मनसुनका समयमा यसपालि मुलुकका धेरैजसो भू-भागमा सरदरभन्दा बढी वर्षा हुने आँकलन गरिएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार मनसुन अवधिमा सुदूरपश्चिम, कर्णाली, गण्डकी, वाग्मती प्रदशेका अधिकांश स्थानमा तथा प्रदेश नं १ को मध्य तथा पश्चिम पहाडी, हिमाली भूभागमा सदरदभन्दा बढी वर्षा हुने सम्भावना रहेको छ । त्यहाँ ३५ देखि ६५ प्रतिशत वर्षा हुने अनुमान छ ।
उच्च हिमाली क्षेत्रमा भने ५५ देखि ६५ प्रतिशत वर्षा (हिउँ) हुने अनुमान गरिएको विभागको जलवायु विश्लेषण शाखा प्रमुख वरिष्ठ मौसमविद् डा. इन्दिरा कँडेलले जानकारी दिइन् । यसरी बढी हिउँ पर्दा हिमाली जनजीवन प्रभावित हुनसक्ने छ । जल तथा मौसम विज्ञान विभाग र दक्षिण एसियाली जलवायु दृष्टिकोण मञ्चले मनसुन अवधिमा हुने तापक्रम र वर्षाको अवस्थाबारे अनुमान गरीे सार्वजनिक गरेको हो ।
औषतभन्दा बढी वर्षाले मुलुकमा बाढी पहिरोको सम्भावना बढी हुने भएकाले अहिलेदेखि नै सावधानी र क्षति न्यूनीकरणका कार्यक्रम तीब्ररूपमा अघि बढाउनुपर्ने मौसमविद्को भनाइ छ । विभागका उपमहानिर्देशक डा. अर्चना श्रेष्ठ गत वर्ष बाढी पहिरोले क्षति पुर्याएको ठाउँमा र भूकम्पले असर गरेको क्षेत्रमा यसपाली पनि विशेष सावधानी अपनाउन सुझाव दिएकी छन् ।
प्राप्त विवरणमा लुम्बिनी, गण्डकी, वाग्मती, प्रदेशको तराई र प्रदेश नं २ को पश्चिमी भूभागमा सरदर वर्षा ९३५ देखि ४५ प्रतिशत हुने, र प्रदेश १ को तराई र प्रदेश नं २ को पूर्वी जिल्लामा सरदरभन्दा कम वर्षा हुने अनुमान गरिएको छ । यसपाली आगामी जेठ १८ देखि नेपालमा मनसुन भित्रिँदै छ । यसको अवधी असोज १४ सम्म रहने जनाइएको छ । गत वर्ष मनसुन शुरु भएको दिनदेखि नै भारी वर्षा हुँदा ठूलो जनधनको क्षति भएको थियो ।
प्रदेश नं १ र २ तथा वाग्मती प्रदेशको केही भू-भागमा अधिकतम तापक्रम सरदरभन्दा बढी हुने तथा परासी, नवलपुर, पाल्पाका केही भूभागमा बाहेक देशका अन्य भूभागमा सरदरभन्दा कम तापक्रम हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
जल तथा मौसम विज्ञान विभागका अनुसार प्रदेश नं १ र २ को पूर्वी भाग, गण्डकी, सुदुरपश्चिम प्रदेशको अधिकांश भागमा न्यूनतम तापक्रम सदरदभन्दा बढी र लुम्बिनी प्रदेशको तराई क्षेत्र बाहेकमा सरदरभन्दा कम तापक्रम हुने अनुमान गरिएको छ ।