शुक्रबार, साउन २९ २०८३
ताजा अपडेट

स्थगित एसईई र यसको प्रभाव

विद्यार्थी कम जाँगरिला र कम मेहेनती भए, परिणाम सिङ्गो एसईई परीक्षा प्रणाली निरर्थक साबित गर्ने बलियो हतियारको रुपमा प्रस्तुत भयो...


  • शुक्रबार, जेष्ठ ३० २०७७
24.5K
SHARES

यस बर्ष झण्डै चार लाख बयासी हजार विद्यार्थीहरुले एसईई परीक्षा दिदै थिए । परीक्षार्थीकोे मनमा प्रश्न उब्जिएको थियो । के यस बर्ष एसईई दिन पाईन्छ ? मनोबैज्ञानिक त्रासले बिचलित थिए नव युवा/युवतीहरु यस बर्ष । कोरोनाको त्रासले विश्वलाई गाँजेको अवस्थामा घरमा नै बन्दी भएका थिए यी जिज्ञासाहरु । विद्यालयबाट टाडा, शिक्षकको सम्पर्कमा नरहेका, अभिभावकहरुको पिडाको साक्षि बनेका यी विद्यार्थीहरुका प्रश्नको उत्तर झण्डै चार महिना सम्म कसैले दिन जरुरी ठानेका थिएनन् । शिक्षा मन्त्रालय मौन थियो । सिङ्गो सरकार मौन थियो । सञ्चार माध्यममा यदाकदा आउने चर्चा नै सूचनाको श्रोत बनेको थियो । विद्यार्थी र अभिभावकहरुका लागि । कहिले एसईई दिनै पर्दैन । त कहिले एसईई नदिई वा नदिलाई हुँदैहुँदैन ! केही स्वनामधन्य शिक्षाविद्को तर्क थियो किन चाहियो एसईई अबको जमानामा । सरकारले किन परीक्षा लिनु प¥यो ? स्कूलले सर्टिफिकेट दिए त भै हाल्यो नि । अर्को कोणबाट अर्को तर्क प्रस्तुत गर्थे बुझक्कडहरु एसईई नदिइ नदिलाई हुँदै हुँदैन । हाम्रो परम्परा हो एसईई । यो परीक्षा मूल्याङ्कनको सर्बोकृष्ट बिधि हो । त्यसकारण एसईई दिनै पर्छ ।

एसईई दिन तम्तयार भएर बसेका यस बर्षका परीक्षार्थीहरुका उर्बर समय तर्क र बहसका बिच चार महिना बितिसके । विद्यार्थीहरु आज सम्म पनि मानसिक पिडाका सिकार भएका थिए । एसईई हुँदैन त हुँदैन । तर, के कारणले हुँदैन । हुन्छ भने कहिले हुन्छ । हामीले दिने परीक्षाको तयारी गर्ने कि न गर्ने ? अभिभावकहरुले आफ्ना छोरा छोरीलाई तयारी अवस्थामा राख्न सहयोग गर्ने कि नगर्ने ? बाह्र बर्ष सम्म गरेको मिहेनतको फल प्राप्त गर्नका लागि कम्मर कस्ने कि नकस्ने ? सबै तिर अन्यौल छ । कारण बनेको छ कोरोना ! कोरोना नेपाललाई मात्र हैन आज सम्पूर्ण विश्वलाई नै निल्ने ल्याकत राखेर अघि बढि रहेको छ । विश्व नै यस महाब्याधिबाट त्राहिमाम बनेको छ । “बैंसमा स्याल पनि घोर्ले हुन्छ” भन्ने हाम्रो उखान छ । कोरोनाको बैंस ढल्किसक्यो । अब बिस्तारै यो बुढ्यौलि तिर लागेको छ । यसको कहर विश्वबाटै बुढोहुँदै गएको आभाष छ । सधैं यसले आतङ्क मच्चाउन सक्दैन । विश्वका थुप्रै मुलुकहरु यसबाट बिस्तारै त्राण पाउँदै छन् । हामीमा पनि यही कुरा लागु हुन्छ । सधैं यसको साम्राज्य टिक्दैन । तर हामी आतङ्कित बनेका छौं । सबै कामकाज ठप्प बनाएर कोरोनाकै भजन गाउँन ब्यस्त छौं ।

स्थगित भएको एसईई परीक्षा लगायत सबै परीक्षाहरुको तालिका सार्बजनिक गर्न डराएका छौं । विश्वका केही देश मात्र नभएर छिमेकी भारतले पनि कोरोना आतङ्ककै बिचमा बिभिन्न तहका परीक्षाहरु सञ्चालन गरिसक्यो । हाम्रा शिक्षाविद्हरुले चाँहि अध्यादेश निकालेर भएपनि अब परीक्षा नहुने वातावरण बनाउनु पर्छ भन्ने जिकिर गर्न थालेका थिए । केही देशले परीक्षा लिदैनन् भन्ने तर्क प्रस्तुत गर्दै विद्यार्थीले आफ्नो स्तर आफुैले जाच्न मिल्ने पद्धतिको बिकास गर्नुपर्छ भन्ने लङ्गडो तर्क पस्कने गरेका थिए । अहिले यही तर्कको बिजय भएको छ । सरकारले यस बर्षको एसईई परीक्षा स्थगित गरेको छ । सरकारको भर्खरैको निर्णयमा उल्लेख गरिएको छ “२०७६ सालको माध्यमिक शिक्षा (एसईई) परीक्षा नलिने र विद्यालयको आन्तरिक मूल्याङ्कनलाई नै परीक्षाको आधार मान्ने ” भनिएको छ । यो निर्णयले अहिलेको महाब्याधीको समयमा विद्यार्थी तथा अभिभावकहरुले सन्तोषको सास फेर्ने अवस्थाको सिर्जना त गरेकोछ । विद्यार्थीहरुको जिज्ञासा र मानसिक पिढामा मल्हम लगाउने काम त भएको छ यस निर्णयले । तर यो निर्णय सधैंका लागि र सबै एसईई परीक्षाका लागि हुनुहुँदैन भनेर सबै विद्यार्थी, अभिभावक तथा सम्बद्ध पक्ष भने सचेतहुन जरुरी छ । हामीले बिगत देखि अभ्यास गर्दै आएको सेन्टप परीक्षा खारेज गर्दा विद्यार्थीको पढाईको स्तर ह्वात्तै घटेको धेरै भएको छैन । पछाडी फर्केर हेर्ने हो भने त्यो अवस्था आलै छ । अझ केही बर्ष देखि लागु गरिएको ग्रेडिङ्ग पद्धतिले त झन विद्यार्थीहरुमा पठन संस्कृति हराएर गएको छ । मिहिनेत गर्ने हाम्रो परिपाटीमा खिया लागेको छ । शिक्षकहरु सिकाउन÷पढाउन पहिला जस्तो जाँगरिला छैनन् । किनकि नतिजा पहिल्यै थाहा छ । बिद्यार्थी जति सबै डेक्सबेञ्च सहित पास । शिक्षक मात्र उही कक्षा दोहो¥याउने ।

प्रतिष्पर्धाको सोच भुत्ते भयो । आफूलाई अब्बल देखाउने मौका तुहियो । मिहिनेतको फल मिठो हुन्छ भन्ने भनाई यहाँ सार्थक भएन । विद्यार्थी कम जाँगरिला र कम मेहेनती भए । परिणाम सिङ्गो एसईई परीक्षा प्रणाली निरर्थक साबित गर्ने बलियो हतियारको रुपमा प्रस्तुत भयो । समग्रमा हाम्रा होनहार र भबिष्यका उर्जावान शक्ति निष्प्राण हुँदै गएका छन् । हाम्रो शिक्षा प्रणाली भुत्ते औजार निर्माण गर्ने कारखानामा रुपान्तरित हुँदै गएका छन् । इस्पातिलो, जागरुक र भविष्यको चुनौतिलाई सामना गर्न सक्ने अब्बल नागरिक तयार गर्ने पद्धतिको खाँचो छ । परीक्षा चाहे एसईई होस् वा अन्य कुनै यो आफैमा कसिलो मापदण्डको औजार हो । परीक्षाको तयारी गर्नु पर्दा जो कोहीलाई पनि गम्भिर बनाउन बाध्य पार्छ परीक्षाले । अझ बाह्र बर्ष पढेर परीक्षा दिई आफूलाई समाजमा अब्बल दर्ज गर्न हौसिएका तन्नेरीहरुका लागि त यो अभेद्ध्य हतियार हो । यो हतियार विद्यार्थीहरु बाट खोसिदिँदा बिना गोलिको बन्दुक भिराएर लडाईमा पठाईएको सेनाको हालत हुन्छ यिनीहरुको ।

