शुक्रबार, साउन २९ २०८३
ताजा अपडेट

शहरबाट गाउँ पुग्दा


  • बिहिबार, बैशाख ४ २०७७
37.5K
SHARES

मेरो नाम आयुश्री घिमिरे हो । म अहिले दस वर्षकी भएँ । युरो स्कुल हात्तिगौंडामा कक्षा पाँचमा अध्ययनरत छु । ललितपुर जिल्लाको अति नै दुर्गम गाउँ ठुलादुर्लुङ्गमा हाम्रो पुख्यौली घर छ । काठमाडौबाट करिब ७० कि.मी. मात्रको दुरीमा भए पनि विकासको हिसाबले निकै नै पछाडि रहेछ । गाउँमा हाइ स्कुल नभएकोले मेरो बाबा पढाइको लागि काठमाडौ आएपछि यतै बसोबास गर्नु भएको रहेछ । अहिले हामी हात्तिगौंडा बूढानिलकण्ठमा बस्छौं । बाबा बेला बेलामा गाउँ गइरहनुहुन्थ्यो । म दुई वर्षको हुँदा गाउँ लैजानु भएको रहेछ तर मलाई सम्झना छैन ।

दोस्रो पटक गाउँ जाँदा आठ वर्षकी थिएँ । त्यति बेला दशैंको समय थियो । घर जाँदा ललितपुरको चापागाउँ भन्ने ठाउँबाट बस लाग्दो रहेछ । हामी पनि फुलपातीको दिन बिहान सबेरै उठेर बसपार्क पुग्यौं । दिनमा एउटा मात्र बस जाँदो रहेछ । गाउँ फर्किनेहरु हुलका हुल थिए । सिट पाउन मुस्किल पर्दो रहेछ । हामीले पनि सिट पाएनौं । बसको छत, सिटमुनि र प्यासेजभरि चामल, ढुटो, चिउरा, नुन, तेल आदि सामानहरुले खुट्टा टेक्ने ठाउँ पनि थिएन । ममीले त घर फर्किउँ अर्को दिन जाउँला पनि भन्नुभएको थियो तर बाबाले जुनदिन गए पनि दशैंभरि यस्तै भिड हुन्छ बरु यिनै बोरामाथि बसेर भने पनि जाउँ दुःख सुख पुगिन्छ भन्नु भयो । ममीले पनि सहमति जनाउनुभयो । तिनै बोरामाथि बसेर गाउँ जाने भइयो । बस बिस्तारै गुड्न थाल्यो । बाटो साँघुरो, जताततै खाल्टाखुल्टी र घुम्ती नै घुम्ती भएको एउटा मात्र गाडी गुड्न मिल्ने खालको थियो । उकाली ओराली गर्दै कहिले दायाँ कहिले बायाँ ठोक्किँदै सयौं डाँडा काटेर बल्लतल्ल घर पुगियो । हाम्रा राम्रा लुगा घर पुग्दा सबै काला र मैला भए । हामी पुग्दा खाना तयार थियो । थकाइ लागेकोले होला मलाई सुत्न मन लागेको थियो । खाना खाएर ओछ्यानमा पल्टिनासाथ निदाएछु ।

बिहानीपख आँखा पिरा भए । धुवाँले कोठा भरिएको रहेछ । घरको माथिल्लो तलालाई चोटो भनिदो रहेछ । चोटाबाट तलमाथि आउन जान लिस्नु थियो । मलाई लिस्नुबाट तल जान डर लाग्यो । बिस्तारै आमाले मलाई तल लानु भयो । एका बिहानै आमाले ठुलाठुला दाउरा बालेर ठुलो कालो डेक्चीमा केही पकाइरहेको देख्दा भोज पो रहेछ क्यारे भन्ने सोचें । तर त्यो त गाई, भैंसी, बाख्राको लागि पकाइएको कुँडो रहेछ । घर बाहिर निस्केर यताउति घुम्न थालें । अलिपर मलखादमा कुखराहरु खोस्रिँदै थिए । घरपछाडि गोठमा एकातिर भैसी र अर्कोतिर गाई थिए । गाईभैंसी त कत्ति ज्ञानी हुँदारहेछन् । मसिनो डोरीले बाँध्दा पनि कतै नभागी बस्दा रहेछन् । टिभी, मोबाइल र किताबका चित्रमा मात्र देखेका घरपालुवा जनावरहरु आफ्नै आँखा अगाडि देख्दा पुरै ब्रम्हाण्ड नै अगाडि आए झैं लाग्यो । गोठबाट निस्किएको गउत र गोबरको गन्धले नाकै खुम्चिएको थियो । बाख्राको साना-साना पाठापाठी भने साह्रै राम्रो लाग्यो । मुनेमुने भन्दै बोकेर फोटो पनि खिचें । मसँग अहिले पनि ती फोटाहरु छन् ।

आमाले नानी भनेर खाजा खान बोलाउनु भयो । कुँडेबाट दुई डाडु दूध सिलाबरका बटुकामा राखिदिनु भयो । मकैको ठुलो बाक्लो रोटी आधा भाँचेर दिनु भयो । मैंले यसरी कहिल्यै खाएको थिइनँ । साँच्चै भन्दा मैंले खान पनि जानिनँ । आमाले आफैंले मुछेर खुवाई दिनुभयो । मलाई आमाले बोलेका धेरै शब्दहरु नयाँ लागे । आमाले बोलेका कुनै-कुनै शब्दहरु बुझ्नै नसक्ने खालका थिए । आमाले बाबालाई तिउन ल्याउन भन्नुभयो । म पनि हजुरसँग बजार जान्छु बाबा भन्दै पछि लागें तर बाबा त बारीमा पो जानु भयो । मुला, साग र लसुन टिपेर ल्याउनु भयो । मैंले त दूध, दही, तरकारी पसलबाट मात्र किनेको देखेको थिएँ । हामीले शहरमा खाने तरकारी, फलफूल, गेडागुडी, दूध गाउँबाटै ल्याएर बेच्ने कुरा बल्ल पो थाहा पाएँ । आमाले चौंठीबाट भुटुन हालेर तिउन पकाउनु भयो । कराहीमा पानी उम्लिरहेको थियो । आमाले त्यही पानीमा पिठो हाल्नु भयो । पन्युले एकछिन माडेपछि पाक्यो भन्नु भयो । मैंले त त्यसलाई हलुवा भन्ठानेको थिएँ होइन रहेछ । त्यो त ढिंडो रहेछ । सबैजनाले खानु भयो तर मलाई मिठो लागेन ।

घर नजिकै रुखको हाँगामा पिङ हालेको थियो । पिङ खेल्दा धेरै रमाइलो भयो । दिदीले बाँसको भाँङ्ग्राबाट फिरफिरे बनाउनु भयो । जति कुधो उति बेस्सरी घुम्दो रहेछ । फिरफिरे बोकेर कुदेको पल अहिले पनि सम्झिरहन्छु । दशैंको टिकाको दिन आमाले निधार भरि टिका लगाई दिनुभयो । घरका सबै जनाले टिका लगाउँदै दक्षिणा दिनुभयो । गाउँमा अरु आफन्तकोमा पनि टिका लगाउन गइयो । धेरै ठाउँमा जाँदा पैसा पनि धेरै भयो । पैसा गन्दै रमाएँ । दशैं सकिनासाथ फेरि पनि उस्तै कठिनाइ भोग्दै काठमाडौ आइयो । ती पलहरु सम्फँदा अहिले चाहिँ रमाइलो लागेर आउँछ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा