शनिबार, साउन ९ २०८३
ताजा अपडेट

सात स्थानमा सशस्त्र प्रहरीको ‘चेकप्वाइन्ट’ स्थापना


  • सोमबार, चैत्र २४ २०७६
14.2K
SHARES

अत्तरिया, चैत २४ ।

भारतसँग सीमा जोडिएका कैलालीका विभिन्न सात सहायक सीमानाकामा सशस्त्र प्रहरीका नयाँ ‘चेकप्वाइन्ट’ स्थापना गरिएका छन् ।

नेपाल–भारत सीमामा आवतजावत गर्ने क्रम नरोकिएपछि सीमा क्षेत्रमा थप कडाइ गर्न चेकप्वाइन्ट स्थापना गरिएको हो ।

धनगढी उपमहानगरपालिका–९ बङ्गराकटान, वडा नं १० जुगेडा, कैलारी गाउँपालिका खोनपुर, भजनी नगरपालिका–७ हिक्मतपुर, वडा नं ६  कौवाखेडा, वडा नं ३ मौरीयाँघाट र टीकापुर नगरपालिका–९ श्रीलङ्कामा नयाँ चेक प्वाइन्ट स्थापना गरिएका हुन् ।

मुख्य नाका बन्द भएपछि सहायक नाका प्रयोग गरेर सर्वसाधारण नेपाल भित्रिन थालेपछि सीमामा नयाँ चेकप्वाइन्ट स्थापना गरिएको कैलालीका सहायक प्रजिअ मोहनराज जोशीले जानकारी दिए ।

सशस्त्र प्रहरी बल ३४ नं गणले भारतसँग सिमाना जोडिएको एक सय किमी लामो सिमानामा हालसम्म एक गुल्म र चार बिओपीमार्फत सीमा सुरक्षा गर्दै आइरहेकामा कोभिड–१९ महामारी रोकथाम तथा नियन्त्रणका लागि थप सात चेकप्वाइन्ट स्थापना गरेको जनाइएको छ ।

नयाँ थप गरिएका सात र पुराना पाँचसहित १२ युनिटमार्फत सशस्त्र प्रहरीले भारतसँग जोडिएको कैलालीको सम्पूर्ण सीमा क्षेत्रमा निगरानी गरिरहेको जनाइएको छ ।

चौबिसै घण्टा सीमामा तैनाथ सशस्त्र प्रहरीले सीमा क्षेत्रमा हुने आवतजावतमा पूर्णरुपमा निगरानी गरी नियन्त्रण गर्ने जनाइएको छ । रासस


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा