के हो भिगन ?
भिगन भन्ने शब्दलाई ठेट नेपाली भाषामा अनुवाद गर्ने शब्द भेटीदैन । भिगनलाई ‘विशुद्ध शाकाहारी’ भनेर नेपाली हरुले बुझने गर्छन भिगनहरुले माछा मासु मात्र हैन मह र दुध जन्य खानेकुराहरु पनि खादैनन् ।
अहिले पृथ्वीको कुल जनसंख्या सात अर्बको हाराहारीमा रहेको अनुमान छ । जसमध्ये शाकाहारीको संख्या ३५ करोडभन्दा धेरै रहेको अनुमान गरिन्छ । द इकोनोमिस्ट’ले गरेको अनुमान अनुसार संसारभर १५ लाखको हाराहारीमा भिगनहरू छन्, जो बितेको एक दशकमा ह्वात्तै बढेको बताइन्छ ।
मासु खानेहरुलाई शाकाहारीको जीवन कठिन लाग्न सक्छ, शाकाहारीलाई भिगनको खानपान । कतिपयले त मुखै फोरेर भन्छन्, शाकाहारी र भिगनले शरीरलाई आवश्यक पौष्टिक तत्व कसरी प्राप्त गर्छन् ? त्यो सबै बुझाइमा आउने फरकपनको दोष हो । तर जन्मैदेखि भिगन बनेकाहरूमा समेत पौष्टिक आहारको कमी देखिँदैन ।
मान्छे के कारणले भिगन बन्छ त ? विश्वभरको उदाहरणलाई हेर्ने हो भने एउटा हुन्छ जनावरप्रतिको प्रेम, अर्को शारीरिक स्वास्थ्य र तेस्रोमा पर्यावरणप्रतिको सचेतना । यसमध्ये पनि जनावरप्रतिको प्रेम र शारीरिक स्वास्थ्य मुख्य कारण हो । नेपालको हकमा विशेषगरी शारीरिक स्वास्थ्य र जनावरको प्रेमका कारण भिगन बनेको सुनाउनेहरु धेरै भएपनि यसबारेमा अध्ययन भएको छैन ।
के-के खान्छन् भिगनहरु ?
भिगनहरुले खाने अन्न एवं गेडागुडीबाटै सबै परिकार बनाउने गर्छन् । जस्तो, सिताके च्याउबाट भिगन मिट बन्छ, भटमासबाट दूध बन्छ । यसरी दुग्ध एवं मासुजन्य परिबारबाहेक पनि धेरै पौष्टिक परिकारहरु तयार हुन्छन् ।’ नेपाल र विश्वभरका भिगनहरुले खाने परिकारहरु यस्ता छन् ।
– फलफूल तथा तरकारी
– भट्मासको दूध
– नरिवलको दूध
– बदामको दूध
– चामलको दूध
– काजुको दूध
– अन्न तथा गेडागुडी
– ड्राइ फ्रुट्स
– जडीबुटी मसला
– च्याउ
– तोफु
भिगनहरु के-के खाँदैनन् ?
– मासु एवं मासुजन्य परिकार
– दूध एवं दूधजन्य परिकार
– मह
– मिठाई
भिगन खाद्य संस्कारले मन र शरीरलाई शान्त तुल्याउने विश्वास गरिन्छ । यसको सेवनले शरीरको तौल सन्तुलित राख्नुका साथै शरीरलाई आवश्यक पोषकतत्व प्रदान गर्न मद्दत गर्छ । यसको सेवनले मुटु रोग, उच्च रक्तचाप, तथा क्यान्सर जस्ता रोगको जोखिम कम गर्न पनि सहयोग गर्छ भन्ने पोषणविद्हरुको मत छ ।