२९ असार, काठमाडौँ ।
बूढानीलकण्ठ नगरपालिका वडा नम्वर ११ कपनमा रहेको साम्तेन मेमोरियल एजुकेसनल एकेडेमी (साम्तेन स्कुल) ले नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको २०७ औँ जन्म जयन्तीका अवसरमा भर्चुअल कवि गोष्ठी तथा कविता वाचन प्रतियोगिताको आयोजना गरेको छ ।
विश्वभर आतङ्क मच्चाइरहेको कोरोना भाइरसका कारण नेपालमा समेत लगभग चार महिनादेखिको लकडाउनको बसाइले तमाम अभिभावक, शिक्षक तथा विद्यार्थीहरुलाई उकुसमुकुस बनाइरहेको र मानसिक रुपमा स्फूर्ति बढाउने खालका कार्यक्रमको आवश्यकता परिरहेका बेला आज भानुजयन्तीका अवसरमा साम्तेनमा अनलाइन वा भर्चुअल कवि गोष्ठी तथा अभिभावक र विद्यार्थीहरुका लागि कविता वाचन कार्यक्रमको आयोजना गरिएको थियो ।
प्राध्यापक तथा साहित्यकार नारायण नेपाल, युवा साहित्यकार सबिन लम्साल ( इटहरी), युवा साहित्यकार लक्ष्मी थापा( भक्तपुर), युवा साहित्यकार तथा पत्रकार प्रकाश बस्नेत (अमेरिका), युवा साहित्यकार तथा प्रहरी नायब उपरिक्षक कुलचन्द्र नेपाल –काठमाडौँ), युवा साहित्यकार तथा शिक्षा अधिकृत सन्तोष कार्की ( संखुवासभा), युवा साहित्यकार तथा कलाकार नमस्ते दिवाकर घिमिरे (काठमाडौँ), पत्रकार श्याम कार्की, युवा साहित्यकार विकास ज्ञवाली लगायतको विशेष सहभागिता तथा १०० जनाभन्दा बढी विद्यार्थी र ५० भन्दा बढी अभिभावकहरुको सहभागिता र सुपरिवेक्षणमा उक्त कार्यक्रम सम्पन्न भएको थियो ।
बिहान ठिक १० बजे सुरु गरिएको उक्त कार्यक्रमका सुरुमा अतिथि कविहरुको भानुभक्त आचार्य विशेष कविता वाचनबाट कार्यक्रमको उद्घाटन गरिएको थियो भने नारायण नेपालको मुक्तक,सबिन लम्सालको गद्य अंश, लक्ष्मी थापाको अमरावती कान्तिपुरी नगरी,शक्ति नेपालको बोल्छौ भने भाषा दान गर्छु, कुलचन्द्र नेपालको भानु तिमी तथा कलाकार नमस्ते दिवाकर घिमिरेको कमेडी तथा अभिभावक चन्द्रमाया घिमिरेको रामायण श्लोक वाचनले भर्चुअल माहोल नै तताएको थियो ।
राष्ट्र गानबाट सुरु भएको उक्त कार्यक्रमको औपचारिक सञ्चालन प्रधानाध्यापक स्वयंले गरेका थिए भने अनौपचारिक सञ्चालनका लागि शिक्षकहरुले पालैपालो गरिरहेका थिए । कार्यक्रमका दौडानमा युवा साहित्यकार तथा सशक्त कवि हेम प्रवासको शुभकामना सन्देशले अझै उत्साह थपेको थियो ।
कार्यक्रममा सबै सहभागीहरुका उत्कृष्ट कविताहरु थिए भने साम्तेनकै मिनी मेलिना राईका रुपमा उदाउँदै गरेकी युमी राईले भानुभक्त आचार्यकृत ‘घाँसीले कुवा खनायो’ नामको कविता लय हालेर वाचन गरेपछि माहोल मन्त्रमुग्ध बनेको थियो । साहित्यकार लक्ष्मी थापाको समीक्षात्मक टिप्पणी रहेको सो कार्यक्रम साढे २ घण्टासम्म निरन्तर चलेको कार्यक्रम संयोजक तथा प्रधानाध्यापक शक्ति नेपालले बताए ।
विद्यालयले बैशाख महिनादेखि नै सञ्चालन गरेका अनलाइन कक्षाहरुमा समेत हरेक हप्ता मनोरञ्जनात्मक तथा ज्ञानवद्र्धक कार्यक्रमहरु सञ्चालन गरिरहेको र विद्यार्थीहरुलाई मानसिक तथा शैक्षिक रुपमा अद्यावधिक बनाइरहेको कुरा पनि प्रधानाध्यापक नेपालले बताए ।
बैकल्पिक माध्यमबाट शिक्षण सुरु गरे तापनि नेपालीको साझा तत्व र साझा पहिचान तथा नेपालीलाई एउटै सूत्रमा बाँध्न सफल नेपाली भाषाको एकीकरणमा भानुले पुर्याएको योगदानलाई नेपाल सरकार तथा विश्वभर छरिएका नेपालीहरुले कदर गर्नुपर्ने कुरा हरेक सहभागीहरुले बताएका थिए भने पाश्र्व सङ्गीतका रुपमा रामायण श्लोकलाई बजाइएकाले माहोल एकदमै आकर्षक तथा मनोरञ्जनात्मक बनेको कार्यक्रम संयोजकले केटिएम खबरलाई जानकारी दिए ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।