सत्तारूढ दल नेपाली कांग्रेसका सांसद डा. मीनेन्द्र रिजालले व्याख्यात्मक घोषणा भनिए पनि एमसीसी सम्झौतामा कुनै परिवर्तन नहुने बताएका छन् ।
आइतबार प्रतिनिधिसभाको बैठकमा सम्झौतामाथि सैद्धान्तिक छलफलका क्रममा बोल्दै उनले जुनसुकै व्याख्यात्मक टिप्पणी लेखिए पनि सम्झौताको बुँदा परिवर्तन नहुने स्पष्ट पारे ।
सत्तासाझेदार दलहरू नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी)का कारण प्रधानमन्त्री शेरबहादुर देउवाले लचकता देखाएर व्याख्यात्मक घोषणा गर्ने भनिए पनि त्यसो नगरिने उनले बताए ।
“कसैको मुज (जुँगा) निचा (मुनि) गर्न मिलेन भनेर त्यो व्याख्यात्मक टिप्पणी आवश्यक पर्यो । जति नारा लगाए पनि यो प्रावधान परिवर्तन हुँदैन । लचकता कांग्रेसले प्रशस्त देखाएको छ,” उनले भने, “धेरै जितेँ नभन्नुहोस् । सडकमा मान्छे उचाल्नुभयो । निर्वाचनअघि राष्ट्रघाती, पछि राष्ट्रवादी भन्दै हिड्नुभयो । चीन, अमेरिका, भारत सबैबाट सहयोग लिऊँ । नारा लगाएर मात्र लोकतन्त्र बलियो हुन्न । हिजो एकसाथ सत्तामा बस्दा यो अघि बढाएको हैन ?”
एमसीसी परियोजना ५३ देशमा लागु भइसकेको, १० देशमा कार्यान्वयनको अवस्थामा रहेको र १२ देशमा विकसित हुँदै गएको तथा दुई देशमा बन्द गरिएको भन्दै उनले नेपालमा मात्र यो लागु भएको जस्तो गरेर गलत बहस भइरहेको उल्लेख गरे ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।