नेकपा माओवादी केन्द्रका नेता एवं प्रतिनिधिसभा सदस्य देवेन्द्र पौडेलले आफ्नै घर सम्हाल्न नसक्ने प्रधानमन्त्रीबाट कसरी देशको राजनीति संग्लिन्छ भन्ने प्रस्न गरेका छन । पौडेलले प्रधानमन्त्रीले फेरि प्रतिनिधिसभा विघटनको प्रस्ताव गरेको भन्दै आपत्ति जनाएका छन् ।
‘आफ्नै घर सम्हाल्न नसक्ने, जनताको बीचमा दुई तिहाइ प्राप्त गरेको दललाई व्यवस्थापन गर्न गर्न नसक्ने, जनताले लडेर लिएर आएको संविधान र प्रतिनिधिसभाको संरक्षण गर्न नसकेर विघटन गर्ने, दलहरुलाई बोलाएर फेरि विघटनको प्रस्ताव गर्ने यस्तो प्रकारको तरिकाले देशको राजनीति संग्लिन्छ ? म प्रश्न गर्न चाहन्छु’ नेता पौडेलले बिहीबार प्रतिनिधिसभाको विशेष समयमा भने ।
केही समय अघि राष्ट्रिपति विद्या देवी भण्डारीले सितल निवासमा बोलाएको सर्वदलीय बैठकमा प्रधानमन्त्रीले ताजा जनादेशमा जाने प्रस्ताव गरेका थिए । त्यसतर्फ इंगित गर्दै नेता पौडेलले प्रधानमन्त्रीमाथि आशंका व्यक्त गरेका हुन्। नेता पौडेलले प्रधानमन्त्रीलाई संसदलाई प्रभावकारी भूमिका खेल्न समेत आग्रह गरे।
‘यो संसदलाई सक्रिय बनाउनुस् । सांसदहरुको समस्या हो भने, राजनीतिक दलहरुको समस्या हो भने राजनीतिक दलहरुसँग छलफल गरेर यो सदनलाई जनताको प्रतिनिधिको हैसियतमा जनताका समस्याहरु, राष्ट्रका समस्याहरु अभिव्यक्ति हुने थलोको रुपमा सक्रिय बनाउन म अनुरोध गर्न चाहन्छु’ उनले भने ।
तर, एक पटक ब्युँतिएको प्रतिनिधिसभालाई फेरि विघटन गर्नको निम्ति सरकारले बिजनेस नदिएको उनले बताए । ‘सरकारले हिजो गरेका निर्णयहरुलाई वर्तमानमा पुष्टी गर्नको निम्ति संसदको आवश्यकता छैन भनेर निश्क्रिय पार्ने काम कतै बाट नहोस्’ पौडेलले भने ।