शारीरिक रूपमा स्वस्थ, मानसिक तवरले शान्त र अध्यात्मिक रूपमा उच्च चेतनायुक्त भएर जिउने कलालाई योग भनिन्छ ।
सामान्यतया, आत्माको परमात्मासँगको जोड नै योग हो । साथै, यो एक किसिमको अनुभूति र रूपान्तरण हो । परापूर्वकालमा योगलाई अदृश्य शक्तिसँग जोडिने माध्यमका रूपमा लिइन्थ्यो । तर, समयक्रमसँगै योगको महत्व पनि परिवर्तन हुँदै आएको छ । योग विभिन्न किसिमका हुन्छन् । जसमध्ये याम, नियम, आसन, प्राणायाम, धारणा, ध्यान, समाधि र त्याग मुख्य हुन् ।
आधुनिक समयानुसार आधुनिक जीवन जिउन चाहना सबैको आधुनिक जीवन शिक्षा सम्पत्ति मान प्रतिष्ठा प्राप्त गर्न सफल भएता पनि स्वास्थ्य र आनन्द प्राप्त गर्न भने सकिरहेको छैनौं ।
शारीरिक रुपमा स्वस्थ एवं मानसिक रुपमा आनन्द प्राप्तका लागि योगनै उच्चत्तम उपाय मानिएको छ । योगले शरीर, मन र आत्मालाई एकाकर बनाई मन, शान्त स्थित रहन मद्दत गर्दछ ।
योगासनबाट शरीरमा स्फुर्तिको जागरण हुन्छ, हल्का हुन्छ । मानसिक तनाव घट्दछ, निन्द्रा राम्रो लाग्दछ, पाचनक्रिया बलियो हुन्छ, अल्छिपन हट्छ, शरीर निरोगी बन्छ । छाला नरम भई शरीर अनुहारमा चमक आउने गर्दछ ।
योग कसलाई आवश्यक पर्छ भन्नुभन्दा पनि कसलाई पर्दैन भन्ने मुख्य कुरा हो। बालकको शारीरिक विकास र विद्यार्थीको बौद्धिक विकासका लागि योग आवश्यक हुन्छ। वयस्क युवाका लागि योग कुलतबाट मुक्ति, एउटा संस्कारयुक्त बाटो अपनाउन तथा शारीरिक÷मानसिक सुसंगठनका लगि पनि योग चाहिन्छ।
किन गर्ने योग ?
- योग हरेक उमेर समूहका मानिसले गर्न सक्छन् । जसको माध्यमले रोगी व्यक्ति निरोगी बन्छन् भने सामान्य मानिसलाई पनि स्वस्थ जीवन पद्धतिका लागि सघाउ पुग्छ ।
- योगले सकारात्मक सोचको विकास गराउँछ । मनमा नकारात्मकता नआउने भएकाले व्यक्तिको जीवन पद्धतिमा नै परिवर्तन आउँछ ।
- बिहान ४ देखि ५ बजेको बीचमा पृथ्वीमा अक्सिजनको मात्रा तुलनात्मक रूपमा बढी हुने गर्छ । त्यसैले, शरीरमा अक्सिजनको मात्रा पूर्ति गराउन बिहानको समय योग गर्नु उपयुक्त हुन्छ ।
- योग एक किसिमको व्यायाम पनि हो । योग गर्दा शरीरका सबै जोर्नी चलायमान हुन्छन् ।
- शरीरमा रक्तसञ्चार बढ्छ । साथै, शरीरका सबै अंगमा अक्सिजन पुग्ने हुँदा रोग प्रतिरोधी क्षमतासमेत बढाउँछ ।
- स्वस्थ रहन, आत्मविश्वास बढाउन, धन कमाउन, सफल बन्न र प्रतिभा प्रष्फुटन गर्न योग उपयुक्त माध्यम हो ।
- तनाव व्यवस्थापनका लागिसमेत योग एकदमै उपयोगी मानिन्छ । योग ध्यानसँग केन्द्रित हुने हुँदा एकाग्र हुन सकिन्छ । जसबाट तनाव सजिलै व्यवस्थापन हुन्छ ।
- उच्च रक्तचाप र मधुमेहका बिरामीका लागि योग आवश्यक हुन्छ । तर, सबै किसिमका योग सबैलाई उपयुक्त मानिँदैन ।
- शारीरिक अवस्थालाई ध्यानमा राखेर योग गरेमा विभिन्न रोगबाट मुक्ति पाउन सकिन्छ ।
हरेक बिहान कम्तीमा आधा घन्टा योग गर्न सकिन्छ । बढीमा एकदेखि डेढ घन्टासम्म योग गर्न सकेमा निरोगी भइन्छ ।