नेकपा एमालेका नेता माधवकुमार नेपालले नवौं महाधिवेशनबाट अध्यक्ष केपी शर्मा ओलीको उदय भएपछि नै पार्टीमा समस्या देखिन थालेको र ओलीको निर्णय नसच्चिएसम्म समानान्तर गतिविधि नरोकिने नेपाल समुहले राजनितिक प्रस्ताबमा उल्लेख गरेका छन ।
महाधिवेशनबाट पारित राजनीतिक कार्यक्रमको विपक्षमा उभिएका ओली नेतृत्वमा आएकैले एमालेभित्र समस्या देखिएको नेता नेपालले बताएका छन् ।
वस्तुतः नेता र नीतिको अन्तरविरोध संस्थागत गरेर नवौं महाधिवेशन सम्पन्न भयो । नवौं महाधिवेशनपछि पार्टीलाई विचारहीन बनाउन पार्टी अध्यक्ष स्वयं योजनाबद्ध रुपले अगाडि बढ्नुभयो’, प्रस्तावमा ओलीबारे भनिएको छ ।
ओलीको सामर्थ्य नै गुटबन्दी भएकाले अध्यक्ष भए पनि त्यसलाई निरन्तरता दिइएको पनि प्रस्तावमा उल्लेख गरिएको छ । ‘ओलीको राजनीतिक सामर्थ्य गुटबन्दी थियो । र, त्यस गुटबन्दीको कुनै वैचारिक तथा राजनीतिक प्रस्ताव वा आधार थिएन, केवल पद र शक्तिको लालसा थियो’, प्रस्तावमा भनिएको छ ।
त्यसका लागि दृष्य–अदृष्य श्रोतहरु मार्फत् मदन भण्डारी फाउण्डेसन परिचालन गरेको आरोप लगाइएको छ । ‘उहाँले आफू र आफ्नो गुटलाई मदन भण्डारी र जनताको बहुदलीय जनवादको उत्तराधिकारीका रुपमा प्रचार गराउनुभयो’, प्रस्तावमा उल्लेख छ ।
नेकपा माओवादी केन्द्रसँगको एकता पनि व्यक्तिगत स्वार्थ पूरा गर्ने उद्देश्यले ओलीबाट भएको प्रस्तावमा उल्लेख गरिएको छ । व्यक्तिगत स्वार्थ पूरा नहुने अवस्थामा ओलीले जनवादी केन्द्रीयताको नीति समेत पालना नगरेको आरोप लगाइएको छ ।
एमाले हुँदा, माओवादीसँग एकता हुँदा र फेरि एमाले ब्यूँतिएपछि पनि आफू अल्पमतमा पर्ने भएकाले संगठन नै सिध्याउने योजनामा ओली लाग्ने गरेको नेपाल समूहको राजनीतिक प्रस्तावमा उल्लेख गरिएको छ ।