मुलुकको कार्यकारी प्रधानमन्त्रीलाई लिखित पत्राचार गरेको भन्दै राष्ट्रपति विद्यादेवी भण्डारी विवादमा तानिएकी छन् । शुक्रबार राष्ट्रपतिको कार्यालय शीतलनिवास बोलाएर स्थानीय निर्वाचनबारे प्रधानमन्त्रीलाई सचेत गराएपछि राष्ट्रपति भण्डारीमाथि सत्तापक्षबाट प्रश्न उठेको छ ।
निर्वाचनबारे प्रधानमन्त्री देउवालाई सचेत गराएको लिखित कागज बाहिरिएपछि राष्ट्रपति भण्डारीले संवैधानिक मर्यादा बिर्सिएको भन्दै विरोध सुरु भएको छ । सत्तारुढ दलका नेताहरूले राष्ट्रपतिको भूमिका सन्देहपूर्ण भएको टिप्पणी गरेका छन् । राज्य सञ्चालनबारे राष्ट्रपति र प्रधानमन्त्रीबीच भेटघाट हुनु स्वाभाविक मानिन्छ । तर राष्ट्रपतिले प्रधानमन्त्रीलाई आशङ्का मिश्रित पत्र थमाएपछि तरङ्ग पैदा भयो ।
सत्तासीन काँग्रेसका महामन्त्री गगन थापाका अनुसार राष्ट्रपतिले कुनै विषय छ भने भेटघाटमा प्रधानमन्त्रीलाई सोध्नुपर्ने थियो । ‘स्थानीय चुनावबारे तयारी के छ ? कसरी सोच्नु भएको छ ? के सोच्नुभएको छ भनेर सोध्नुपर्थ्यो,’ थापाले भने, ‘त्यसपछि प्रधानमन्त्रीको बिफ्रिङका आधारमा राष्ट्रपतिको प्रतिक्रिया आउनुपर्ने थियो ।’
राष्ट्रपति भण्डारीले भने देउवासँगको भेटमा कसैको पत्र बोकेर बसेको जस्तो व्यवहार देखाइन् । प्रधानमन्त्री देउवा शीतल निवास पुग्दा राष्ट्रपति भण्डारी पत्र बोकेर बसेकी थिइन् । महामन्त्री थापाले भने, ‘त्यो उहाँको पत्र नै होइन । सिधा कुरा त्यो नेकपा एमालेको भाषामा राष्ट्रपतिले थमाएको पत्र थियो ।
थापाका अनुसार हाम्रोजस्तो संवैधानिक राष्ट्रपति भएको देशमा उनीहरूको अभ्यासबाट नजिर स्थापित हुँदै जान्छ । ‘अस्ति प्रधानमन्त्री केपी शर्मा ओलीले पटक–पटक संसद् विघटन गर्दा उहाँले अवलम्बन गर्नुभएको उपाय, राष्ट्रपति कार्यालयको गर्नुभयो दुरुपयोग जगजाहेर छ,’ उनले भने ,‘त्योबेला संविधानको धज्जी उठाएर संसद् विघटन गर्दा एकपटक पनि राष्ट्रपतिले प्रश्न उठाउनुभएन ।