२ श्रावण, काठमाडौँ ।
कोरोना भाइरस (कोभिड–१९) का कारण बन्द भएका विद्यालयहरुलाई सञ्चालन गर्न माग राख्दै निजी विद्यालयहरुको छाता संगठन प्याब्सन, एन प्याब्सन नगर कमिटिले बूढानीलकण्ठ नगरपालिकाका मेयर उद्धब खरेललाई ध्यानाकर्षण पत्र बुझाएका छन् ।

शुक्रबार नगरपालिकाको कार्यालय हात्तिगौडा पुगि प्याब्सन बूढानीलकण्ठ नगरकमिटिका अध्यक्ष खेमराज घिमिरे र एन प्याब्सन बूढानीलकण्ठ नगर कमिटिका अध्यक्ष नारायणबाबु तिम्सिनाको नेतृत्वमा मेयर खरेललाई ११ बुदे ध्यानाकर्षण पत्र बुझाएका हुन् ।

विद्यार्थीहरुको पठन–पाठनलाई सुचारु गर्न, अध्ययनरत विद्यार्थीहरुको अभिलेखीकरण गरी पाठ्यपुस्तक लगायत शिक्षण सामाग्रीहरु व्यवस्थापन गर्न, सार्वजनिक विदाहरु, जाडो विदा लगायत अन्य विदा कटौति गरि नयाँ शैक्षिक क्वालेन्डर निर्माण गर्न, विद्यालयहरुले तिर्नु पर्ने घरजग्गा बहाल कर, घर कर, ब्यवसाय कर, बिधुत महशुल, टेलिफोन महशुल लगायतका नगरपालिकाको आफ्नै दायरा भित्रका करमा छुट दिने व्यबस्था गर्न, नयाँ विद्यालय खोल्न, स्थानान्तरण भई आउन बन्द गर्न लगायतको माग राख्दै १२ बुँदे ध्यानाकर्षण पत्र बुझाइएको प्याब्सन बूढानीलकण्ठ नगरकमिटीका अध्यक्ष घिमिरेले बताए ।

यस्तै अनलाईन कक्षा स्थगित गरिएको बारे प्रकाश पार्दै एन प्याब्सन बूढानीलकण्ठ नगर कमिटिका अध्यक्ष तिम्सिनाले हाम्रो अस्तित्व बचाउनका लागि गरिएको अन्तिम आन्दोलन रहेको दाबी गरेका थिए । वार्ता नभई यसलाई रोक्ने पक्षमा आफुहरु नरहेको बताए । भौतिक रुपमा विद्यालय सञ्चालनका लागि कुनै न कुनै मोडालिटीमा संघिय सरकार, प्रदेश सरकार अथवा स्थानिय सरकारले जारी गर्नुपर्दछ । बूढानीलकण्ठ नगरपालिका नेपालकै सबैभन्दा बढी विद्यालय भएको नगरपालिका भएको हुनाले पनि विद्यालय सञ्चालनमा विशेष मोडालिटी तयार गरि देशभर यसको सन्देश पुर्याउन सकिने बताए । यस्तै विद्यालयहरुको वास्तविक समस्यालाई अध्ययन गर्नका लागि नरपालिकाको तर्फबाट अध्ययन समिति बनाई सञ्चालनरत विद्यालयमा भएको समस्याको पहिचान गरि भएका समस्याको न्युनिकरणतर्फ नगरपालिका लाग्नु पर्ने बताएका छन् ।

यस्तै ध्यानाकर्षण पत्रबारे बोल्दै कर्मा छिरिङ शेर्पाले विद्यालय सञ्चालन गर्न सिसिएमसमा जानु पर्ने विषय नभएको बताए छन् । संघिय सरकारको मुख नताकी स्थानिय सरकारलाई संविधानले दिएको अधिकारलाई प्रयोग गरि विद्यालय सञ्चालन गर्नका लागि एक, दुई दिन भित्र नै नगरपालिकाले पहल गर्नतर्फ लाग्नु पर्ने बताएका छन् ।
भदौदेखि विद्यालय सञ्चालन हुन सक्छः मेयर उद्धव खरेल

ध्यानाकर्षण–पत्रमा उल्लेखित विषयलाई सम्वोधन गरि बूढानीकलण्ठ नगरपालिकाका मेयर उद्धव खरेलले भदौदेखि विद्यालय सञ्चालन हुन सक्ने सम्भावना रहेको बताएका छन् । तत्कालै विद्यालय सञ्चालन गरेको खण्डमा कोरोनाको क्रासमा रहेका शिक्षक नआउने, अभिभावकहरुले आफ्ना नानी–बाबुहरु नपठाउने स्थिति विद्यमान रहेको हुँदा तत्काल नै पुर्ण रुपमा उपस्थिति रहेर विद्यालय सञ्चालन गर्ने अवस्था नभएको बताए । परिस्थितीलाई मध्यनजर गरि भदौबाट कक्षा सञ्चालन हुन सक्ने सम्भावना रहेको छ ।

