गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ नेतृत्वको सरकारविरुद्ध विपक्षी दलहरुले मोर्चाबन्दी कसेका छन् । तर, मुख्यमन्त्री गुरुङले अविश्वासको प्रस्तावबाट डराएर नभाग्ने, त्यसको सामना गर्ने बताएका छन् । यद्यपि, रातारात अधिवेशन अन्त्य गरिएको छ ।
गुरुङ नेतृत्वको सरकारविरुद्ध सम्भवतः बिहीबारै अविश्वास प्रस्ताव दर्ता गर्ने तयारी विपक्षी दलहरुले गरेका छन् । त्यसका लागि बिहीबार माओवादी र काँग्रेसको बैठक बसेर अबिश्वास प्रस्ताव अघि बढाउने सहमति जुटेको काँग्रेसका एक सांसदले बताए ।
विपक्षीहरुको काँग्रेसका कृष्णचन्द्र नेपाली पोखरेललाई नयाँ मुख्यमन्त्रीका रुपमा अगाडि सार्ने तयारी गरेका छन् ।
मुख्यमन्त्री गुरुङले राजनीतिका नाममा विपक्षीहरुले फोहोरी खेल खेलेको आरोपसमेत लगाए । उनले भने, ‘राजनीतिका नाममा फोहोरी खेल खेलिँदैछ, यो राम्रो होइन । मेरो नेतृत्वको सरकार के कुरामा कमजोर भयो ? के काम गर्न सकेन ? त्यसको जवाफ उनीहरुसँग छैन ।’
उनले आफ्ना कारणले मोर्चाबन्दी गर्नुपर्ने कारण नरहेको भन्दै त्यस्तो कारण भए दिन चुनौतीसमेत दिएका छन् । ‘मेरा कारणले अर्थात पृथ्वी सुब्बा गुरुङका कारणले मोर्चाबन्दी गर्नुपर्ने एउटामात्रै तर्क दिन म उहाँहरुलाई चुनौती दिन्छु ।
मुख्यमन्त्री गुरुङले केपी ओलीको प्रतिगमनलाई सघाएको विपक्षीहरुले आरोप लगाएका छन् ।