शुक्रबार, असोज ३० २०८३
ताजा अपडेट

बार्सिलोना यो एक अवस्थामा मात्रै नेइमारलाई फर्काउन तयार


  • बुधबार, चैत्र २५ २०७७
8.9K
SHARES

फाइल तस्बीर

२०१७ मा विश्वकीर्तिमानी २२२ मिलियन युरोमा स्पेनिस क्लब बार्सिलोना छाडेर फ्रेन्च क्लब पिएसजी पुगेका ब्राजिलियन स्टार नेइमारको नयाँ यात्रा सोचेजस्तो भएन । पेरिसमा तीन सिजन सकिएर चौथो सिजन बिताउँदै गर्दा पनि उनले चाहेको युरोपियन च्याम्पियन्स लिग र व्यक्तिगत रूपमा बालोन डिओर अवार्ड जित्न सकेका छैनन् ।

यो सिजन पिएसजी च्याम्पियन्स लिगको उपाधि दौडमै छ । तर,यात्रा सजिलो छैन । जसका कारण आज धेरै मानिस नेइमारको दुनियाँ चकित पर्ने महँगो कीर्तिमानी सरुवा किन थियो भनेर प्रश्न गरिरहेका छन् ।

पिएसजी पुगेदेखि नै लगातार विवाद र चोटको सास्ती भोग्दै आएका नेइमार गत वर्षबाटै पूर्वक्लब बार्सिलोना फर्किन चाहेको चर्चा छ । गत समर विन्डोमा उनले खुलेरै बार्सिलोना फर्किन खोजेका थिए । तर, पिएसजीले नमानेपछि उनी थच्चिए । बार्सिलोनामा आज पनि नेइमार फर्किएको हेर्न चाहने थुप्रै खेलाडी छन् । हालका कप्तान लिओनल मेस्सी र उपकप्तान जेरार्ड पिके आज पनि नेइमार फिर्तीको पक्षमा खुलेरै वकालत गरिरहेका छन् ।

तर, बार्सिलोनाको मुख्य योजनामा नेइमार पर्न सकिरहेका छैनन् । पछिल्लो समय सरुवा बजारमा एकाएक चर्चा फैलियो कि, बार्सिलोनाका नयाँ अध्यक्षले नेइमारलाई फर्काउन सक्छन् । यता, नेइमारले पनि पिएसजीमा नयाँ सम्झौता गर्नका लागि सुरु भएको छलफल स्थगित गरेर बार्सिलोना फर्किन नयाँ बोर्डका अधिकारीसँग सम्पर्कमा पुगेको चर्चा एकसाथ आयो । यस्तो हल्ला बजारमा फैलिएपछि स्पेनका केही भरपर्दा सञ्चारमाध्यमले भने नयाँ खबर छापेका छन् । उनीहरूले नेइमालाई एक अवस्थामा मात्रै बार्सिलोनाले फर्काउन चाहेको दाबी गरेका छन् । त्यो भनेको ‘फ्री ट्रान्सफर’ हो ।

पिएसजीमा नेइमारको सम्झौता सकिएपछि मात्रै बार्सिलोना आफ्ना पूर्वस्टारलाई फर्काउन अघि सर्न सक्छ । तर, हालकै अवस्थामा क्याटलान क्लब २९ वर्षका नेइमारमाथि ठूलो लगानी गरेर अनुबन्ध गर्ने पक्षमा छैन ।

पिएसजीमा नेइमारको सम्झौता सन् २०२२ अर्थात् सिजन २०२१–२२ को अन्त्यमा मात्रै सकिन्छ । नेइमारले पिएसजीसँग पहिलो चरणमा ५ वर्षका लागि सम्झौता गरेका थिए, जुन सकिने अझै थप एक सिजन बाँकी छ ।

टोलीलाई नयाँ ढंगले बनाउने तयारीमा रहेको बार्सिलोना अब पटक–पटक गम्भीर चोटसँग जुध्दै आएका नेइमालाई महँगो सरुवा फी तिरेर फर्काउने मनसायमा नरहेको बताइन्छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा