अहिले स्कुल जाने बालबालिकाहरुको पठनपाठनलाई लिएर रेडियो, टेलिभिजन, अनलाइन पत्रिका र सामाजिक सञ्जालहरुमा धेरै र ठूला ठूला बहषहरु चलिरहेका छन् । इन्टरनेटमा उपलब्ध सिकाई सम्बन्धी डिजीटल सामग्रीहरुको व्यापक प्रचार भइरहेको छ । अमेरिका, जापान जस्ता विकसित देशमा समेत ग्याजेट र इन्टरनेटका कारण पठन संस्कृतिमा ह्रास आइरहेको सन्दर्भमा हाम्रा बालबालिकाहरुलाई यो बेला पढ्न र लेख्नको लागि अनलाइन शिक्षा उत्प्रेरित गर्नु पक्कै सजिलो छैन । यो महिना दिन लामो लकडाउनमा बालबालिकाहरुको अवस्था के छ ?, अहिलेको अवस्थामा पढ्न र लेख्नको लागि मानसिक रुपमा तयार छन् कि छैनन् ?, सबै बालबालिकाको घरमा इन्टरनेटको सुविधा छ कि छैन ? सबै बालबालिका अनलाईन कक्षामा उपलब्ध हुन्छन् कि हदैनन् ? शिक्षक आफैँ अनलाईन कक्षाको लागि तयार छन् कि छैनन् ? जस्ता कुराको हेक्का नै नराखी कतिपय स्कुलहरुले के के न बिते जसरीे अनलाईन भर्ना र अनलाईन कक्षा सञ्चालन गरिरहेका छन् । अभिभावकहरुलाई इन्टरनेट जोड्नका लागि दबाव दिइरहेका छन् ।
चैत ११ गतेदेखि हालसम्मको महिना दिन लामो लकडाउनमा अधिकांश अभिभावकको साझा समस्या आफ्ना बालबच्चाहरुको मोवाइल चलाउने र टिभी हेर्ने रहेको छ । छोराछोरीले मोबाइल चलाएर हैरान लगाएको र दिनभर इन्टरनेटमै झुम्मिएको भन्ने गुनासोहरु सुनिन थालेका छन् । अहिले बालबालिकाहरु ढोका थुनेर घण्टौं इन्टरनेटमा बिताइरहेका छन् । नियमित कक्षा चलिरहदै त बुवा आमाको आँखा छल्दै कोठामा चुकुल लगएर रातको दुइ/तीन बजेसम्म पब्जी र फ्री फाएर खेलेर राता राता आँखा लिएर स्कुल जाने, स्कुलमा दिन भरी झुल्ने, पिरियड नै पिच्छे उघ्ने र हाँई गर्ने, महिना दिनसम्म पढाउदा पनि एक अक्षर नसिक्ने विद्यार्थीका लागि अनलाईन कक्षाले मोबाइल चलाउने कुरालाई वैधानीकता दिने देखिन्छ । यसले हरेक अभिभावकलाई बालबालिकाहरुले जतीखेर नै मोबाईल हेरेर पढिरहेको छु भन्ने बहना बनाउन मिल्ने बनाउछ । यसले मोबाईलको प्रयोग अनियन्त्रित हुन्छ । अनलाईन कक्षाको बहानामा बिद्यार्थीहरुले इन्टरनेटको दुरुपयोग गर्न सक्छ र कालन्तरमा इन्टरनेट र मोबाइल एडिक्ट बन्न सक्छन् ।
अनलाइन शिक्षाले पार्ने असर
हालसालै गरिएको एक अध्यायनले अत्याधिक मोबाइल प्रयोगका कारण बालबालिकामा नसुत्ने, छटपटाउने, नखाने, मोटाउदै वा दुव्लाउदै जाने, ढाँड तथा टाँउको दख्ने र बिरामी पर्दै जाने समस्या देखिने बताएको छ । विश्व स्वास्थ्य संगठनले ‘डिजिटल ड्रग’ भनेर घोषणा गरेको ग्याजेटहरुसँग बालबालिकाहरुको दैनिकी बित्दा गेमिङ डिसअडर एवं रेडिएसनको जोखिम बढेको पाइन्छ ।
चिकित्सकका अनुसार मोवाइलको स्क्रिनमा धेरै समय बिताउने बच्चाको आँखा, मष्तिक तथा मुटुमा समेत असर पर्ने गर्दछ । उनिहरुले पहिलो ६ वर्षका बच्चामा मस्तिष्क तीब्र रुपमा विकसित हुने भएकाले एक पटकमा १० मिनेटभन्दा बढी स्क्रिन हेर्नु वा चलाउनु घातक हुने, दैनिक ५ घण्टाभन्दा बढी समय मोवाइलमा बिताउने बच्चाहरुमा रोगको खतरा हुने चेतावनी दिन्छन् । अझ ९ देखि १० वर्षका बच्चाले अत्याधिक मात्रामा मोवाइल चलाएमा यसले मस्तिष्कको बाहिरी पत्रमा समस्या देखा पार्ने र मष्तिक निष्क्रिय बनाउने गर्दछ । स्क्रिनमा अत्यधिक समय बिताउने बालबालिकामा मायोपिया वा नजिकको वस्तु नदेख्ने समस्या देखा पर्ने हुन्छ । साथै मस्तिष्कको ग्रे–म्याटरको घनत्वलाई कम गर्दछ । अहिले स्कुलले अरु भन्दा फरक र उत्कृष्ट देखिन गरिएको यो वहानाले हाम्रो शैक्षिक प्रणाली नै बिगार्ने त होइन ? हरेक स्कुलले आफ्ना लागि कसरी सहज हुन्छ भनेर सोचिरहेका हुन्छन् । बालबालिकाका विषयमा सोच्दैनन् । स्क्रिन टचवाला ग्याजेटको प्रयोगले ब्रेनलाई कोकिन प्रयोग गरे जत्तिकै असर गरिरहेको एक अध्ययनले देखाएको छ । त्यसैले अहिले गर्न लागिएको अनलाइन शिक्षा बालबालिकाहरुको लागी लागु पदार्थ कोकिन प्रयोग गर्न दिनु सो सरह हुनेछ । भविष्यमा बालबालिकाहरुमा पर्न जाने यी संभावित जोखिमबाट कसले बचाउने ? अभिभावकको अगाडी यो जटिल प्रश्न तेर्सिएको छ । हामी बैशाखको पहिलो हप्तामा छौं र केहि महिना बालबालिकाहरुको पठनपाठन रोकिएर खासै फरक पर्ने केहि छैन । के–के न बिते जसरी अनलाइन शिक्षा शुरु गरिहाल्नु पर्ने देखिदैन । यी विषयमा अभिभावक सचेत हुनुपर्छ । शिक्षा मन्त्रालयले पनि अहिलेका परिस्थितिमा बैशाख १५ को लकडाउनको केही हप्ता पछि एसईईको परिक्षा र पठनपाठन शुरु हुन सक्ने बताइरहेको छ ।
लकडाउनमा बालबालिकाहरुलाई जीवन उपयोगी सीप सिकाऊ
यो लकडाउन त हाम्रा लागि एउटा सुनौलो अवसर पनि हो । यसलाई सकारात्मक रुपमा पनि बुझौ । अहिले नियमित पठनपाठन नभएपनि बालबालिकाका निम्ति यो अनुत्पादक समय होइन । विद्यार्थीलाई किताब नै पढाउनुपर्छ भन्ने छैन । विद्यालयमा उनीहरुले औपचारिक शिक्षा लिने हो । जबकी घरमा बसेर उनीहरुले जीवनोपयोगी शिक्षा लिन सक्छन् । जीवन र जगतलाई बुझ्न सक्छन् । आफ्ना परिवार र अभिभावकको निकट रहेर धेरै कुरा सिक्न, बुझ्न र अनुभव गर्न सक्नेछन् ।
सिकाइ झोला भिरेर, खाजा झुन्ड्याएर, स्कुल गएर, कक्षामा बसेर पढ्न थालेपछि मात्र हुन्छ भन्ने बुझाइ गलत छ, सिकाइ जहाँ पनि हुन्छ, आज घरमा बसेर कोरोना विरुद्धको लडाई लड्दै गरेका विद्यार्थीको सिकाई कक्षाकोठाको सिकाइभन्दा कम छैन् ।
आजभोली बालबालिकाहरुलाई भिन्नै प्रकारको शिक्षाको खाँचो छ । आजको शिक्षा प्रणालीले उनिहरुलाई खासै मुलभुत र व्यवहारिक कुरा सिकाउन सकिरहेको छैन । बालबालिकाहरु वर्षौसम्म अनुत्पादक शिक्षामै आफ्नो समय बिताइरहेका हुन्छन् । वास्तवमा स्कुले दिइरहेको शिक्षाले बालबालिकाहरु यो दुनियाको सामना गर्न सक्ने हुनेछन् भनेर सोच्नु मुर्खता हो । बालबालिकाहरु आफ्नो घरको धन सम्पतिको विषयमा स्कुलमा नभइ घरमै सिक्छन् । पैसा सम्वन्धी धाराणा वा सिकाइको बारेमा आफ्ना आमाबुवाबाट सिक्छन् । धन वा पैसा आर्जन सम्वन्धी विषय स्कुलमा पढाईदैन । बालबालिकाहरुले यि विषयहरु घरमै सिक्छन् । त्यस्तै बालबालिकालाई खाना बनाउन सिकाउनु पनि शिक्षा हो । कुन खानामा के पौष्टिक आहार हुन्छ भनेर जान्नु विज्ञान हो । कति चामलमा कति पानी हाल्ने भनेर सिक्नु गणित वा व्यवस्थापन हो । खाना बनाउन सिक्ने, भाडा माझ्न सिक्ने, तरकारी काट्न सिक्ने, घर सरसफाइ गर्न सिक्ने, लुगा धुन सिक्ने, घर वरपर भएका विरुवाको नाम र उपयोग जान्ने जस्ता सीप बाल्बालिकाहरुले स्कुलमा व्यस्त भएको हुनाले सिक्ने मौका पाएका हुदैनन् । यि कुरा सिक्ने सुनौलो अवसर हो यो । बुबासँग बारीमा गएर काम सिक्ने मौका यही हो । यो समय जीवनको उद्देश्य प्राप्त गर्ने एउटा मौका हो । आखिर शिक्षाको उद्देश्य नै जीवनको उद्देश्य चिन्ने र उद्देश्य साकार गर्ने उपाय पत्ता लगाउनु त हो । आफ्नो जिवनमा आइपर्ने हरेको समस्याको समाधान गरी जिवन सहज बनाउने सिप सिक्नु नै शिक्षा हो । यो लकडाउनको समयमा बालबालिकालाई यि नै जीवनोपयोगी शिक्षा दिन सकिन्छ र श्रृजनात्मक काममा लगाउन सकिन्छ ।
लेखक ठमिन्द्र खतिवडा चुनिखेलमा रहेको पिक प्वाइन्ट एकेडेमीका संस्थापक हुन् ।