इटालियन क्लब युभेन्टसका फरवार्ड क्रिस्टियानो रोनाल्डो र स्पेनिस क्लब बार्सिलोनाका फरवार्ड लिओनल मेस्सीबीच जारी सिजन लिग गोल संख्यामा रोमाञ्चक प्रतिस्पर्धा देखिएको छ ।
विगत लामो समयदेखि खास प्रतिस्पर्धी रहँदै आएका यी दुई खेलाडीले जारी सिजन यहाँसम्म आइपुग्दा आ–आफ्नो लिगमा समान २३–२३ गोल गरेका छन् ।
अहिले ताजा अवस्थामा रोनाल्डोले यो सिजन सिरी ए लिगमा २४ खेलबाट २३ गोल र ३ असिस्ट गरेका छन् भने मेस्सीले ला लिगामा २६ खेलबाट २३ गोल र ८ असिस्ट गरेका छन् । यो सिजन मेस्सीले रोनाल्डोको भन्दा २ खेल बढी खेलेर समान गोल गरेका हुन् । तर, रोनाल्डोको भन्दा मेस्सीले बढी असिस्ट गरेका छन् ।
सिजनको सुरुआतमा गोलको चर्को खडेरीबाट गुज्रिएका मेस्सी पछिल्लो समय शानदार लयमा छन् । त्यसअनुसार रोनाल्डो भने संघर्ष गरिरहेका छन् । सिजनको सुरुआती समयमा कुनै बेला रोनाल्डोले १३ गोल गरिसक्दा मेस्सीका नाममा मात्रै ६ गोल थियो । तर, अहिले मेस्सीले रोनाल्डोसँगको गोल दूरी घटाएर बराबरी नै गरिसकेका छन् । अब ला लिगामा मेस्सीको बार्सिलोनाले १० खेल खेल्न बाँकी छ भने सिरी ए लिगमा रोनाल्डोको युभेन्टसले ११ खेल खेल्न बाँकी छ ।
युरोपियन गोल्डेन बुट दौडमा भने यसपटक रोनाल्डो र मेस्सी दुवै धेरै पछि छन् । पहिलो स्थानमा जर्मन क्लब बार्यन म्युनिखका रोवर्ट लेवान्डोस्की २५ खेलबाट ३५ गोलका साथ सबैभन्दा अगाडि रहेका छन् । त्यसपछि दोस्रो स्थानमा संयुक्त रूपमा रोनाल्डो र मेस्सी छन् । तर, दुवै समान १२–१२ गोलले पछि छन् ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।