शनिबार, साउन ९ २०८३
ताजा अपडेट

कांग्रेसले भन्यो- म्यानमारमा भइरहेको नरसंहार अमानवीय र निन्दनीय


  • आइतबार, चैत्र १५ २०७७
13.6K
SHARES

फाईल तस्बिर

नेपाली कांग्रेसले म्यानमारमा प्रजातन्त्र पुनर्स्थापना गर्न भइरहेको आन्दोलनप्रति ऐक्यवद्धता जनाएको छ।

म्यानमारमा पछिल्ला केही दिनयता सैनिक सरकारले नरसंहार गरिरहेको घटना तथा प्रवृत्ति अत्यन्तै अमानवीय र निन्दनीय भएको कांग्रेसको भनाइ छ।

‘म्यानमारमा पछिल्ला केही दिनयता सैनिक सरकारले नागरिक प्रदर्शनमा नरसंहार गरिरहेको घटना र प्रवृत्ति अत्यन्तै अमानवीय र निन्दनीय छ,’ कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले आइतबार विज्ञप्ति निकालेर भनेका छन्।

जनता माथिको दमन तत्काल रोकेर निर्वाचित सरकार बहाल गर्न पनि कांग्रेसले माग गरेको छ।

लोकतन्त्रवादी नेतृ आङ सान सुकीलगायत सबैलाई रिहाइ गर्न र लोकतन्त्र पुनर्स्थापित गर्न म्यानमारको सैनिक सत्तामाथि विश्वव्यापी रूपमा तीव्र दबाब बढाउन आवश्यक देखिएको छ,’ उनले भनेका छन्।

कांग्रेसले जहाँ पनि लोकतान्त्रिक आन्दोलनप्रति समर्थन र ऐक्यवद्धता जनाउने नीति कांग्रेसको रहेको पनि शर्माले उल्लेख गरेका छन्।

‘विश्वभर जहाँ पनि हुने लोकतान्त्रिक आन्दोलनप्रति समर्थन र ऐक्यवद्धता जनाउने नीति नेपाली कांग्रेसले लिंदै आएको छ। म्यानमारको पछिल्लो कूलगत्तै विरोध प्रकट गरेर त्यहाँ भइरहेका घटना क्रमलाई हामी निरन्तर नियालिरहेका छौं,’ विज्ञप्तिमा भनिएको छ, ‘सैनिक सत्ताले मच्चाएको रक्तपात रोक्न म्यानमारका जनताको पक्षमा विश्वभरबाट आवाज उठ्न अत्यावश्यक भएको छ।’

म्यानमारका जनताका पक्षमा प्रष्ट रूपमा उभिएर आवश्यक अन्तर्राष्ट्रिय पहलकदमी गरिनु पर्ने पनि कांग्रेसको भनाइ छ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा