काठमाडौं – काठमाडौं निर्वाचन क्षेत्र नम्बर ४ मा काँग्रेस नेता गगन थापासँग हारेर लज्जा बोध गरिरहेका राजन भट्टराई र भीआइपी अपहरणकारीको तक्मा पाएका भक्तपुरका युवा नेता महेश बस्नेतबीच बालुवाटारमा ‘पद युद्ध’ भएको खुलासा भएको छ । चुनाव हारेदेखिनै प्रधानमन्त्री केपी शर्मा ओलीको किचन क्याविनेट बनेका भट्टराई र युवाहरुको दरो साथ रहेका बस्नेतबीच मन्त्री बन्न विषयमा युद्ध भएको हो ।
प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार समेत रहेका भट्टराई र ओलीका विश्वास पात्र बस्नेतको नाम पछिल्लो मन्त्रिमण्डल पुनर्गठनमा समावेश भएको थियो । भट्टराईको नाम परराष्ट्र मन्त्रीमा थियो भने बस्नेतको नाम गृह मन्त्रीमा । उनी दुबैलाई मन्त्री बन्नबाट रोक्न एक अर्काको भुमिका महत्वपूर्ण छ ।
बालुवाटारमा राजनको हालीमुहाली भयो भन्दै बेलाबखत महेश बस्नेतहरुले कुरा काट्ने गरेका थियो । नेपाल–भारत प्रबुध्द व्यक्तिहरूको समूह (इपीजी) मा नेपालका तर्फबाट राखिएका भट्टराईलाई त्यो बेलादेखि नै त्यो टोलीले रुचाएको थियो । विप्लव नेतृत्वको नेकपा, सीके राउत र थरुहटसँग भएका वार्तामा भट्टराईको अग्रसरताप्रति पनि उनीहरुले ईर्ष्या गर्दै आएका थिए । राजन एकपछि अर्को मोर्चामा सफल भएको देखियो भने बस्नेतका हरेक मोर्चाहरु असफल हुँदै आए ।
प्रधानमन्त्री ओलीले दुबै जनालाई मन्त्री बनाउने तयारी गरिरहेका बेलामा महेश बस्नेत निकटको टोलीले राजनका बारेमा अनेक कुराहरु गरेर अबरोध गर्न खोज्यो । त्यो कुरा थाहा पाएर राजन भट्टराई झन् आगो भएर निक्लिए ।
दुई साताअघि जसपाको महन्थ र राजेन्द्र समूहलाई भित्र्याउने क्रममा प्रधानमन्त्रीले परराष्ट्रमन्त्रीको गतिलो उम्मेदवार नपाएपछि राजनलाई नै बनाउने वचन दिएका थियो । त्यस्तै महेशलाई पनि गृह मन्त्रीको वचन दिइसकेका थिए ।
‘प्रधानमन्त्री के कुराले उहाँलाई मन्त्री बनाउन अघि बढ्नुभयो थाहा छैन । तर, उहाँमा संसद पुनर्स्थापना हुन्छ भन्ने विषयले राम्रैसँग घर गर्न थालेको छ । त्यसैले जसपातिरका सर्वेन्द्रनाथ शुक्लालाईसमेत रोक्न गैरसांसदलाई मन्त्री नबनाउने कार्ड फ्याँकिदिनुभयो । पुनर्स्थापित प्रतिनिधिसभामा एक एक बहालवाला माननीयको महत्त्व छ भन्ने उहाँलाई राम्रै जानकारी छ ।’ बालुवाटारको असन्तुष्ट पक्षका एक नेताले भने, ‘त्यति गर्दा पनि उहाँ भट्टराईको हकमा उक्त नियम लागू नहुने भन्दै हुनुहुन्थ्यो । तर,अन्तिम क्षणमा बस्नेतको समूहले संविधानको स्पष्ट व्यवस्थाबारे प्रधानमन्त्रीलाई सम्झाइदियो । संसद पुनर्स्थापना भयो भने त्यस्तो बेला राजनको मन्त्री पद क्षणभरमा जान्छ । किनभने ०७४ मा काठमाडौं ४ बाट गगन थापासँग राजनको हार भएको थियो । निर्वाचन हारेकाले उक्त संसदको कार्यकालभरि मन्त्री बन्न नपाउने संवैधानिक व्यवस्था छ ।’
राजनलाई मन्त्री बन्नबाट बस्नेतहरुको समूहले रोकेपछि राजन पनि के कम ? उनले बालुवाटारमा ग्याङ लिएरै डेलिगेशन गए । जसरी पनि महेश बस्नेतलाई गृह मन्त्री बनाउन हुँदैन भनेर अड्डी कसे । उनीहरुको अड्डीले धन्न रघुवीर महासेठले गृह मन्त्री पट्काई सकेका थिए । पछिल्लो समय प्रधानमन्त्रीलाई दह्रो ढाडस दिएका पोखराका युवा नेता खगराज अधिकारी गृह मन्त्रीका रुपमा सुटुक्क भुल्किएपछि दुबै पक्षलाई राहत भयो । दुवै जना मन्त्री बन्नबाट रोकिए ।