एजेन्सी । फिफा विश्वकप कतार २०२२ को उपाधि पश्चात् अर्जेन्टिना फर्किएपछि खुसीयाली मनाउने क्रममा अनौठो हर्कत देखाएका कारण चर्चामा आएका गोलरक्षक एमिलियानो मार्टिनेज अहिले क्लब फुटबल खेल्न इंग्लिस प्रिमियर लिग (ईपीएल) फर्केका छन् । उनी आबद्ध एस्टन भिल्लाको विश्वकपपछि ईपीएलमा दुई खेल चलिसकेको छ ।
विश्वकप पछिको दोश्रो खेलमा गत राति भएको इंग्लिस प्रिमियर लिगको खेलमा एस्टन भिल्लाले कमालको जित निकालेको छ । मार्टिनेज आबद्ध रहेको एस्टन भिल्लाले शक्तिशाली टिम टोटेनहमलाई उसकै घरेलु मैदानमा पराजित गर्न सफल भएको छ । मार्टिनेज विश्वकपपछि क्लबमा फर्किए पनि मैदान छिरेका छैनन् । उनलाई प्रशिक्षकले वैकल्पिक खेलाडीको रूपमा राख्दै आएको छ ।
टोटेनहमकै घरेलु मैदानमा एस्टन भिल्लाले २–० ले पराजित गर्न सफल भएको छ ।
भिल्लाको जितमा इमिलिएनो बुइन्डा र डगलस लुइजले गोल गर्न सफल भए । टोटनहम हटस्पर स्टेडियममा आइतबार राति भएको उक्त खेल प्रतिस्पर्धात्मक बनेको थियो । खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिदा भिल्लाले दोस्रो हाफका दुई गोल गर्दै जित पक्का गर्न सफल भयो ।
प्रतिस्पर्धात्मक बनेको खेलको ५०औँ मिनेटमा इमिलिएनो बुइन्डाले गोल गर्दै पाहुना टोली भिल्लालाई १–० को अग्रता दिलाउन सफल भए । बुइन्डाले ओली वाट्किन्सको पासमा गोल गर्न सफल भएका हुन ।
यस्तै खेलको ७३औँ मिनेटमा डगलस लुइजले गोल गर्दै एस्टन भिल्लाको जित पक्का गरे ।
यो जितसँगै भिल्ला १७ खेलबाट २१ अङ्क जोडेर १२औँ स्थानमा रहेको छ । पराजित टोटेनहमले चौथो स्थानमा उक्लने मौका गुमाउँदा १७ खेलबाट ३० अङ्क जोडेर पाँचौँ स्थानमा छ ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।