शुक्रबार, साउन २९ २०८३
ताजा अपडेट

एसईईको सान्दर्भिकता


  • बिहिबार, साउन १५ २०७७
20.7K
SHARES

हाम्रो देशको विद्यालय शिक्षाको इतिहास बनेको एसएलसी परीक्षा, अहिलेको एसईई परीक्षा यस बर्षका लागि बर्तमान विश्वब्यापि कोरोना महाब्याधीले निलेको छ । यो महाब्याधी हाम्रो मुलुकमा मात्र नभएर संसारको दुई सय भन्दा बढी देशहरु शयर गर्दैछ । केही बर्षका लागि संसारकै आर्थिक तथा सामाजिक अनुहार यो महाब्याधीले परिबर्तन गर्ने कुरामा दुईमत रहँदैन । उद्योग, पर्यटन, कृषि, शिक्षा तथा सामाजिक परिवेशमा यसले गम्भिर असर छाड्ने चिन्ता सर्बत्र छ । विश्वव्यापि औद्योगिक, आर्थिक तथा सामाजिक क्रियाकलाप पूर्ववत लयमा फर्किन लाग्ने समयको पूर्वानुमान अहिले गर्न सकिने अवस्था छैन । यो महाब्याधीको प्रकोपको कारण विश्वको अनुहार बिफरले बिगारेको ब्यक्तिको अनुहार भन्दा गतिलो हुने देखिंदैन ।
कोरोना महाब्याधीले प्रथम चरणमा आफ्नो यात्रा शुरु गरेको विश्वका केही देशहरुमा अहिले क्रमशः उद्योग, पर्यटन, कृषि, शिक्षा तथा सामाजिक चहलपहल अघि बढ्दै गएका छन् । यसको यात्राको मध्यमा परेका देशहरु पनि क्रमशः यो महाब्याधी संगको लडाँई जित्ने आशामा रहेका छन् । यसले आफ्नो यात्राको अन्तिम बिन्दु तय गरेका देशहरुमा हाल यसको कहर तित्र्र छ । हाम्रो देशमा पनि यस महाब्याधिको चरित्र यै कोटिमा देखा परेको छ । हाम्रो देश लगायत संसारका केही देशहरुको यसको यात्रा अन्तिम यात्रा हुनेकुरामा हामीले विश्वास गरेका छौं । कोरोना संगको विश्वको लडाईमा अन्ततः मानव जातिले नै बिजय प्राप्त गर्ने छ । संसारका जुन जुन मुलुकहरुले यस महाब्याधीलाई स्वागत गरिसकेका छन् ती देशहरुका बालबालिकाहरु केही त पूर्ववत विद्यालय गैसकेका छन् भने केही देशका विद्यार्थीहरु विद्यालय जानका लागि तरखर गर्दै गरेका छन् । कतिपय देशका विद्यार्थीहरुका रोकिएका परीक्षाहरु पनि सकिएका छन् । कतिपय देशका विद्यार्थीहरु स्थगित गरिएका परीक्षाहरुमा धमाधम सामेल भैरहेका छन् । यो महाब्याधीको बाघछाँयामा परेका संसारका विद्यार्थीहरुको आसन्न परीक्षाहरु ती देशका सरकारहरुले स्थगित गरेका थिए । परीक्षा खारेज भने गरेका थिएनन् । जुन अहिले कि त सञ्चालन भै सके कि त सञ्चालनमा छन् । तर हाम्रो देशको सरकारले यही महाब्याधिको बुई चडेर इतिहासको एसएलसी अहिलेको एसईई परीक्षालाई नै बलि चडाएर महाब्याधिलाई भोग अर्पण गर्ने कलंक स्थापित गर्न तम्तयार भयो । कोरोना महाब्याधीको निहु बनाएर कम्तिमा पनि यस बर्ष (२०७६ साल) मा एसईइ दिन तयार विद्यार्थीहरुको उत्साह र भावनाको बलि चडाउन सफल भएको सरकार मुलुकको इतिहासको एसएलसी अहिलेको एसईई परीक्षाको चीरकालका लागि तेजोबध गर्न उद्धत छ ।
१९९० साल देखि सुरु गरिएको एसएलसी तथा अहिलेको एसईई परीक्षा, हाम्रो मुलुकको शिक्षा क्षेत्रको पुरातात्विक महत्वको विषय बन्न पुगेको छ । एसईइ परीक्षामा बर्षेनी सहभागि हुने विद्यार्थीहरुको उत्साह, प्रतिस्पर्धी भावना तथा नव युवा युवतीहरुको जोश यो परीक्षाको पर्याय भएको छ । अभिभावक, घर परिवार, समाज तथा राष्ट्र्मा एसईई परीक्षा फलको समयमा देखिने उमङ्ग यो परीक्षाको गहनताको द्योतक हो । उच्च श्रेणिमा परीक्षाफल प्राप्त गर्ने विद्यार्थीहरुलाई क्षणिक समयकै लागि भए पनि समाजको मात्र नभएर राष्ट्र्को “हिरो”हुने अवसर प्राप्त छ । केही ब्यक्तिहरुको ब्यक्तित्वको ईट यहीँ देखि सुरु भएको इतिहास पनि हाम्रो सामु प्रमाणको रुपमा रहेको छ । डा. बाबुराम भट्टराईको उच्च छबिको जग तत्कालिन एसएलसी हो भन्न अहिले हिचकिचाउनु पर्दैन् । वहाँलाई एसएलसी परीक्षाको जग माथि उठेर राष्ट्र् निर्माणमा सधैं सक्रिय रहन बल पुगेको भावना सायद ताजै छ । वहाँ र वहाँहरु जस्ता थुप्रै पात्रहरुको यहाँ चर्चा गर्न सकिन्छ । एसईई परीक्षामा प्रत्येक बर्ष उच्चतम श्रेणिमा नतिजा हत्याउने दर्जनौ ब्यक्तित्वहरु अहिले पनि यो समाजको प्रेरणाको श्रोत बन्नु भएकै छ । यो वा त्यो क्षेत्रमा रहेर वहाँहरुले सिङ्गो राष्ट्रलाई सेवा प्रदान गर्ने कार्यमा वहाँहरुको योगदान यद्धपि छ । यो यथार्थ हो ।
अहिलेको हम्रो सामाजिक र आर्थिक परिवेशमा बाह्र बर्ष देखि मलजल गर्दै हुर्काइएका आफ्ना सन्तनले कक्षा दश अर्थात एसईई समाप्त गरेपछि सानोतिनो जागिर गरेर भए पनि परिवारको भरथेग गर्छन् भन्ने सपना बुनेका अभिभावकहरुका लागि पनि एसईइ गतिलो औजार बनेको छ बर्तमान समय सम्म । उच्च शिक्षा हासिल गर्न यहीँ देखि बिदेशिने विद्यार्थीहरुको संख्या पनि उल्लेख्य छ । यदि एसईईलाई अहिले नै बलि चडाएको खण्डमा यिनीहरुको उच्च शिक्षा हाँसिल गर्ने तिब्र इच्छामा तुसारापात हुने नै छ । आर्थिक अभाव, पछौटे सामाजिक परिबेशको बाध्यात्मक अवस्थाले हज्जारौ विद्यार्थीहरुको चाहना एसईई सम्मको अध्ययन पश्चात बिदेशको श्रमबजारमा आफ्नो भबिस्य खोज्ने सपनामा पनि ठेश पुग्ने नै छ ।
सुनमा कसि लगाएर उजिल्याए झै आपूmलाई उजिल्याउने यन्त्र बनेको एसईई विद्यार्थीहरुका लागि मात्र हैन अभिभावक र समाजका लागि पनि सधै उत्सुकताको विषय बनेको छ । सरकारी चर्चामा रहेको अहिलेको एसईई परीक्षा सधैंका लागि खारेज गर्ने र यसलाई कक्षा बाह्र सम्म लम्ब्याउने प्रयत्नले निम्त्याउने अँध्यारा पक्षहरुको पनि चर्चा गर्नै पर्छ । भर्खरै एसईई दिने परिपाटीलाई बदल्यौ भने मुलुकका हज्जारौं विद्यालयहरुमा कक्षा एघार सञ्चालन गर्ने शैक्षिक जनशक्तिको अभाव छ । हज्जारौ विद्यालयहरुको भौतिक पूर्वाधार अपर्याप्त छ । विषयगत शिक्षक, विषयगत शैक्षिक सामग्री, पुस्तकालय तथा ल्यावहरुको अभाव छ । आर्थिक, प्रशासनिक तथा विविध पक्षका कारण कक्षा एघार सञ्चालन गर्न कैंयौं विद्यालयहरु सक्षम हुँदैनन् बर्तमान अवस्थामा । यो अहिलेको बस्तुगत यथार्थ हो । अहिलेको तथ्याङ्क अनुसार देशभर २७ हजार ७ सय ४ सामुदायिक विद्यालयहरु मध्ये २५ जना भन्दा कम विद्यार्थी संख्या भएका विद्यालयहरु ३ हजार छन् भने १०० भन्दा थोरै विद्यार्थी संख्या भएका विद्यालयहरु १५ हजार भन्दा वढी छन् भन्ने सरकारी आंकडा रहेको छ । यसमा निजी लगानीमा सञ्चालनमा रहेका विद्यालयहरुको सख्यालाई जोड्ने हो भने यो तथ्याङ्कको उचाई अझ बढ्न सक्छ । विद्यार्थी संख्याका आधारमा समग्र निजी लगानीका विद्यालयहरुको अवस्था पनि यस्तै रहेको छ । न्यून विद्यार्थी संख्या रहेका विद्यालयहरुले बाध्यात्मक परिवेशमा होस् वा लहड्मा या देखासेखिमा कक्षा बाह्र सम्म सञ्चालन गर्ने अवस्था रह्यो भने उनीहरुका लागि यो तह थप बोझ बन्न सक्छ । अर्कोतर्फ अहिलेको परिपाटि अनुसार कक्षा एघारमा पुगेपछि संकाय अनुरुपको विषय छनौट गर्ने पद्धति कायमै रहेको खण्डमा अधिकांश विद्यालयहरुका लागि अझ पेचिलो बिषय बन्न सक्छ । कक्षा दशमा अध्यापन गराईरहेको शिक्षकहरुलाई कक्षा ११ मा जबरजस्ती पढाउन दिँदा कक्षा सञ्चालनमा सहयोग त पुग्ला तर नेपालको शिक्षा क्षेत्रमा दीर्घकालीन समस्या ल्याउन सक्छ । अहिलेको अवस्थामा अन्यत्र अवसर प्राप्त नभएका, धेरै कमजोर पृष्ठमूमिका मानिस मात्र शिक्षमा आउने क्रम नरोकिएको र शिक्षण पेसाप्रति युवा जनशक्तिमा मोह जाग्न नसकेको अवस्थामा मुलुकभरका माध्यमिक विद्यालयहरुले कक्षा एघार सञ्चालन गर्ने अवस्था सिर्जना भएमा दीर्घकालीन असर पर्ने कुरामा दुईमत रहन सक्दैन ।
बढ्दो बेरोजगारी र आर्थिक अपर्याप्तताका कारण हुर्किदो उमेरका युवा युवतीहरु दश कक्षा उत्तिर्ण हुनासाथ रोजगारीका लागि स्वदेश तथा बिदेशमा भौतारिने अवस्थाको भर्खरै समाधान गर्न सकिने छाँट छैन हामीमा । लामो समय सम्म विद्यालय शिक्षामै अलमलिनु पर्ने यस पंक्तिका युवा युवतीहरुका लागि कक्षा बाह्र सम्मको विद्यालय शिक्षा पट्यार लाग्दो साबित हुनसक्छ । लम्ब्याईएको विद्यालय शिक्षाले हुर्किदो उमेरका युवाहरुमा पारिवारिक आर्थिक संकटको बोझ टाउकोमा बोकेर काँघमा किताबका झोला भिरेर विद्यालय धाउने धर्यता बिचैमा टुटन सक्छ । जसका कारण विद्यालय छाड्ने अर्थात पढाईलाई बिचैमा छाडेर श्रम बजार तिर लाग्नेहरुको संख्या अहिलेको संख्या भन्दा बढ्न सक्ने प्रवल सम्भावना रहन्छ ।
समाज र देशमा स्थापित मान्यता तथा परिवेशको बेवास्ता गर्दै एसईई परीक्षा खारेज गरिएको अवस्थामा विद्यार्थीले पढ्न र मिहिनेत गर्न अभ्यस्त रहेको अहिलेको परिपाटीमा ह्रास आउने सम्भावना दह्रो देखिन्छ । विगतमा सेन्टअप परीक्षा खारेज गरिँदा कक्षा दशमा अध्ययनरत विद्यार्थीमा स्वतः पास भईन्छ भन्ने गलत मानसिकताको विकास भएका कारण मिहिनेत गर्ने तथा अध्ययन गर्ने परिपाटिमा ह्रास आएको हामी सबैले अनुभव गरेकै छौं । विद्यार्थीहरुका लागि परीक्षा बोझ होईन अवसर हो भन्ने भावनाका साथ अध्ययन अध्यापनमा ब्यस्त गराउन सक्यौं भने उनीहरुमा पठ्न संस्कृतिको विकास हुनुका साथै प्रतिस्पर्धाको मनोबल उच्च हुन्छ भन्ने तर्फ पनि हामीले हेक्का राख्न जरुरी छ ।
मुलुकको राजनैतिक अवस्था, निर्धारित समयमा तोकिएको शैक्षिक बर्ष पुरा नहुने अवस्था, दिईएका परीक्षाहरुको नतिजाका लागि कुर्नुपर्ने अनिश्चित समय आदिका कारण हतप्रभ भएका विद्यार्थीहरु र तिनका अभिभावकहरुको संख्या पनि उल्लेख्य छ मुलुकमा । मुलुको यस्ताखाले अनिश्चित भविष्य बुझेका विद्यार्थी र अभिभावकहरु एसईई परीक्षाको नतिजा लगत्तै उच्च अध्ययनका लागि बिदेशिने गरेकाहरुको तथ्याङ्क पनि कम छैन हामीकहाँ । यो समुहलाई उच्च अध्ययनका लागि बिदेशिनबाट रोक्न सक्ने क्षमता भने निजी लगानीमा सञ्चालनमा रहेका विद्यालयहरु संग मात्र छ । बर्तमान अवस्थामा यो तर्कलाई खण्डित गर्न केही ब्यक्ति वा समूहले इच्छाए पनि यो अहिलेको बस्तुगत यथार्थता हो । बरु अहिले सञ्चालनमा रहेका निजी शैक्षिक संस्थाहरुलाई अझ परिप्कृत र जिम्मेवार बनाउँदै, बिदेशिने सैंयौंको संख्यामा रहेका यस्ता विद्यार्थीहरुलाई स्वदेशमै रोक्ने सार्थक प्रयास हुन जरुरी देखिएको छ । राजनैतिक तरलतामा क्रमश आउँदै गरेको कमि, तोकिएको समयमा शैक्षिक बर्ष पुरा गर्ने प्रतिबद्धता र नतिजाका लागि कुर्नुपर्ने पट्यारलाग्दो समयलाई सुधार गर्ने प्रतिबद्धता आम अभिभावक र विद्यार्थीहरु माझ पुर्याउन सकेमा बिदेशिने विद्यार्थीहरुको यो संख्यामा पनि उल्लेख्य कमि ल्याउन सकिन्छ । उल्लेखित प्रतिबद्धताहरु पुरा गर्ने र विश्वासको वातावरण तयार गर्ने कार्यमा निजी लगानीमा सञ्चालनमा रहेका विद्यालयहरुको संगठनले अहिले देखि नै यस तर्फ पाईला बढाउन आवस्यक छ । कक्षा दश अर्थात एसईईको नजिता पश्चात बिदेशिने विद्यार्थीहरुका लागि निजी विद्यालयहरुको संगठनको समेत सहमति पत्र अर्थात नो अब्जेक्सन लेटर अनिवार्य गर्ने परिपाटिको बिकास ग¥यौं भने पनि अत्यावश्यक बाहेकका विद्यार्थीहरु स्वदेशमै अडिने वातावरणको थालनी हुन्छ । अझै पनि निजी विद्यालयहरुको सार्मथ्यलाई दुत्कार्दै गयौं भने शिक्षा क्षेत्रका नीति निर्माताहरुका लागि “भिरबाट लड्ने गोरुलाई रामराम भन्न सकिन्छ तर काँध हाल्न सकिदैन” भन्ने नेपाली उखान चरितार्थ हुन्छ ।

पारसमणि दाहाल
उप महासचिब
नेसनल प्याव्सन, केन्द्रिय समिति
Email: [email protected]


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा