कोभिडको महामारीलाई भुल्दै नर्मल’मा फर्किन थालेको बेला फेरि नयाँ भेरियन्टको भाइरस फैलिएको आशंका गरिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पछिल्लो कोभिड १९ तथ्यांकले खतराको घण्टी बजाएको छ ।
मन्त्रालयको अनुसार सोमबार ४ हजार ४७२ नमुना परीक्षण गर्दा १५० जनामा कोभिड-१९ को संक्रमण भेटिएको छ । गएको २४ घण्टामा ३ जना संक्रमितको मृत्यु भएको छ ।
महामारीको पछिल्लो अवस्था र तथ्यलाई नियालिरहेका टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका चिकित्सक अनुप बास्तोला कोरोना भाइरस समुदायकै बीचमा हुदाँ पनि महामारी सकिएको भनेर नजरअन्दाज गर्नुको परिणाम देखिएको बताउँछन् ।
डाक्टर बास्तोलाकाअनुसार पछिल्लो समय प्रत्येक महिना २८/३० जना बिरामी टेकु अस्पतालमा भर्ना भएका छन् । यसरी संक्रमित भेटिइरहेको बेलामा महामारीलाई नजरअन्दाज गरेकाले अहिले संक्रमण बढेको उनको तर्क छ । ‘संक्रमण नभएको अवस्थामा पनि हामीले जनस्वास्थ्यका मापदण्ड पालना गर्नुपर्थ्यो’ डाक्टर बास्तोला थप्छन्, ‘तर संक्रमित भेटिइरहेको बेलामा पनि हामी पार्टी, भोज, नारा, जुलुस र सभा सम्मेलन गर्न थाल्यौं, गल्ती यहीँ भयो ।’
टेकु अस्पतालमा सोमबार मात्रै २ जना संक्रमित भर्ना भएका छन् । ३ जना संक्रमितको आईसीयूमा उपचार भइरहेको छ । लक्षणसहित परीक्षण गराउने आउने शंकास्पद संक्रमितको संख्या पछिल्लो १० दिनमा बढेको छ ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।