मंगलबार, माघ २४ २०७९
ताजा अपडेट

गण्डकी प्रदेश: कार्यव्यवस्थामा जुटेन सहमति, सभामुखले भोलि दलका नेतासँग छलफल गर्ने


  • KTM Khabar
  • सोमबार, बैशाख २० २०७८
11.7K
SHARES

गण्डकी प्रदेश सभाको विशेष अधिवेशन सुचारू गराउन मंगलबार बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकमा दलहरूबीच सहमति जुटेन। प्रदेश सभामा टेबल भएको अविश्वास प्रस्ताव अघि बढाउन सभामुख नेत्रनाथ अधिकारीले कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका थिए।
बैठकमा सभामुख अधिकारीले प्रदेश सभा सञ्चालनका विषयमा छलफल अघि बढाएका थिए।

सभामुखले संसदीय मूल्य, मान्यता र मर्यादाविपरीत सभामुखले अनिश्चितकालका लागि बैठक स्थगित गरेको भन्दै बैठकमा सहभागी एमाले नेता मायानाथ अधिकारीले असन्तुष्टि जनाए।

‘संसद बैठकको कार्यसूची निकालेर सदन चल्दाचल्दै अनिश्चितकालका लागि स्थगन गर्नु संसदीय परम्पराविरूद्ध भयो’, एमाले संसदीय दलका प्रमुख सचेतक समेत रहेका अधिकारीले भने, ‘एमालेको सहमतिबिना संसद अघि बढ्दैन।’

मुख्यमन्त्री पृथ्वीसुब्बा गुरूङविरूद्ध ल्याएको अविश्वास प्रस्तावमा वैशाख १५ गते मतदान गर्ने कार्यसूची थियो। त्यही दिन राष्ट्रिय जनमोर्चाका सांसद खिमविक्रम शाही ‘सम्पर्कविहीन’ भएपछि सभामुखले अनिश्चितकालका लागि सदन स्थगित गरेका थिए।

‘सांसद बिरामी भएर अस्पताल गएका रहेछन्, त्यही दिन कार्यव्यवस्था बोलाएर सल्लाह गरेको भए एउटा निकास आउँथ्यो’, एमाले नेता अधिकारीले भने।

सम्पर्कविहीन बनेका सांसद शाही कोरोना संक्रमण भएको भन्दै १५ गते साँझ पोखराको चरक अस्पतालको आइसियूमा भेटिएका थिए।

अविश्वास प्रस्तावमा नेपाली कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टीका २८ जना सांसदले हस्ताक्षर गरेका छन्। राष्ट्रिय जनमोर्चाका ३ जना सांसदले पनि उक्त प्रस्तावको पक्षमा मतदान गर्ने निर्णय गरेका थिए।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा