शनिबार, कार्तिक १ २०८३
ताजा अपडेट

कोरोना प्रभावित ५५ मुलुकबाट नेपाल आउन प्रतिबन्ध,सार्वजनिक स्थानमा २५ भन्दा बढी भेला हुन निषेध


  • बुधबार, चैत्र ५ २०७६
14.2K
SHARES

सरकारले कोरोना भइरस (कोभिड १९) को संक्रमण देखिएका देशहरुबाट त्यहाँका नागरिकहरुलाई नेपाल आउन पूर्ण रुपमा प्रतिबन्ध लगाएको छ ।

कोभिड १९ संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको आज बसेको बैठकले युरोपका सबै मुलुक, पश्चिम एसिया लगायत खाडी क्षेत्रका मुलुकसहित ५५ मुलुकबाट नेपाल आउन रोक लगाएको हो । यस्तै, सरकारले अत्यावश्यक कामबाहेकको अवस्थामा घर बाहिर ननिस्कन र हिँडडुल नगर्न आह्वान समेत गरेको छ । त्यस्तै धार्मिक र सार्वजनिक स्थानमा २५ जना भन्दा बढी भेला हुन बन्द गर्ने निर्णय पनि गरेको छ ।

यस्तै, बैठकले सिनेमाहल, साँस्कृतिक केन्द्रहरु, रंगशाला, खेल स्थल, जिम, हेल्थ क्लब, म्युजियम, स्वीमिङ पुल, मनोरञ्जन स्थल आदिलाई ३० अप्रिल २०२० सम्म बन्द गर्ने निर्णय गरेको छ । यसको अनुगमन गृह मन्त्रालय, संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्रालय र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले गर्ने बताइएको छ ।

बैठकले रोगबाट संक्रमण भई उपचार गर्नुपर्ने भएमा त्यस्ता बिरामीहरुलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तोकेका सरकारी, सामुदायिक तथा निजी अस्पतालहरुबाट उपचार गराउने व्यवस्था मिलाउने निर्णय गरेको छ । त्यस्तै, अत्यावश्यक काम बाहेक आवतजावत, हिडडुल नगर्ने निर्णयसमेत गरेको छ ।

सार्वजनिक सवारी साधनहरुमा सीट क्षमता भन्दा बढी यात्रु ओसारपसार नगर्न, नगराउन यातायात व्यवसायीलाई अनुरोध गर्ने निर्णय बैठकले गरेको छ । बैठकले सर्वसाधारण नागरिकहरुलाई भीडभाड गरी यात्रा नगर्न अनुरोध समेत गरेको छ । यस कार्यको अनुगमन नेपाल प्रहरीले गर्ने छ ।

सार्वजनिक यातायातका सवारी धनीलाई यातायात चलाउनु अघि प्रत्येक दिन समय समयमा सवारीसाधनलाई ’डिस्इन्फेक्सन’ गर्न लगाउने निर्णय गरेको छ । यस्तै, आवगमनमा लगाएको प्रतिबन्धको कारणले आफ्नो मुलुक फिर्ता जान नसकेका विदेशी नागरिकहरुको भिषा अवधि नियमित गर्न निर्धारित भिषा अवधि भित्र आवेदन गरेमा प्रचलित कानून बमोजिम भिषा नियमित गरिने बताइएको छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा