काठमाडौँसहित देशका विभिन्न ठाउँमा आज वायु प्रदूषणको मात्रा केही घटे पनि खतरा कायमै छ ।
शुक्रबार, शनिबार, आइतबार विश्वकै सबैभन्दा उच्च प्रदूषित शहरको सूचीमा क्रमश पहिलो, दोस्रो र ११औँ स्थानमा रहेको काठमाडौँ आज फेरि दोस्रो स्थानमा छ ।
आइक्यूएयर डट कमको बिहान साढे ११ बजेको अपडेट अनुसार नेपाल फेरि विश्वकै प्रदूषित शहरको दोस्रो स्थानमा छ । पहिलो स्थानमा दक्षिण कोरियाको बुसान छ ।
चार दिनदेखि काठमाडौँ उपत्यकाको वायु प्रदूषणको स्तरमा उतारचढाव भए पनि खतराको अवस्था नटरेको विज्ञहरू बताउँछन् ।
देशव्यापी रुपमा लागेको डढेलोले काठमाडौंसहितका ठाउँमा बाक्लो तुवाँलो लागेको छ । घाम नलाग्दा प्रदूषणले आँखा पोल्ने समस्या भएको छ ।
जल तथा मौसम विज्ञान विभागका मौसमविद् मीनकुमार अर्यालका अनुसार मंगलबार हावाको गति बढेमा प्रदूषण हट्न सक्छ ।
उपत्यकाको प्रदूषण सुधारको अवस्थामा नआएपछि प्रदूषण नियन्त्रणका अस्थायी उपाय खोज्ने सरोकारवालासँग आजै छलफलको तयारी भएको वातावरण विभागले जनाएको छ ।
विभागका उपमहानिर्देशक इन्दुविक्रम जोशीले भने,’सुरूमा हामी मौसमविद्सँग परामर्श गर्छौ, तत्कालै मौसम सुधार नहुने हो भने, थप कदम के के हुन सक्छन् भनेर अरू सरोकारित पक्षसँग पनि छलफलमा बस्छौँ ।’
चार दिनदेखिको अवस्था उस्तै रहेकाले तत्काललाई प्राथमिक तहसम्मका विद्यालय बन्द गर्नेदेखि यातायातमा जोरविजोर लगाउनेसम्मको विषय छलफलमा लगिने जोशीले बताए ।
विभागको प्रदूषण मापक यन्त्रले आज वायू गुणस्तर सूचक केही सुधार देखिए पनि आँखा पोल्ने लगायतका समस्या यथावत छ ।
बिहान ११ बजेको मापनमा काठमाडौको वायुको गुणस्तर (एक्यूआइ) घातक देखिएको छ ।