शुक्रबार, असोज ३० २०८३
ताजा अपडेट

दिल्लीलाई १ रनले हराउँदै बैंगलोर शीर्ष स्थानमा


  • बुधबार, बैशाख १५ २०७८
13.1K
SHARES

फाइल तस्बिर

रोमाञ्चक खेलमा दिल्ली क्यापिटल्सलाई १ रनले हराउँदै रोयल च्यालेन्जर्स बैंगलोर इन्डियन प्रिमियर लिग (आईपीएल) टी–२० क्रिकेटको शीर्ष स्थानमा उक्लिएको छ ।

मंगलबार भएको खेलमा बैंगलोरले दिएको १७२ रनको लक्ष्य पछ्याएको दिल्लीले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १७० रन मात्र बनाउन सक्यो । कप्तान ऋषभ पन्त र शिमरोन हेतमायरले अर्धशतक बनाए पनि जित दिलाउन सकेनन् ।

अन्तिम ओभरमा दिल्लीलाई जितका लागि १४ रन चाहिएको अवस्थामा यी दुई खेलाडीले १२ रन मात्र जोडे । अन्तिम ओभरको सुरुवाती चार बलमा चार रन मात्र जोडेको दिल्लीका लागि अन्तिम दुई बलमा खेल जित्न १० रन चाहिएको थियो । ऋषभले लगातार दुई चौका प्रहार गरे पनि पर्याप्त भएन ।

४८ बल खेलेका कप्तान पन्तले ढिला ब्याटिङ गर्दै ६ चौका मद्दतमा अविजित ५८ रन बनाए । अर्कोतर्फ आक्रामक ब्याटिङ गरेका हेतमायरले २५ बल खेल्दै २ चौका र ४ छक्का मद्दतमा अविजित ५३ रन जोडे । यस्तै मार्कुस स्टोनिसले २२ र पृथ्वी शले २१ रन बनाए ।

बैंगलोरका हर्सल पटेलले २ विकेट लिए भने मोहमद सिराज र केल जेमिसनले समान १ विकेट लिए ।

त्यसअघि अहमेदावादमा टस हारेर पहिले ब्याटिङ गरेको बैंगलोरले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १७१ रन बनाएको थियो ।

एबी डे भिलियर्सले कागिसो रबाडाले बलिङ गरेको अन्तिम ओभरमा ३ छक्कासहित २२ रन जोडेपछि बैंगलोरले राम्रो स्कोर बनाएको थियो । उनले ४२ बल खेल्दै ३ चौका र ५ छक्का मद्दतमा अविजित ७५ रन बनाए । यस्तै रजत पाटीदरले ३१ र ग्लेन म्याक्स्वेलले २५ रन जोडे ।

दिल्लीका इशान्त शर्मा, कागिसो राबडा, अभेस खान, अमित मिश्रा र अक्षर पटेलले १–१ विकेट लिए ।

जितपछि ६ खेलबाट १० अंक जोडेको बैंगलोर शीर्ष स्थानमा उक्लेको छ । ६ खेल खेल्दा दोस्रो हार व्यहोरेको दिल्ली ८ अंकसहित तेस्रो स्थानमा छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा