१४ चैत्र, काठमाडौँ ।
नेकपा (माओवादी केन्द्र) बूढानीलकण्ठ नगर कमिटीले स्थानीय तहको निर्वाचन नजिक भएसंगै विशेष कार्यक्रमको आयोजना गरेको छ ।
भृकुटी चोक स्थित कपन पार्टी प्यालेसमा विशेष कार्यक्रमको आयोजना गर्दै बूढानीलकण्ठ नगर कमिटी अब सशक्त रूपमा अगाडी बढ्ने उद्घोष गरेको छ ।
नगर कमिटीका अध्यक्ष भाइ नारायण श्रेष्ठले नगरमा नेतृत्व गरे पश्चात् यो पहिलो ठुलो कार्यक्रम हो, एक नेताले केटिएम खबरलाई भने ।
नगर कमिटीको विस्तारित बैठक एवं राजनैतिक वैचारिक प्रशिक्षण कार्यक्रममा पार्टीमा आबद्ध व्यक्तिहरूका उल्लेख्य उपस्थिति रहेको थियो ।

आमन्त्रित अतिथिहरूले स्थानीय तहमा अबको जोडको विषयमा छलफल चलाउनु भयो । देशै भरबाट माओवादी केन्द्रको पक्षमा जनलहर ल्याउन गरिने गतिविधिको बारेमा जानकारी लिने महत्त्वपूर्ण अवसर प्राप्त गर्यौ सो कार्यक्रममा सहभागी श्रीकृष्ण श्रेष्ठले बताए ।
कार्यक्रमको मुख्य वक्ताको रूपमा केन्द्रीय सदस्य हिमाल शर्मा, बागमती प्रदेशका अध्यक्ष सरल सहयात्री रहेका थिए ।
नगर कमिटी अध्यक्ष श्रेष्ठ भन्छन्, ‘बूढानीलकण्ठ नगरपालिमा अघिल्लो पटकको निर्वाचनमा सोचे अनुसारको परिणाम ल्याउन सफल भएनौँ र अब परिणाममुखी काम गर्छौ । नगरमा पहिलो पार्टी बनाउने तर्फ हाम्रो जोड रहन्छ । अघिल्लो निर्वाचनको क्रममा हाम्रा प्रतिनिधिहरूले गर्नु भएको प्रतिबद्धताले कति पूर्णता पायो । यस विषयमा समीक्षा गरी रहेका छौँ । पक्कै हाम्रा प्रतिवद्धताहरुले पूर्णता पाएको छैन । यसका लागि नगर बासीसँग क्षमा माग्नुको विकल्प छैन । अघिल्ला कमी कमजोरीबाट सिक्दै आगामी मार्ग कोर्ने छौँ । आफ्ना स्वार्थ भन्दा माथि उठ्दै सिङ्गो नगर कमिटी जनमुखी काममा उद्धत रहन्छ । यसका लागि मैले नगर पार्टी पङ्क्तिलाई निर्देशन दिई सकेको छु ।’
‘कामहरूबाट नै नगर बासीको मन जित्ने हो । हिजो के भयो भन्दा पनि अब के गर्छौ भन्ने विषयमा हाम्रो जोड रहन्छ । जन अपेक्षालाई नजरअन्दाज गर्दैनौ’, श्रेष्ठले भने ।
यस्तै उक्त कार्यक्रममा प्रदेश सदस्य तथा क्षेत्र नं. ४ का इन्चार्ज विदुर खड्का, क्षेत्र नं. ४ का संयोजक सुरेश कर्माचार्य, बूढानीलकण्ठ नगर इन्चार्ज अमर बिक, क्षेत्र नं. ४ का सचिव डम्बर अधिकारी, क्षेत्र नं. ४ प्रदेश (क) का इन्चार्ज रबिन गुरुङ, प्रदेश परिषद् सदस्य राजेन्द्र श्रेष्ठ लगायत पार्टीसंग सरोकार राख्ने विभिन्न व्यक्तिहरूको उपस्थिति रहेको थियो ।
कार्यक्रम बिहान ११ बजेदेखि बेलुका ५ बजेसम्म सञ्चालन भएको थियो ।