शुक्रबार, साउन २९ २०८३
ताजा अपडेट

चारबाट दुईमा झरे पौडेल पक्षका सभापति आकांक्षी


  • बुधबार, मंसिर २२ २०७८
10.9K
SHARES

नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा शेरबहादुर देउवासँग सभापतिमा प्रतिष्पर्धा गर्न वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले सर्वसम्मत उम्मेदवार बनाउने प्रयत्न गरिरहेको छ।

बुधबार बिहानसम्मको परिदृश्य हेर्दा पौडेल पक्षबाट सभापतिका आंकाक्षीहरू चारबाट दुई जनामा झरेका छन्। सभापतिमा दाबी गरिरहेका महामन्त्री शशांक कोइरालाले मंगलबार नै सहमतिका लागि आफू छोड्न तयार रहेको बताएका थिए।

बुधबार बिहान बत्तीसपुतलीस्थित अनुपम फुडल्यान्डमा आफू पक्षीय नेता/कार्यकर्तासँगको छलफलमा वरिष्ठ नेता रामचन्द्र पौडेलले पनि साझा उम्मेदवार बनाउन सभापतिमा आफ्नो दाबी छोड्ने बताएका छन्।

बत्तीसपुतलीमा आफूनिकट जिल्ला सभापति, पूर्वजिल्ला सभापति र काठमाडौंमा उपलब्ध महाधिवेशन प्रतिनिधिहरूसँग छलफल गरेपछि पौडेल कांग्रेस नेता कृष्णप्रसाद सिटौलालाई भेट्न उनको चन्डोलस्थित निवासमा पुगेका छन्। १३ औं महाधिवेशनमा सभापतिमा उम्मेदवारी दिएका सिटौलाको कांग्रेसमा आफ्नै गुट छ। पछिल्लो समय उनले सभापति देउवालाई सघाउँदै आएको देखिन्छ। सिटौलासँग कुरा गरेर पौडेल फेरि बत्तीसपुतली नै फर्कने कार्यक्रम छ। पौडेल र कोइरालाले दाबी छोडेपछि अब उक्त समूहमा सभापतिका आकांक्षी दुई जना छन्: शेखर कोइराला र प्रकाशमान सिंह।

उनीहरू दुई जना भने एक-अर्कालाई छोड्न तयार देखिएका छैनन्। पौडेल समूहका युवा नेताहरूले एकमात्र उम्मदेवार बन्नु पर्ने विषयमा दबाब दिँदै आएका छन्।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा