जीवनका दुई खण्ड छन् । बाहिरी र भित्री । बाहिरी जीवनलाई संसारिक र भित्री जीवनलाई आध्यात्मिक जीवन भनिन्छ । शरीर, धन, सम्पक्ति, सम्बन्ध, सुख, सयल आदि संसाररिक जीवनको विस्तार हो । शान्ति, आनन्द, अन्तर खोज आदि आध्यात्मिक जीवनको विस्तार हो । यी दुवै जीवनमा सन्तुलन कायम भयो भने भित्र शान्ति र वाहिर प्रगति प्राप्त हुन्छ । अनि सबैले चाहेको सफल अनि आनन्दमय जीवन संभव हुन्छ ।
विश्वमा मानिसहरु संसारिक जीवनमा मस्त छन् । तर, जति नै सफलता प्राप्त गरे पनि संसारिक जीवन तनाव रहित हुन सक्दैन । फल वृक्षको टुप्पामा फलेपनि जमिन मुनी धसिएको जरा मजबुद नभइकन त्यो वृक्ष खडा हुनसक्दैन । तिनै जराको कारण फललाग्छ । फल संसारीक जीवन र जरा आध्यात्मिक जीवनको विम्व हो । आध्यात्मिक यात्रा नगरीकन संसारमा मानिसले आनन्दमय जीवन प्राप्त गर्न सक्दैन ।
भगवान कृष्णले मनुष्य जातीको लागि भित्री र वाहिरी जीवन विचको सन्तुलन कायम गर्ने अद्भूत सूत्रहरु दिएका छन् । कृष्णको सुत्रले मानिसलाई फलदेखि जारासम्मको यात्रा गराउँछ । त्यसबारे छोटकरीमा केही कुराहरु गरौँ ।
यो धर्तीका सबै मानिसहरु स्वस्थ, मस्त एवं संवृद्ध भएर बाँच्न चाहान्छ । गाँस, वास, कपास, सहवास, स्वास्थ, शिक्षा, मनोरञ्जन लगायत सबै उपलब्ध सेवाहरु उपभोग गर्न चाहान्छ । र यो स्वभाविक पनि हो । विहान उठेदेखि बेलुकी सुतेसम्म हरेक मानिस यसैको पछाडि दौडिरहेको हुन्छ । तर, दुर्भाग्यवस, आफ्ना धेरै चाहनाहरु पुरा नगरी मानिसहरु दौडिदा दौडिदै जीवन समाप्त पार्छन । केहीले सम्पूर्णकुराहरु उपभोग गर्छन तथापि भने जस्तो भएन भनेर असन्तोषमा छट्पटाउँदै छट्पटाउँदै जीवन सकिन्छ । सबै कुरा भएर पनि उनीहरु आनन्दित मनका साथ जीवनलाई विसर्जन गर्न सकिरहेका छैन ।
यो नियतिबाट मुक्त भएर आनन्दित जीवन बाँच्ने र मृत्युलाई पनि आनन्दपूर्वक नै स्वीकार गरी जीवनको यात्रा समापन गर्न भगवान कृष्णको कर्मयोग सूत्र महत्वपूर्ण छ ।
के हो कर्म योग ?
भगवान कृष्णलाई धर्तीमा कर्म योगका परम सुगन्ध मानिन्छ । संसारिक र आध्यात्मिक जीवनलाई सन्तुलित लयमा जोड्नको लागि कर्म योग सर्वश्रेष्ठ सुत्र हो । भागवत गितामा कृष्णले अर्जुनलाई यसबारे प्रष्ट पार्नुभएको छ ।
कर्म अर्थात काम जो हामी दैनिक जीवनमा गरिरहेका हुन्छौँ । योग अर्थात जोड्ने काम । हामीहरु स्कुलमा छँदा गणितमा योगफल निकाल्ने अभ्यास गथ्र्याैँ । योग अर्थात जोड्नु हो । के जोड्ने ? कसरी जोड्न ? वास्तवमा भगवान कृष्णले संसारीक जीवनलाई कर्ममार्फत आध्यत्मिक जीवनमा जोड्ने कर्मयोगको अतुलनिय र अचुक सूत्र दिनुभएको छ त्यसैले होला भागवत गीतलाई कर्मयोगको सर्वश्रेष्ठ ग्रन्थ मानिन्छ ।
हामीले हरेक दिन विभिन्न प्रकारका काम गर्छाैँ । कुनै पनि कर्मलाई तीन भागमा बाँड्न सकिन्छ । उद्देश्य, क्रिया र फल । जब हामी काम थाल्छौँ हाम्रो उद्देश्य हुन्छ । त्यो उद्देश्य पूरा गर्न हामी क्रिया वा भनौँ विभिन्न गतिविधि गर्छाैँ । हाम्रो निश्चित क्रिया पुरा भएपछि हामीलाई केही फल प्राप्त हुन्छ । हामी मध्ये धेरैको मूल ध्यान फलमा हुन्छ । भगवान कृष्ण भन्नुहुन्छः तिमी कर्मलाई साक्षी भावमा गर । जब दुईजना विच कुनै लिखित सम्झौता हुन्छ तेस्रो मान्छे साक्षीको रुपमा राखिन्छ । त्यो तेस्रो मान्छेले त्यहाँ भइरहेको सबै कामहरु हेर्नेमात्र काम गर्छ कुनै हस्तक्षेप गर्दैन । ठिक त्यसरी नै हामीले हरेक काम गर्दा साक्षीको भावमा गर्नुपर्छ । आफुले गरेको काम ऐनामा हेरे झैँ आफैँ हेर्ने ।
साक्षीभावमा काम गर्दा हामी फलमुखी हुँदैनौँ । कर्म गर्दा किन फलको आशा नगर्ने त ? फलको आशा गर्दा हाम्रो ध्यान फलमा मात्र हुन्छ र कर्म कमजोर बन्छ । राम्रो कर्म गरेपछि राम्रो फल त अवश्य आउँछ त्यसमा चिन्ता गर्न आवश्यक छैन । हामी सबैले कर्म अनुसारको फल प्राप्त गर्ने हो । जति कर्म राम्रो बन्छ फल पनि त्यति नै राम्रो प्राप्त हुन्छ । अर्काे कुरा फल हाम्रो हातमा हुन्न । कस्तो फल आउने हो भविष्यले बताउँला । हाम्रो हातमा त केवल कर्म गर्ने अवसर हुन्छ । आफ्नो हातमा हुँदै नभएको कुरामा किन ध्यान दिने ? किन तनावन लिने ? आफुले जे गर्न सकिन्छ त्यति राम्ररी गर्नुपर्छ बाँकी सबै कुरा उत्तम हुन्छ ।
हरेक दिन हामीले सानो तिनो जत्रो भए पनि कर्म गर्दा होसपूर्वक र भक्तिपूवर्क गर्न आवश्यक छ । यसो गर्नाले कर्म पूजा सरह बन्छ । हरेक मानिसले कर्म त गरिरहेका हुन्छन् तर भाव भने भक्तिपूर्ण नहुनसक्छ । अक्सर मानिसहरु आज दिन कसरी विताउने, त्यति काम कसरी सक्ने, काम सक्न पाए हुन्थ्यो । फल कहिले आउँला जस्ता अनेकौँ कुराहरु मन सोचेर कर्म गर्छन । शरीरले काम त गरिरहेको हुन्छ तर मन भने अन्तै कता हुन्छ । धेरैको ध्यान अन्त कतै हुन्छ । हृदयमा भाव सकारात्मक हुँदैन । यसले कामको लागि काम गरेको जस्तो मात्र हुन्छ ।
पुरै तन, मन र हृदयका साथ कर्म गरियो भने त्यसले मानिसलाई भगवानसँग जोड्न सक्छ । अथवा भनौ हामी हरदम आनन्दको क्षण प्रवेश गर्न सक्छौँ ।
कृष्ण निष्काम कर्मको कुरा गर्नुहुन्छ अर्थात कुनै पनि फलको आशा नराखी निर्लिप्त भएर कर्म गरे जीवन आनन्दमय बन्न सक्छ । संसारको केन्द्र नै कर्म हो । संसार कर्ममय छ । यही कर्म मार्फत हामीले संवृद्धि र आनन्द प्राप्त गर्दै आत्मज्ञान सम्मको यात्रा तय गर्न सक्छौँ । वाहिरी जीवनको अन्तिम गन्तव्य संवृद्धि हो भने आध्यात्मिक जीवनको गन्तव्य चाँहि आत्मज्ञान हो । तसर्थ कर्मयोगको नौकामा चढेर संसारको हरेक मानिस आत्मज्ञानको उच्च विन्दुमा पुग्न सक्छ ।
वाहिरी संसारमा हामीलाई संवृद्धि चाहिएको छ । निष्काम कर्म गरे हामीले सजिलै संवृद्धि प्राप्त गर्नसक्छौँ । विस्तारै यो यात्रालाई अघि बढाउँदै जाँदा हामी भित्री संसार अर्थात आध्यात्म तर्फ पनि अघि बढ्छौँ । यसरी हामीले संसारीक तथा आध्यात्मिक संसार विच सन्तुलन कायम गरी अघि बढ्न सक्छौँ । यदि जीवनका यी दुई पाटाहरु विच सन्तुलन भएन भने जीवन कष्टकर हुनसक्छ । अक्सर मानिसहरु भौतिक संसारमा निर्लिप्त हुन चाहान्छन तर यसले मानिसलाई पूर्ण आनन्द दिन सक्दैन किन कि संवृद्धिको कुनै सिमा छैन । तसर्थ आफ्नो आधारभूत आवश्यकता पूरा भएपछि जीवनको यात्रालाई आत्मज्ञान तर्फ मोड्न जरुरी छ जसले साँच्चै जीवनलाई सफल तथा आनन्दमय बनाउँछ ।
कृष्णजन्माष्टमीको पावन अवसरमा हामी पनि कर्मयोगलाई बुझौँ । कर्मयोगको यात्रा शुरु गरौँ । कर्मयोगी बनौँ । सन्तुलित जीवन जिउँने प्रयत्न गरौँ ।
विवेक विनयी
प्रीन्सिपल, जुगल स्कुलर कलेज, कपन तथा
विद्यालयमा नैतिक शिक्षा सिकाउन तयार पारिएको पुस्तक संस्कार (भाग १-५) का लेखक हुन ।