
२५ माघ, काठमाडौं ।
आईसीसी विश्व क्रिकेट लिग–२ अन्तर्गतको त्रिकोणात्मक शृंखलामा नेपालले अमेरिकाविरुद्ध जित दर्ता गरेको छ। शनिबार त्रिवि क्रिकेट मैदान, कीर्तिपुरमा भएको खेलमा पहिला ब्याटिङ गरेको नेपालले अमेरिकाविरुद्ध ३५ रनको जित निकालेको हो।
अमेरिकाले टस जितेर फिल्डिङ रोजेपछि पहिलो ब्याटिङ गरेको नेपालले ४९ दशमलव दुई ओभर खेल्दै १९० रन बनाएको थियो। १९१ रनको लक्ष्य पछ्याएको अमेरिका ४४।१ ओभरमा १५५ रन बनाउँदै सबै विकेट गुमायो। उसका लागि इआन होल्यान्डले सर्वाधिक ७५ रनको पारी खेले । उनले ७ चौका हिर्काएका थिए। त्यस्तै क्यामेरोन स्टेभेन्सनले १९ रन तथा करिमा गोरले १० रन जोड्नबाहेक अन्य ब्याट्स्म्यानले दोहोरो अंकको स्कोर बनाउन सकेनन्।
नेपालका लागि करण केसीले ४ विकेट लिए भने सुशन भारीले ३ विकेट लिए। सन्दीप लामिछाने दुई विकेट लिए । कुशल मल्लले एक विकेट हात पारे।
यसअघि खराब सुरुवात गरेको नेपालका लागि भरपर्दा ब्याटस्म्यान शरद भेषावकर घाइते भएपछि उनको स्थानमा आएका सुवास खकुरेल तीन रनमै पेभिलियन फर्किएका थिए।
कप्तान ज्ञानेन्द्र मल्ल २१ रनमा आउट भएका थिए भने उपकप्तान दीपेन्द्रसिंह ऐरी शून्य रनमै पेभिलियन फर्किएका थिए। पारस खड्का १९ रनमा आउट हुँदा खेलको २१औँ ओभरमा आरिफ शेख दुई रन बनाएर पेभिलियन फर्किए।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।