कोरोना भाइरसको संक्रमण बढेसँगै देशभरका शिक्षण संस्था बन्द छन् । सञ्चालन भइरहेका परीक्षा पनि बीचैमा स्थगित भएका छन् ।
देशका ५२ जिल्लामा निषेधाज्ञा जारी भइसकेको छ । अधिकांश जिल्लामा वैशाख मसान्तसम्म निषेधाज्ञा जारी गरिएको छ । संक्रमण बढिरहेकाले थपिने सम्भावना उत्तिकै छ । यसले गर्दा कक्षा १० र १२ का विद्यार्थीलाई परीक्षा नहुने त होइन भन्ने चिन्ता पनि थपिएको छ ।
राष्ट्रिय परीक्षा बोर्डले भने हालसम्म पूर्व निर्धारित तालिका अनुसार नै परीक्षा गराउने तयारी गरिरहेको जनाएको छ । बोर्डले यसअघि नै एसईईको जेठ १३ र कक्षा १२ को जेठ २६ गतेबाट परीक्षा लिने तालिका सार्वजनिक गरेको थियो ।
बोर्डका अध्यक्ष डा.चन्द्रमणि पौडेल भन्छन्, ‘अहिलेसम्म पूर्व निर्धारित समय अनुसार नै परीक्षा गराउने तयारी छ । यो महीनाको अन्तिमसम्म हेरौं । त्यसपछिको स्थिति अनुसार निर्णय गर्छौं ।’
यद्यपि दैनिक थपिने नयाँ संक्रमितको संख्या आठ हजारभन्दा बढी पुग्न थालेको छ । यस्तो अवस्थामा भौतिक रूपमा परीक्षा सञ्चालनको सम्भावना कम हुँदै गएको अधिकारीहरू स्वीकार्छन् ।
एन–प्याब्सनका अध्यक्ष ऋतुराज सापकोटा पनि विद्यार्थीका लागि परीक्षाभन्दा सिकाइ महत्वपूर्ण भएको बताउँछन् । सिकाइको अवस्था बुझेर मात्रै परीक्षा हुनुपर्ने भन्दै उनी भन्छन्, ‘विद्यार्थीले पढ्नै पाएका छैनन् । केको आधारमा परीक्षा लिने ?’
नेपाल अभिभावक महासंघले विद्यालय खुल्न सक्ने अवस्था नभएको भन्दै परीक्षा स्थगन गर्नुपर्ने बताएको छ । परीक्षा स्थगन गरी विद्यार्थीको शिक्षण सिकाइको अवस्था बुझेर परीक्षाको तयारी गर्नुपर्ने महासंघ अध्यक्ष सुप्रभात भण्डारी बताउँछन् ।