जंगलमा राताम्मे काफल पाक्ने समय हो यो । काफल पाक्यो चरीले काफल पाक्यो भनेर आफ्नै किसिमको मनमोहक धुनले जंगलमा सुसेल्दा मन आनन्दले भरिने समय हो यो ।
वन र बगैंचामा काफल पाक्यो चरीले सुसेल्दै काफल खान बोलाइरहेको आभास हुन्छ । पहाडका वन र बगैंचा काफल पाकेर राताम्मे भएको छ । काफल पाक्यो चरीले मनै पग्लने गरी काफल पाक्यो भनेर आनन्दले सुसेली रहेको छ । काफल पाक्यो’ चरी नेपाली कविता, आख्यान र उखानमा समेत बिम्बका रुपमा प्रयोग भएको पाइन्छ।
नेपाल र भारतमा काफल पाक्यो चरीमा आधारित प्रशस्तै लोककथा छन्। भारतको उत्तराखण्डका स्थानीय त चराको बोलीमा ‘काफल पाक्यो’ मात्रै होइन ‘मैले चाखिन’ समेत सुन्ने गर्छन्। र, त्यसैअनुसारका लोककथा प्रचलित छन्।
वैशाखको सुरुदेखि दक्षिण एसिया र पूर्वी एसियाका पहाडमा काफल पाक्यो चरीको सुरिलो तान सुनिन्छ। बिहानदेखि अबेर रातिसम्म सुसेलेको जस्तो चार नोटको यसको स्वरले धेरैलाई आकर्षित गर्छ।
लोकोक्तिअनुसार यो चराले काफल पाकेको सन्देश सुनाउँछ। नेपाल र उत्तराखण्डमा ‘काफल पाक्यो’ भन्ने यो चराले बांग्लादेशमा भने ‘दुलही केही त बोल’ बोउ कथा काओ भन्छ। भारतकै कांगडामा यसको स्वरलाई ‘मेरा भेडा कहाँ गए’ भन्ने मृत गोठालोको आत्मको सोधाइसँग गाँसिन्छ।
चिनियाँले त यसको बोलीमा ‘एक्लो जिन्दगी राम्रो’ देखि ‘सासूले पिट्छिन्’ सम्म भनेको जस्ता अनेक अर्थ लगाउँछन्।
थोरै देखिने र धेरै सुनिने कोइली प्रजातिको यो चराको वैज्ञानिक नाम ुकुकुलस माइक्रोप्टेरसु हो। गर्मी र मनसुनमा विचरण गर्ने यो प्रवासी चराको असली ठेगाना पत्ता लगाउनु वैज्ञानिकलाई अझै पनि चुनौतीनै छ ।
यो चरा गर्मीमा फल पाक्ने बेला पहाडी क्षेत्रमा विचरण गर्छ। तर, मनसुन सकिएलगत्तै यी ठाउँमा देखिँदैन।
नेपालको पहाडी भेगमा पनि यसलाई आगन्तुक चरा नै मानिन्छ। तर सधैँ हरियो वनमा रहन रुचाउने यो चरा जाडो महिना लाग्न थालेपछि दक्षिणी क्षेत्रका वनतर्फ जाने विभिन्न अनुसन्धानले देखाएका छन्। हिउँदमा यो चराले गीत गाउँदैन, त्यसैले पनि कहाँ छ थाहा हुँदैन।
नेपाली लोक कथानुसार बुबाआमा गुमाएका टुहुरा दाजुबहिनी थिए । आमाबुबाको देहावसानसँगै गुजाराको अभावमा भोकै बस्नबाध्य दाजुबहिनीमध्ये दाजुले खानाको खोजीमा बाहिर जाने निर्णय गरे । बहिनी झनै रुन थाली । बाबुआमाले छाडेको दाइले पनि छाड्न लाग्नुभयो भनेर बिलौना गर्दा दाजुले काफलको बोट देखाएर काफल पाक्ने समयमा म बहिनी भेट्न आउँछु भनेर निस्किए ।
बहिनीले जंगलमा फलफूल खाएर समय बिताइ, केही समयमा काफल पनि पाक्यो । तर अफसोच छाडेर गएका दाजु फर्किएनन् । बहिनी आत्तिन थाली । काफल पाक्यो बरै मेरा दाजु आएनन् भन्दै उनी बिलौना गर्न थालिन् ।
त्यही चिन्ताले उनको मृतू भयो। अहिले जंगलमा काफल फाक्यो भन्ने आवाज दिने चरा त्यही बहिनीको अर्को जन्म लिएको चरा हो भन्ने कथा छ ।