अहिलेसम्म नगरपालिकामा १० जनामा कोरोना संक्रमण देखिएको र जसमध्य ५ जना ठिक भएर घर फर्किसकेको कुरा उल्लेख गर्दै मेयर खरेल भन्छन्– केही दिनमै नगरपालिकाले ४०० जना पिसिआर टेष्ट गर्दैछ । जसको परिणामलाई हेर्दै नगरपालिकाले विद्यालय सञ्चालन बारे ठोस निर्णय गर्नेछ । यदि निजी विद्यालयमा कार्यरत कर्मचारी तथा शिक्षकलाई साच्चै अप्ठेरो छ भने सो कुरालाई मध्यनजर गरि नगरपालिकाले राहत उपलब्ध गराउने प्रतिवद्धता व्यक्त गरेका छन् ।

उक्त ध्यानाकर्षण–पत्र बुझाउने कार्यक्रममा बूढानीलकण्ठ नगरपालिकाका मेयर उद्धब खरेल, प्रमुख प्रशासकीय अधिकृतमा बैकुण्ठ प्रसाद सापकोटा, शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख जगनाथ उपाध्याय, प्याब्सन बूढानीलकण्ठ नगर कमिटीका अध्यक्ष खेमराज घिमिरे एवं पदाधिकारी, एन प्याब्सन बूढानीलकण्ठ नगरकमिटिका अध्यक्ष नारायणबाबु तिम्सिना एवं पदाधिकारी, टिआईए स्कूलका संस्थापक कर्मा छिरिङ शेर्पा, बूढानीलकण्ठ शैक्षिक मञ्चका अध्यक्ष कृष्ण भण्डारी एवं पदाधिकारी, बूढानीलकण्ठमा रहेका विद्यालयका प्रिन्सिपल लगायत शिक्षासंग सरोकार राख्ने विभिन्न व्यक्तिहरुको उपस्थिति रहेको थियो ।
ध्यानाकर्षण पत्रको पुर्णपाठ हेर्नुहोस्ः
श्रीमान् नगर प्रमुख ज्यू
बूढानीलकण्ठ नगरपालिका
गोल्फुटार, काठमाण्डौ ।
मितिः २०७७ श्रावण २ गते
विषय : ध्यानाकर्षण सम्बन्धमा ।
महोदय,
उपरोक्त सम्बन्धमा कोभिड–१९ बाट सृजित समस्याहरुको समाधानार्थ हाम्रो छाता संगठनहरुको तर्फबाट नेपाल सरकारका विभिन्न निकायहरु समक्ष पटक–पटक गरिएका आग्रहका बाबजुद कुनै ठोस निष्कर्ष प्राप्त नहुुंदा विद्यालयहका दायित्वहरु पूरा गरी आफ्ना गतिविधिहरु सञ्चालन गर्न आर्थिक तथा नैतिक दुष्टिकोणले दिनानु दिन अप्ठ्यारो पर्दै गएका कारणले हाल सञ्चालनमा रहेका सिकाईका बैकल्पिक विधिहरु अर्काे सूचना प्राप्त नभए सम्म बन्द रहने निर्देशन संगठनका तर्फबाट प्राप्त भएकोले सोही अनुसार यस नगरपालिका भित्र सञ्चालित निजी विद्यालयहरुका सबै गतिविधिहरु बन्द रहने व्यहोरो अनुरोध छ । साथै यस नगरपालिकालाई निम्नानुसारको व्यवस्था मिलाई सहयोग गरिदिनु हुन समेत अनुरोध छ ।
१. कोभिड–१९ का कारणले तहल नहस भएको विद्यार्थीहरुको पठनपाठनलाई सुचारु गर्नका लागि नयाँ विद्यार्थी भर्ना, अध्ययनरत विद्यार्थीहरुको अभिलेखीकरण गरी पाठ्यपुस्तक लगायत शिक्षण सामाग्रीहरु व्यवस्थापन गर्ने वातावरण यथासिघ्र निर्माण गरियोस् ।
२. अनलाइन कक्षा र भर्चुअल कक्षाहरु वैकल्पिक शिक्षण पद्धती मात्र भएको र नेपाली समाजमा अहिले नै यो पद्धतीको पहुँचमा सबै विद्यार्थीहरु हुन नसक्ने यर्थाथलाई मनन गर्दै यस पालिकाभित्र कोभिड–१९ को प्रभावको समेत अध्ययन गरी यथासम्भव विद्यालयहरुमा आवश्यक पूर्वाधार व्यवस्थापन सहित जोर–विजोर वा आलोपालो प्रणालीमा कक्षा संचालन गरि विद्यार्थीहरुको पठनपाठन गर्ने व्यवस्थापन गरियोस् ।