कोरोनाले त झन शिक्षा क्षेत्रमा नयाँ रक्त सञ्चार गर्ने जमर्को गर्दैछ । अनलाईन/भचुअल कक्षा सञ्चालनको नाममा । दुनियाँभरि शिक्षामा उच्च प्रविधिको प्रयोग गरिएको छ । यसमा दुईमत रहँदैन । प्रबिधिको प्रयोग सबैतिरको शिक्षामा गर्न जरुरी छ । समय सन्दर्भ अनुरुप हिँड्न हामी तयार हुनै पर्दछ । तर, छिमेकी हात्ती चड्यो भन्दैमा हामी धुरी चड्न सुहाउँछ ? भन्ने प्रश्न मात्र हो । शिक्षा तथा मानव संसाधन विभागको २०७५ को फ्ल्यास रिपोर्ट अनुसार निजी र सामुदायिक गरी ३५ हजार ५५ विद्यालय छन् हाम्रो मुलुकमा । यसमा बालविकासदेखि माध्यमिक तहसम्मका ८१ लाख ८८ हजार ४ सय ४३ जना अध्ययनरत रहेका छन् । उच्च शिक्षामा अध्ययनरतलाई पनि जोड्ने हो भने ९० लाख हाराहारी विद्यार्थी छन् अहिले मुलुकमा । तिनको परीक्षा, पठनपाठन, मूल्याङ्कन, कक्षोन्नति बारेमा कुहिराको काग बनेको छ शिक्षा मन्त्रालय । बिगतमा चलिआएको परीक्षाको तालिका सार्बजनिक गर्न नसक्ने मन्त्रालय अनलाईनको तालिका सार्बजनिक गर्न उद्धत छ । के हाम्रा सबै बालबालिका विद्धुतको पहुँचमा छन् ? सबै विद्यार्थीहरुलाई उपकरण उपलब्ध छ ? इन्टरनेटको पहुँच कहाँ सम्म पुगेको छ ? टेलिभिजन सबैलाई उपलब्ध छ ? रेडियो खरिद गर्न नसक्ने परिवार छन् हाम्रो मुलुकमा । विद्यार्थीलाई खाजाको आकर्षण देखाएर विद्यालयमा उपस्थित गराउनु पर्ने बाध्यता हामी कहाँ छ । यस्तो अवस्थामा अनलाईन/भर्चुअल कक्षा कत्तिको समय सापेक्ष ठहर्ला ? त्यसैले बर्तमान परिस्थितिको सामना गर्ने हिम्मत सबैले जुटाउनु पर्छ । उचित स्वास्थ्य सुरक्षा, भय रहित शैक्षिक वातावरण सिर्जना गर्दै जति सक्दो चाँडो विद्यार्थीहरुलाई विद्यालय आउने वातावरण तयार गर्नु पर्दछ । रोकिएका सबै परीक्षाहरुको कार्यतालिका यथाशिघ्र प्रकाशन गर्नु पर्दछ । गुम्सिएका जिज्ञासाहरुको उचित निकास दिनु पर्दछ । नतिजा प्रकाशनको पट्यार लाग्दो समय कुराईले कक्षोन्नतिमा भएको ढिलाईलाई सच्याउनु पर्दछ । कोरोनाको कोसेलीको रुपामा हामीलाई प्राप्त अनलाईन/भर्चुअल कक्षा अर्थात अहिलेको बैकल्पिक शिक्षा कार्यक्रम कोरोना संगै सति जाने अवस्थालाई रोक्नु पर्दछ । यो कोसेलीलाई कोरोना कहरको समयका लागि विकल्पको रुपमा लिने वातावरण बनाउनु पर्दछ । कोरोना पछि पुरक सामग्रीको रुपमा प्रयोग गर्ने स्पष्ट नीति, अभ्यास, तालिम र उचित लगानी गर्ने सोचको बिकास गर्नुपर्दछ । अनि बिस्तारै यसलाई एक्काईसौं सताब्दिको चुनौति समाधान गर्न सक्ने हतियारको रुपमा विद्यार्थीहरुलाई पुरष्कारको रुपमा प्रदान गर्नु पर्दछ ।

पारसमणि दाहाल
उप-महासचिब
नेसनल प्याव्सन, केन्द्रिय समिति
email: [email protected]


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा