राजमालाई तपाईले खानासँग दालका रुपमा खानु भएकै होला । गुडागुडी अन्तरगत पर्ने राजमामा बिभिन्न किसिमका पौष्टिक तत्वहरु हुन्छन् । यसमा प्रसस्त मात्रामा प्रोटिन र आइरन पनि पाईन्छ । जुन हाम्रो शरीरका लागि लाभदायी हुन्छन् ।
यसका प्रमुख फाईदाहरु हामीले एजेन्सीको सहयोगमा यहाँ उल्लेख गरेका छौँ ।
–यसमा प्रोटिनको उच्च स्रोत हुने भएकाले केटाकेटी, सुत्केरी र गर्भवती महिलालाई राजमा खुवाउनु फाइदाजनक छ ।
–राजमामा पाईने घुलनशील फाइबरले शरीरमा रहेको कलेस्टेरोलसँग बाँधिएर शरीरबाट कोलेस्टेरोल निष्कासन गर्न मद्दत गर्छ । अघुलनशील फाइबरले कब्जियतसँगै ठूलो र सानो आन्द्रासँग सम्बन्धित विभिन्न रोग लाग्न नदिन मद्दत गर्छ।
–राजमामा पाइने फाइबरले कलेस्टेरोल कम गराएर मुटुरोग हुनबाट जोगाउँछ । राजमामा पाइने फोलेट र म्याग्नेसियम नामक तत्वले पनि मुटुको क्रियामा मद्दत पु¥याएर मुटु स्वस्थ राख्न मद्दत गर्छ।
–चिनी रोगीका लागि पनि राजमा उपयुक्त खानेकुरा हुन सक्छ । यसमा भएको घुलनशील फाइबरले हाम्रो रगतमा चिनीको मात्रा नियन्त्रण गर्न सघाउँछ।
–राजमामा आइरनको मात्रा पनि धेरै हुन्छ । त्यसैले रक्तअल्पताका बिरामीलाई राजमाको दाल खुवाउनु प्रभावकारी मानिन्छ ।
–यसमा न्यून चिल्लो पदार्थ हुने भएकाले मुटुरोगी अथवा मोटोपना भएका व्यक्तिका लागि राजमा उत्तम वैकल्पिक खानेकुरा हुन सक्छ।
–यसमा पाईने म्यान्गनिज नामको खनिज पदार्थले हामीले खाएको खानाबाट शक्ति प्राप्त गर्न हाम्रो कोषभित्र विभिन्न क्रिया गराउन महत्वपूर्ण भूमिका खेल्छ । साथै, हाम्रो शरीरभित्र बन्ने विभिन्न हानिकारक तत्व (जस्तैः फ्रि रेडिकल) लाई निस्क्रिय पार्न पनि यो खनिज तत्वले भूमिका खेल्छ।
–राजमामा फस्फोरस बलियो हड्डी र दाँतका लागि आवश्यक छ भने, भिटामिन बि १ ले हाम्रो मष्तिस्कको विकास र कार्यमा मद्दत पुर्याउँछ।