पछिल्लो समय नेपाली राजनीतिमा इमान, जमान र नैतिकताको खडेरी पर्न थालेको छ । सिंहदरबारमा माओवादी नेता बादल, टोपबहादुर लगायतले मन्त्री पदका लागि पार्टी फेरेर अनैतिक राजनीतिको शुरुवात गरे ।
कर्णालीमा फ्लोर क्रस गरेर एमाले सांसदहरुले अर्को अनैतिकता प्रस्तुत गरे । यही सिलसिलालाई निरन्तरता दिँदै सोमबार लुम्बिनी प्रदेशमा जनता समाजवादी पार्टी (जसपा) का ४ सांसदले अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेको मसी सुक्न नपाउँदै मन्त्री पद पड्काएर अर्को कीर्तिमानी खडा गरे ।
लुम्बिनी प्रदेशमा देखिएको जसपाको नौटंकीको असर काठमाडौंमा रहेका जसपाका शीर्ष नेताहरूमाथि परेको छ । केन्द्रबाटै दुईखाले निर्देशन गएका कारण जसपाको प्रदेश कमिटीमा थप दरार उत्पन्न भएको छ ।
लुम्बिनी प्रदेशमा सोमबार मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध काँग्रेस, माओवादी र जसपाले संयुक्तरुपमा अविश्वासको प्रस्ताव दर्ता गरे । अविश्वासको प्रस्ताव दर्ता हुनुपूर्व ६ सिट रहेको जसपाको प्रदेशसभा संसदीय दलको बैठक बसेको थियो । जसपाको सो बैठकले लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अविश्वास प्रस्तावमा हस्ताक्षर गर्ने निर्णय गरेको थियो ।
जसपाले पनि अविश्वासको प्रस्तावमा हस्ताक्षर गर्ने सर्वसम्मत निर्णय गरेपछि अपरान्ह ३ बजे काँग्रेस, माओवादी र जसपाका तर्फबाट मुख्यमन्त्री पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भयो । अविश्वासको प्रस्तावमा जसपा नेपालका ६ जनै प्रदेश सांसदले हस्ताक्षर गरे । तर, केही घण्टा पनि नबित्दै उनीहरुमध्ये चारजनाले मन्त्री पदमा सपथ लिए ।
मन्त्री बन्ने जसपाका चार सांसदमध्ये सन्तोष यादव, सन्तोष पाण्डे र सुमन रायमाझी तत्कालीन समाजवादी पार्टीका प्रदेश सांसद हुन् भने कल्पना पाण्डे तत्कालीन राष्ट्रिय जनता पार्टीबाट प्रदेश सांसद बनेकी हुन् । आफैंले हस्ताक्षर गरेको कागजलाई बिर्सेर उनीहरु मन्त्री बन्न पुगेका छन् । मन्त्री पदका लागि आफ्नो आस्था र विचार त्याग्न सहजै तयार हुने यो रोग सिंहदरबारबाटै सुरु भएको हो ।