३. वर्तमान शिक्षा नियमावली अनुसार एक शैक्षिक सत्रका लागि १८०–१९२ दिन पठन पठन गर्नुपर्ने हुँदा सोही अनुसार शैक्षिक सत्र २०७७ का लािग केही सार्वजनिक विदाहरु, जाडो विदा लगायत अन्य विदा कटौति गरि नयाँ शैक्षिक क्वालेन्डर निर्माण गरियोस् ।
४. शैक्षिक सत्र २०७७ मा विद्यलायहरुले शिक्षा नियमावली अनुसार तोकिएको जिम्मेवारी पुरा गर्ने प्रतिबद्धताका आधारमा १ महिनाको मासिक पढाई शुल्क छुट गरि अन्य शुल्कहरु संकलन गर्न पाउने व्यवस्था गरियोस् ।
५. निजी विद्यालयहरुले शैक्षिक सत्र २०७६ को बाँकी वक्यौता उठाउन नसकेको र २०७७ सालमा कुनै पनि शीर्षकमा शुल्क संकलन नगर्न नेपाल सरकारले निर्देशन गरेको अवस्थामा हाम्रा विद्यालयमा कार्यरत शिक्षक–कर्मचारीहरुको तलब–भत्ता लगायत अन्य खर्चको व्यवस्थापन गर्न नसकिएको हँदा हाम्रा शिक्षक कर्मचारीहरुलाई उचित सहयोगको व्यवस्था गरियोस् ।
६. निजी कम्पनीमा दर्ता भै संचालनमा रहेका विद्यालयहरुमा कोरोनाको कारण उत्पन्न आर्थिक संकट व्यवस्थापनको लागि बजेटमा कम्पनी उद्योगलाई सम्बोधन गरीएको ५ प्रतिशत सहुलियत दरमा स्थानीय बैकहरुसँग छलफल गरी सफ्ट लोनको व्यवस्था मिलाईयोस ।
७. अनलाईन कक्षालाई आपतकालिन शैक्षिक विधिको रुपमा मान्यता दिई परीक्षा र मुल्याङ्कन प्रणलीलाई पनि अनलाईनबाटै गर्न सकिने वातावरण बनाइयोस ।
८. कोरोना (COVID-19) र बन्दाबन्दीको कारणले विद्यालय संचालन हुन नसकेको अवधि भरका लागि विद्यालयहरुले तिर्नु पर्ने घरजग्गा बहाल कर, घर कर,ब्यवसाय कर, बिधुत महशुल, टेलिफोन महशुल लगायतका नगरपालिकाको आफ्नै दायरा भित्रका करमा छुट दिने व्यबस्था मिलाइयोस ।
९. हाल सञ्चालित विद्यालयको स्थापना काल देखि वर्तमान अवश्था सम्मको समग्र पक्षको मुल्याङ्कनगरी संस्थागत संस्थागत विद्यालय बिचको मर्जरको ठोस नीति निमार्ण गरी कार्यान्वयन गरीयोस ।
१०. पूर्व– प्राथमिक तह ( एचभ(क्अजयय)ि मा अध्यापन गर्नको लागि छुट्टै पाठ्यक्रम र निर्देशिका निमार्ण गरी लागू गर्ने र बिना अनुमति सञ्चालित बिद्यालय तुरुन्त बन्द गर्ने ब्यबस्था मिलाइयोस ।
११. बूढानीलकण्ठ नगरपालिका क्षेत्रमा विद्यालयको संख्या अत्याधिक भएको हुँदा नयाँ विद्यालय खोल्न, स्थानान्तरणभै आउन बन्द गर्ने साथै पूर्व–प्राथमिक तह देखि माध्यमिक तहसम्म संचालीत विद्यालयहरुले अनुमती लिएको कक्ष बाहेक माथिल्लो कक्षा संचालन गर्न रोक गर्ने ब्यबस्था मिलाइयोस ।
खेमराज घिमिरे (अध्यक्ष, बूढानीलकण्ठ नगर प्याब्सन) तथा नारायणबाबु तिम्सिना (अध्यक्ष, बूढानीलकण्ठ नगर एन प्याब्सन)
थप तस्विरः



