कतार एयरलाइन्सको चार्टर्ड विमान ३ सय २ जना अमेरिकी यात्रु लिएर केहीबेर अघि काठमाडौँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अमेरिकाको वासिङ्टन डिसीका लागि प्रस्थान गरेको छ।
साढे १ बजे प्रस्थान गरेको उक्त विमान कतारको दोहा हुँदै वासिङ्टन डीसिस्थित डलास इन्टरनेसनल एयरपोर्टमा अवतरण हुने छ। नेपालले एक साताअघि अघि लागु गरेको लकडाउनपछि विभिन्न स्थानमा अलपत्र आफ्ना नागरिकलाई स्वदेश फर्काउन नेपालस्थित अमेरिकी राजदुतावासले पहल गरेको थियो। नेपालका विभिन्न स्थानबाट ल्याई उनिहरुलाई अमेरिका लगिएको हो।
लकडाउनपछि नेपालमा अलपत्र परेका आफ्ना नागरिकलाई स्वदेश लैजाने अमेरिका पहिलो देश भने होइन। यसअघि जर्मनी र फ्रान्सले पनि चार्टर्ड विमानमार्फत ९ सयभन्दा बढी आफ्ना नागरिक नेपालबाट लगेका थिए। ती देशले पनि कतार एयरलाइन्सकै विमान चार्टर्ड गरेका थिए।
कोरोना भाइरसको महामारीपछि नेपालले एक सातायता नेपाल आउने सम्पूर्ण नियमित अन्तर्राष्ट्रिय उडान बन्द गरेको छ। त्यसअघि कोरोना संक्रमित भएका देशलाई नेपाल प्रवेशमा प्रतिबन्ध लगाइएको थियो।
यहि कारण विदेशमा रहेका नेपालीसमेत स्वदेश फर्कन सकेका छैनन्। नेपाली नागरिक भारतीय सिमामा आएर अलपत्र परिरहेको समाचार बाहिरिरहेका बेला विभिन्न देशले नेपालमा रहेका आफ्ना नागरिकलाई विमान चार्टर्ड गरि स्वदेश फर्काइरहेका छन्।
अमेरिकाले मंगलबार फिर्ता लगेका आफ्ना नागरिकमध्ये ९ जना बालबालिका पनि छन्। नेपालले लकडाउन सुरु गर्नुअघि नै अमेरिकाले विभिन्न देशमा रहेका आफ्ना नागरिकलाई स्वदेश फर्कन ट्राभल एडभाइजरी जारी गरेको थियो।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।