अर्थमन्त्री विष्णुप्रसाद पौडेलले राजस्व चुहावट रोक्न सरकार कठोर बन्ने बताएका छन् । केन्द्रीय राजस्व चुहावट नियन्त्रण समितिको बिहीबारको बैठकमा बोल्दै अर्थमन्त्री पौडेलले चुहावट नियन्त्रण गर्न सबै सामर्थ्य प्रयोग गर्ने र अनियमित कार्यमा संलग्न हुनेप्रति सरकार कठोर बन्ने बताएका हुन् ।
‘राजस्व चुहावटप्रति सहिष्णु हुन सक्दैनौं । शक्तिका साथ प्रस्तुत हुन्छौं,’ अर्थमन्त्रीले भने, ‘व्यवसाय अभिवृद्धि र संरक्षणलाई पनि उत्तिकै ध्यान दिन्छौं ।’ अर्थमन्त्री पौडेलले निर्दोष नफस्ने र दोषीले उन्मुक्ति नपाउने गरी काम गर्न निर्देशन दिएका छन् । उनले राजस्व परिचालनमा नकारात्मक असर नपर्ने गरी काम गर्न समेत सरोकारवाला विभाग र सुरक्षा निकायलाई आग्रह गरे ।
उक्त अवसरमा अर्थसचिव शिशिरकुमार ढुंगानाले मन्त्रालय, विभाग र सुरक्षा निकायबीच सूचना आदान प्रदान गर्न आवश्यक भएको धारणा व्यक्त गरे । राजस्व सचिव रामशरण पुडासैनीले चुहावट नियन्त्रणका लागि नीतिगत र प्रणालीगत सुधार गरिरहेको बताए । उनले आर्थिक गतिविधि बढेसँगै चुहावट हुने सम्भावना रहेकाले त्यसको नियन्त्रणमा सजग रहेको बताए । गृहसचिव महेश्वर न्यौपानेले दोषीलाई कानुन अनुसार कारबाही गर्ने उल्लेख गरे ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।