएको छ। आज त्यही मात्रै एजेण्डा थियो’, मन्त्री भट्टले भने।

यसअघि सीसीएमसीको बैठकले वीर अस्पतलालको नयाँ भवनलाई कोभिड–१९ विशेष अस्पताल बनाउनका लागि सिफारिस गरेको थियो।

यो सँगै अब देशको पुरानो वीर अस्पताललाई स्वास्थ्य मन्त्रालय आफैंले सञ्चालन गर्ने भएको छ।

कोभिड महामारी नियन्त्रणमा प्रभावकारी कार्य र परिचालनका लागि वीरलाई स्वास्थ्य मन्त्रालय आफैंले चलाउने भएको हो।

पहिले वीर चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) अन्तर्गत थियो। न्याम्सले अब एकेडेमिक पाटो मात्रै हेर्नेछ।

उच्च स्रोतका अनुसार स्वास्थ्य मन्त्रालयले संक्रामक रोग ऐन अन्तर्गत मन्त्रिपरिषदबाट विशेष आदेश जारी गरी वीरलाई आफैं चलाउने भएको हो।

उक्त आदेश शनिबार बसेको मन्त्रिपरिषद बैठकले जारी गरेको हो।

उक्त स्रोतका अनुसार अब वीर अस्पतालको नयाँ भवनमा ‘डेडिकेटेड युनिफाइड कमाण्ड’ अस्पताल बनाइन्छ।

भवनमा तत्कालै तीन सय बेड अक्सिजनसहितको आइसियू, एक सय बेड आइसियू र ५० बेड भेन्टिलेटर बनाइने छ।

यसका लागि स्वास्थ्य मन्त्रालयले सञ्चालक समिति गठन गर्ने भएको छ।

डा. रोशन पोखरेलको नेतृत्वमा सञ्चालक समिति गठन गरिनेछ। देशैभरिको बेडको अवस्था हेर्न सोही अस्पतालमा वार रुम गठन गरिने भएको छ।

‘त्यसले अस्पतालमा उपचार कसरी भइरहेको छ, आइसियू, अक्सिजन बेडको अवस्था के छ सबै हेर्नेछ,’ स्रोतले भन्यो, ‘डा. गुणराज लोहनीको नेतृत्वमा वार रूम गठन हुन्छ।’

पाँच सात दिनको सिकाइ र अनुभवपछि सबै प्रदेशहरूमा युनिफाइड कमाण्ड अस्पताल बनाउने तयारी स्वास्थ्यको छ।

वीरमा कम्तीमा ८ सय बेड सञ्चालन गर्न सकिने स्वास्थ्यको आँकलन छ। साधारण बिरामीलाई एक सय शैया छुट्याएर सात सय शैया कोरोना उपचारमा प्रयोग गर्ने तयारी स्वास्थ्यको हो।

पन्ध्र दिनभित्रै यो काम सक्ने मन्त्रालयको तयारी रहेको स्रोतले बतायो।

‘पचास बेड आइसियू १० वटा भेन्टिलेटर पत्ता लगाइसकेका छौं, पन्ध्र दिनभित्र अस्पताललाई चाहिने सबै उपकरण तयार पारिने छ,’ स्रोतले भन्यो।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा