बुधबार, असार ९ २०७८
ताजा अपडेट

अब्बल शिक्षक, प्र.अ. हुँदै अब विज्ञ डोर सर !


  • राजेन्द्र बुढाथोकी
  • बिहिबार, जेष्ठ ६ २०७८
9.9K
SHARES

किशोर अवस्थामा शिक्षा क्षेत्रमा होमिएर तीन दशक लामो शिक्षा सेवालाई विराम दिएर विद्यालयबाट बाहिरिएको केही समय पश्चात उहाँलाई एक दलले देशकै शिक्षा क्षेत्रमा योगदान गर्न महत्वपूर्ण जिम्मेवारी दियो । शिक्षक, प्रधानाध्यापक हुँदै विज्ञसम्मको दुर्लभ यात्रा तय गर्ने उहाँ अर्थात डोरप्रसाद आचार्यले आज आफ्ना समकक्षी माझ शिक्षा क्षेत्रमा गर्विलो इतिहास निर्माण गर्न सफल हुनुभयो ।

यही सन्दर्भमा केही शब्दहरु लेखौँ कि भनेर कलम समातेको छु । यसको पछाडि दुई प्रमुख कारण छन् । पहिलो आफ्नै अनन्य मित्र, सहकर्मीले लोभलाग्दो उपलब्धि हासिल गरेकोमा मन पुलकित भएको छ र उहाँलाई शब्दहरु मार्फत बधाई र शुभकामना पनि दिन चाहान्छु । दोश्रो, उहाँलाई किन उक्त दलले विज्ञको रुपमा शिक्षा क्षेत्रमा राष्ट्रिय योगदान दिन काबिल ठान्यो ? यही सन्दर्भ र केही समसामयिक विषयमा माथापच्चीसी गरौँ । हामी सबैलाई उत्प्रेरण दिनसक्ने केही खुराकहरु अवश्य प्रष्फुटन हुनेछ ।

देशको राजधानी काठमाडौँमा औँलाको गन्तीमा गनिने महत्वपूर्ण शिक्षकहरु मध्ये एक डोरप्रसाद आचार्यलाई कपन स्थित अहिलेको सुविधा सम्पन्न बालउद्धार माध्यमिक विद्यालयको बलियो जग हाल्ने मुख्य श्रेय जान्छ । प्रा.वि.,नि.मा हुँदै मा.वि. सम्मको यात्रामा उहाँले प्रधानाध्यपक भएर बालउद्धारलाई एउटा अब्बल विद्यालयको यात्रामा अघि बढाउनुभयो । विद्यालयको भौतिक तथा गुणस्तीय विकासमा उहाँको योगदान उल्लेख्य छ ।
शिक्षा राष्ट्रिय पुरस्कारबाट दुई पटक (२०६६ र २०६९) सम्मानित हुनुभएका डोर सर क्षेत्रिय विद्यालय समन्वय समितिको कोषाध्यक्ष हुँदै पूर्व क्षेत्रिय विद्यालय समितिको अध्यक्ष समेत हुनुभयो । अर्काे तर्फ नेपाल शिक्षक संघ काठमाडौँ जिल्ला कार्यसमितिको पनि उहाँ सदस्य भई योगदान दिनुभयो । यसरी खोताल्ने हो भने डोरसरको वायोडाटाले निक्कै पेजहरु भर्न सक्छ । यसबाट हामीले उहाँको उल्लेख्य शैक्षिक क्रियाशिलतालाई उजागर गर्छ ।

हाल एक विद्यालयबाट विदा भए पनि डोर सर कपन वहुमुखी क्याम्पसमा २०६९ सालदेखि निरन्तर सहायक क्याम्पस प्रमुखको रुपमा कार्यरत हुनुहुन्छ । त्यस वाहेक कपन स्थित जुगल नवगुरुकुल भनेर नयाँ थिममा सहित संचालन भइरहेको संस्थागत विद्यालयको पनि उहाँ संस्थापक अध्यक्षको रुपमा पनि कार्यरत हुनुहुन्छ । गुरुकुल पद्दतीमा सिप,संस्कार र प्रिविधिलाई जोडेर नयाँ शिक्षा प्रणाली प्रार्दुभाव गर्दै गरेको जुगल पनि यस क्षेत्रमा चर्चा कमाइरहेको छ ।

सेवानिवृत्त हुन १२ वर्ष बाँकी रहदै विदा भएर जाँदै गर्दा उहाँले गरिव तथा जेहेन्दार विद्यार्थीको लागि छात्रावृत्ति प्रदान गर्न नगद रु एकलाख विद्यालयलाई प्रदान गरेर उहाँले सम्झनालायक विदावारी लिनुभयो । भव्य कार्यक्रम विच आफ्नो प्रत्यक्ष सेवालाई विराम दिएको घोषणा गर्दै गर्दा डोर सरको मुहारमा एक पृथक कान्ति देखिन्थ्यो । त्यो कान्तिले उहाँको आफ्नो उपलब्धिहरुको झण्डा फरफराइरहेको आभाष हुन्थ्यो ।
तर, लामो समयदेखि सँगै कार्यरत म लगायत धेरै साथीहरु, विद्यार्थीहरु, अभिभावकहरुको आँखा भने रसिलो बन्यो । कता कता उहाँको विदाईले खल्लो महसुस गरायो । तर, जीवन यात्रा यस्तै हो । आउने जाने भइ नै रहन्छ । मन त बुझाउनै प¥यो ।

बालउद्धार मा.वि.लाई उहाँले दिनुभएको योगदान जगजाहेरै छ । त्यसबारे धेरै बोल्नु परेन । तर, उहाँको वहुआयिमक व्यक्तित्वबारे केही घोत्लिन मन लाग्यो ताकी हामी सबैलाई प्रेरणा दिन सकोस् ।

काम गर्ने क्रममा सबैका राम्रा–नराम्रा पक्षहरु होलान् तर डोर सरले सधैँ भरि विद्यालय, विद्यार्थी, अभिभावक, शिक्षकसँग आशा र भरोषाको केन्द्रविन्दुमा रहेर बाल उद्धारलाई मात्र नभई समग्र काठमाडौँ जिल्लामा अब्बल, सक्षम, कुशल व्यवस्थापकको पहिचान बनाउन सफल हुनुभयो । वास्तवमा फर्केर हेर्ने हो भने डोर सरले यस क्षेत्रको शिक्षामा एउटा ‘नुतन घाट’ निर्माण गर्नुभयो । जति खेर उहाँले बालउद्धारलाई हाँक्दै हुनुहुन्थ्यो त्यो बेलाको देशको समग्र शिक्षा र यहाँको समाज दुबै निक्कै पछाडि थियो । त्यस्तो अवस्था पनि उहाँले विद्यालयलाई सहीरुपमा अगाडि बढाउनु भयो । शिक्षाको सन्दर्भमा उहाँको एउटा चट्टानी विश्वास र दर्शन थियो र छ । “कर्तव्यनिष्ठ शिक्षकहरुको शैक्षिक रेखदेखमा विद्यार्थी, अभिभावक हुँदै सिङ्गो समाज रुपान्तरण गर्नुपर्छ । त्यो समाजले क्रमिकरुपमा, क्षेत्र हुँदै देशलाई नै परिवर्तन गर्नसक्छ । अनि मात्र हामीले गरेको शैक्षिक सेवाको अर्थ रहन्छ । तर, रुपान्तरण आफैँबाट हुनुपर्छ ।”

उहाँले देश परिवर्तनको मुख्य अस्त्र शिक्षालाई मान्नु भएको छ । र, त्यसको लागि हरेक शिक्षकले पहिले आफुलाई परिवर्तन गर्नुपर्छ भन्ने उहाँको मत छ । निश्चित रुपमा शिक्षाले मात्र देश परिवर्तन हुनसक्छ । आज हामीले विकसित देशहरुलाई हे¥यौँ भने त्यहाँको अब्बल शिक्षा प्रणाली उजागर भएर आउँछ । तर, हामीले नेपालमा शिक्षालाई मामुली ठान्यौँ । शिक्षकहरुलाई मामुली ठान्यौँ । परिणाम स्वरुप देशले उल्लेख्य रुपमा फड्को मार्न सकिरहेको छैन ।

डोर सरले एउटा विद्यालय मार्फत विद्यार्थीलाई मात्र होइन सिंगो समाजलाई सिक्ने र सिकाउने विधि दिँदै समाजलाई सकारात्मक रुपान्तरणको दिशा देखाउनु भयो । उहाँले अभिभावक शिक्षालाई सधैँ महत्व दिनुभयो । बालउद्धारमा डोरलाई नचिन्ने अभिभावक साहेदै होला । प्रत्येक अभिभावकलाई उहाँले नाम थर र ठेगाना सहित चिन्नुहुन्थ्यो । यसो हेर्दा यो चिनजान भन्ने कुरा ठूलो होइन कि जस्तो देखिन्छ तर त्यस मार्फत उहाँले समाजको रुपान्तरणमा खेलिरहनु भएको भूमिका महत्वपूर्ण थियो । वास्तवमा परिवार र समाज संस्कारयुक्त भयो भने मात्र संस्कारी विद्यार्थी निर्माण संभव छ । र संस्कारयुक्त विद्यार्थी दक्ष हुँदै देश विकासमा लाग्न सक्छन् ।

अर्काे तर्फ आफुलाई परिवर्तन गरेर मात्र अरुलाई परिवर्तनको लागि निम्तो गर्न सकिन्छ भन्ने उहाँको विश्वास र प्रयास पनि महत्वपूर्ण छ । अहिले हरेक क्षेत्रमा मानिसहरुले समस्या अरुमा मात्र बढी देखिरहेका छन् । म त ठिक छु । अरु परिवर्तन होस भन्ने मनोकामना छ । तर, जुन दिन हामीले आफुलाई परिवर्तन गर्छाैँ त्यही दिनबाट दुनियाँ आफैँ परिवर्तन हुन्छ ।

एक सिद्धार्थ गौतम भगवान बुद्ध बने । दरबारबाट सिद्धार्थका दुई पाइला निस्केको थियो तर आज उनको दुई पाइलालाई करोडौँ पाइलहरुले पछ्याई रहेका छन् । यो अदुभूत तथ्य छ । डोर सरले सदैव हर क्षेत्रमा आफुलाई परिर्वतन गर्नुभयो । एक कुशल शिक्षक तथा प्रधानाध्यापकमा हुनुपर्ने सम्पूर्ण कौशालता उहाँले पहिला आफुमा उर्तानु भयो । त्यही परिवर्तनको धारमा उहाँसगै अरु पनि बगे र उहाँले आज यो उचाई बनाउनु भयो ।

शिक्षाप्रति उहाँको लगाव, प्रयास र सोच अनुकरणीय छ । आज काठमाडौँ जिल्ला भरी नै डोर सरलाई श्रद्धापूर्वक नियाल्ने मानिसहरुको ठूलो संख्या छ । एउटा शिक्षकले पाउने यो भन्दा ठूलो उपहार अरु के होला र ?

शिक्षासँगै उहाँलाई समाज सेवामा पनि उत्तिकै लगाव छ । यहाँका अधिकांश मठमन्दिर, क्लवहरु, महिला समूहरु, विकास निर्माणका कार्य आदि विभिन्न क्षेत्रमा उहाँले तन, मन र धन दिएर सहयोग गर्नुभएको छ । आफ्नो व्यक्तित्वलाई सकेसम्म उहाँले फैल्याउनुभएको छ । जसको यो समाजले त कदर गरेकै छ त्यो भन्दा नि देशको सबैभन्दा पुरानो पार्टी नेपाली कांग्रेसले पनि यसको उच्च मुल्याङ्कन गरेको छ । यसले प्रतिभाशाली व्यक्तिहरुलाई उत्साह जगाएको छ ।

भर्खरै नेपाली कांग्रेसको केन्द्रिय नीति,अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले उहाँलाई प्राथमिक शिक्षा तथा बालबालीका विषयगत समितिको विज्ञको रुपमा नियुक्त गरेको छ । एउटा निवृत्त शिक्षकलाई फेरि राष्ट्रिय रुपमा शिक्षा क्षेत्रमै काम गर्न प्रेरित गर्नु प्रशंसयोग्य छ । यस्तो कदमको लागि पार्टी पनि धन्यवादको पात्र बनेको छ ।

यती उल्लेख गर्दै गर्दा यही पृष्ठभूमिमा एउटा महत्वपूर्ण विषय उजागर भएर आउँछ । त्यसलाई पनि छुन मन लाग्यो । त्यो विषय छः शिक्षक र राजनीति । डोर सर त निवृत्त भएर गइसक्नु भयो । तर, कार्यरत धेरै शिक्षकहरुलाई एउटा प्रश्नको झटारो सधैँ आइरहन्छ ।
शिक्षक भएर राजनीति गर्नुहुन्छ ?
शिक्षकको काम पढाउने हो कि राजनीति गर्ने ?
यो विषयमा डोर सर सित पनि मेरो लामै विचारविमर्ष भयो । हामी दुवैको कुराहरु लगभग उस्तै छ । शिक्षकलाई राजनीतिसँग जोड्दै गर्दा राजनीति के भन्ने सन्दर्भमा मेरो केही समझ राख्न चाहान्छु ।

राज्यलाई विकास गर्ने नीति नै राजनीति हो । यदि कसैले राज्यलाई विकास गर्ने नीतिसँग जोडिर धेरथोर भए पनि योगदान गर्न मन छ भन्यो भने उसले पाउने कि नपाउने ? निश्चित रुपमा पाउँनुपर्छ । यस्तो देश विकासको नीति जोसुकैले गरे हुन्छ भन्ने मलाई लाग्छ ।
अलि गहिरिएर हे¥र्याे भने राजनीति भन्ने कुरा “गर्ने” भन्दा पनि “हुने” रहेछ । पिरती आफैँ हुँदै रहेछ भने जस्तो राजनीति थाहै नपाई हुने रहेछ । मेरो ख्यालमा समाजमा हरेक मानिसहरु थाहा नपाइ राजनीतिको मैदानमा प्रवेश गर्दा रहेछन् । माछाको लागि पानी र मानिसको लागि राजनीति उस्तै हो । हरेक मानिस राजनीतिले घेरिएर रहेको हुन्छ । एउटा नागरीक राजनीतिलाई नछोइकन बाँच्न सक्दैन । कसरी ?

देशको नागरीक भएपछि भोट हाल्नुपर्छ । भोट हाल्नु नागरीकको कर्तव्य हो भनेको सबैले सुनेकै छ । भोट हाल्नुलाई पार्टी चिन्नु प¥र्याे । नेता चिन्नु प¥र्याे । पार्टी र नेता चिन्ने क्रममा मानिस राजनीतिक मैदानमा प्रवेश गरिहाल्छ । भोट हाल्ने कार्य आँखामा पट्टी बाँधेर घैँटो फुटाको जस्तो होइन ।
यसो विचार गरौँ त । पार्टीसँग सम्बन्ध नभइकन (मन नपराइकन) भोट हाल्ने मानिसहरु कति होलान ? जस्तो सुकै तर्क गरेपनि नागरीकता लिएका सबैले कुनै न कुनै रुपमा कुनै एक पार्टीलाई समर्थन गरेकै हुन्छ । समर्थन गर्नु नै भित्र भित्रै कार्यकर्ता हुनु हो । अनि शिक्षक, डाक्टर, खेलाडी, कलाकार जो सुकै भए पनि राजनीतिक रंग त जबरजस्त लागि हाल्छ । शिक्षण पेशा नै बौद्धिक क्षेत्रमा पर्छ । तसर्थ शिक्षकले आफ्नो बौद्धिकता प्रस्तुत गर्न चाहान्छ । अतः कुनै पेशाकर्मीले राजनीति गर्नुहुँदैन भन्ने कुरा तर्क संगत छैन ।

अर्काे तर्फ शिक्षकले राजनीति गर्नुहुँदैन भनेर बहस गर्नेहरु राजनीतिक नेताहरु नै आफ्नो पार्टीसँग जोडिएको शिक्षक संगठन खोल्न लगाउँछन् । यस्तो संगठनहरु शिक्षा, स्वस्थ्य, कानुन, निजामति कर्मचारी, इन्जिनियर, पत्रकार सबै तिर छन् । धेरै जसो ति संगठनहरु कानुन सम्वत नै छन् । शिक्षाविद्हरु पनि शिक्षकलाई राजनीति भूमिमा पाइला टेक्न निषेध गर्छन । तर, फेरि उहाँहरु नै राजनीतिक नियुक्ति कुरेर बसेको देखिन्छ । शिक्षकले राजनीति ग¥र्याे भनेर औँला उठाउने एकजना गैर राजनीतिक मानिस म देख्दिन ।

अब विद्यालय भित्र प्रवेश गरौँ । पाठ्यपुस्तक हेरौँ । राजनीति महत्वपूर्ण विषय भएकोले माध्यमिक तहमा राजनीतिबारे महत्वपूर्ण अध्ययन सामाग्रीहरु राखिएको छ । विद्यार्थीहरुले पार्टीको घोषणा पत्रदेखि दलका नेताहरुको समेत जानकारी राख्नुपर्ने हुन्छ । राम्रो राजनीतिक समझ भएको शिक्षकले मात्र राजनीति राम्ररी पढाउन सक्छ । यो विषय विद्यालयमा केवल परीक्षाको लागि मात्र राखेको होइन । विद्यार्थीहरुलाई राजनीति सिकाउन पनि राखिएको हो । भोलि एउटा अब्बल विद्यार्थीले राजनीतिमा प्रवेश ग¥यो भने देश परिवर्तन हुन सक्छ । शिक्षकले राजनीति पढाउन हुने तर गर्न नहुने ?

डोर सरले शिक्षकहरु कसरी राजनीतिमा जोडिदा रहेछन् भनेर एउटा रोचक प्रसंग सुनाउनु भयो । सबैले असल शिक्षकको रुपमा चिन्न थाले पछि सबै पार्टीका स्थानीय, क्षेत्रिय र केन्द्रिय नेताहरुले म सित भेटघाट गर्न थाले । विभिन्न कार्यक्रमहरु बोलाउन थाले । सबै पार्टीहरुले अप्रत्यक्ष रुपमा निरन्तर पछि लागिरहे । हरेक पार्टीको नीति नै सबै शिक्षकहरुलाई आफ्नो समर्थक बनाउने ताकि समाजमा राम्रो प्रभाव छाड्न सकियोस् भन्ने हुन्छ । तर म श्रद्धेय नेता वि.पि.कोइरालको विरासत बोकेको पार्टी नेपाली कांग्रेसको विचार सित यस अघि नै जोडिसकेकोले अन्य पार्टीहरुको कुराले छोएन ।

डोर सरले भने झैँ धेरै शिक्षकहरुलाई यसरी नै विभिन्न पार्टीहरुले पछ्याइ रहेका छन् । र उनीहरु पार्टीमा क्रमशः आबद्ध भइरहेका छन् । कतिले अलि खुल्छन त कति भित्र भित्रै पार्टीमै झुल्छन् । तसर्थ शिक्षकलाई एकोहोर आरोप लागउनु उचित होइन ।

डोर सरले शिक्षकले राजनीति गर्नु मिल्छ भन्ने मत राख्नु भए पनि उहाँले त्यसको लागि केही सर्त राख्नु भएको छ । त्यसमा मेरो पनि सहमति छ ।
एउटा शिक्षक भएको नाताले मैले शिक्षक साथीहरुलाई राजनीति गरौँ भन्ने सन्देश दिन खोजेको विल्कुलै होइन । प्रसंगवस मैले शिक्षा र राजनीतिको भूमध्ये रेखामा उभिएर मुल्याङ्कन गर्न खोजेको हो ।

शिक्षकले, पहिलो र अन्तिम कुरो चाँहि शिक्षण धर्म सतप्रतिशत निर्वाह गर्नुपर्छ । शिक्षणमा पूर्णरुपमा इमान्दारीता निर्वाह गर्नुपर्छ । राज्यको तलब लिएर, केटाकेटीको शैक्षिक भविष्यको लागि आएका शिक्षकले शिक्षणमा अब्बल हुनुपर्छ । कम्तिमा आफ्नो अवधिभर उसको प्रथम पहिचान निश्चित रुपमा शिक्षककै हुनुपर्छ । विद्यालय परिसरमा राजनीतिको गन्ध छिर्नु हुन्न । राजनीतिको आडमा कसैमाथि आग्रह वा पूर्वाग्रह राख्नु हुन्न । आफ्नो समय र अरुबेला पनि उसले आफ्नो शुद्ध शिक्षकको चरित्रलाई कायम गर्नुपर्छ ।

त्यस बाहेक एउटा शिक्षकलाई आफुले मन परेको पार्टीसँग नजिक रहन दिनुपर्छ । अहिले थुप्रै शिक्षकहरुले आर्थिक उपार्जनको लागि शिक्षण वाहेक थुप्रै आंशिक पेशा गरिरहेका छन् । त्यस्तै राज्यसेवाको लागि आंशिक रुपमा शिक्षकले राजनीति गर्न नहुने ? यो तथ्य परक छैन ।
इच्छुक शिक्षकहरु आफ्नो पेशाप्रति वफादार रहँदै राजनीतिमा लाग्छन भने उसको सम्मान गर्नुपर्छ । शिक्षकहरु विभिन्न योजना हुनसक्छ । के थाहा भोलि त्यही शिक्षक देशको प्रधानमन्त्री बनेर देशलाई परिवर्तन गर्ने हो कि । नेपालमा थुप्रै मन्त्री, प्रधानमन्त्रीहरु कुनै बेला शिक्षक थिए भन्ने तथ्य भुल्नु हुन्न । कुनै बेला विद्यालय, महाविद्यालय र विश्वविद्यालयका अब्बल शिक्षकहरु आज राजनीतिमा पनि अब्बल छन् । यसो गर्दा कसलाई के घाटा भयो र ?

अहिले डोर सर पाँचदशक उमेर नपुग्दै आफ्नो क्षेत्रमा अब्बल योगदान गरेर निवृत्त हुनुभयो । यदि अब उहाँले पूर्णकालिन राजनीति शुरुगर्नु भयो भने भोलि यो देशका मन्त्री प्रधानमन्त्री हुन के वेर ? यसो भयो भने घाटा केही हुन्न फाइदै फाइदा छ । कामचोरहरुले मात्र राजनीति गर्नुहुन्न जस्तो लाग्छ मलाई । डोर सर हिजादेखि नै कांग्रेसको समर्थक हुनुहुन्थ्यो । उहाँले राजनीतिक आडमा कुनै गलत कार्य गर्नुभएन । बरु आफ्नो राजनीतिक पहुँचलाई विद्यालय उकास्न प्रयोग गर्नुभयो ।

अतः शिक्षकले राजनीति ग¥यो भन्दै ठूलो बखेडा झिक्नुपर्छ जस्तो मलाई लाग्दैन । नीजि क्षेत्रका शिक्षकहरु त झन पार्टी र शिक्षा दुबै क्षेत्रमा बराबरा जस्तो प्रगति गरेर अघि बढेका छन् । अहिले पनि केही सांसद नै छन् । आज डोर सरलाई हेर्दै गर्दा मलाई भन्न मन लागेको छ कि इमान्दर भयो भने कुनै पेशा र आस्थाले उसको योगदानलाई थुनछेक गर्न सक्दैन ।
तथापि फेरि एउटा प्रश्न उठ्छ नै । राजनीति गर्न मन भए किन शिक्षक हुनुप¥र्याे, राजनीति नै गरे भइहाल्यो नि ?
यसो हेर्दा प्रश्न सहि जस्तो लागे पनि यो मिथ्य र बखेडा झिक्ने प्रश्न मात्रै हो । यो प्रश्न अहँकारको पराकाष्ठा हो । कतै केही भएन भने प्रश्नको लागि प्रश्न गरेको मात्र हो ।

किन ? कसरी ?
पहिलो कुरा राजनीति कमाइँ खाने पेशा होइन यो सेवा मात्र हो । राजनीति मात्र गरेर यो धर्तीमा कोही पनि बाँचेका छैनन् । बाँच्न सक्दैनन । नेपालका र विश्व भरीका राजनीतिज्ञहरुले कुनै न कुनै रुपमा, कुनै न कुनै पेशा वा व्यवसाय गरेका छन् । त्यसैको आम्दामीमा आफ्नो र परिवारको जीविकोपार्जन गरेका छन् । यो तथ्यलाई बुझ्नु पर्छ । नेपालका नेताहरुले शिक्षा, स्वास्थ्य, बैँक, निर्माण, जल विद्युत, उद्योग, शेयर लगायत विभिन्न क्षेत्रमा लगानी गरेका छन् । यो सामन्य कुरो हो । राजनीति गरेर मात्र जीवन निर्वाह हुँदै हुँदैन । राजनीति बाहेक उसलाई अरु क्षेत्रमा सहभागी हुन नदिने हो भने उसले कनफर्म भ्रष्ट्रचार गर्छ ।

त्यसैले शिक्षकले आफ्नो पेशा शिक्षणको साथमा आंशिक रुपमा राजनीतिसित जोडिन सक्छ । मानौँ एउटा शिक्षकले राज्यबाट तलब लिएको छ । त्यस्को केही रकम उसले राजनीतिक दललाई चन्दा दियो । त्यो राजनीतिक दलले देश विकासको लागि काम गर्देछ । यो सन्दर्भमा त राज्यको तलब बुझेर एउटा शिक्षकले फेरि राज्यलाई नै सेवा दिने उद्देश्य राखेको छ भने के खराबी भयो र ?

फेरि पनि भन्न चाहान्छु कि शिक्षकहरुले राजनीति गरौँ भनेर आवहन गर्न खोजेको होइन । यदि कसैले आफ्नो शैक्षिक धर्मलाई शिरोधार्य गरी आंशिक रुपमा ऊ कुनै राजनीतिक विचारसँग नजिक रहन चाहान्छ भने दिनुपर्छ भन्ने हो । तर, मर्जी सबैको आफ्नै हो ।
वास्तवमा मूल कुरा नियतको हो । नियत ठिक भए सबै ठिक हुन्छ । अप्रेसन गर्ने क्रममा मान्छे मरे पनि डाक्टरलाई पाप र कानुनले छुँदैन किन कि उसको नियत विरामीलाई बचाउने हुन्छ मार्ने होइन ।

अतः कसैले जय नेपाल भन्यो भने यो त कांग्रेसको कार्यकर्ता रहेछ भनेर बुझ्ने तथाकथित विज्ञहरुको मानसपटलमा समझको घाम लागेर नियत ठिक भयो भने शिक्षक, डाक्टर, खेलाडी, कलाकार जोसुकै राजनीतिमा जोडिए पनि केही गलत हुन्न । समाजिक तथा कानुनी रुपमा विभिन्न आरोपहरुमा मुछिएका कतिपय गलत छवि भएका मानिसहरु त यहाँ नेता तथा मन्त्री भएका छन् । त्यसो हुनु भन्दा त एउटा असल शिक्षक नेता वा मन्त्री भयो भने देशलाई राम्रो हुन्छ ।
शिक्षाको धागोमा राजनीतिका फुलहरु उनेर यो देशलाई सजाउने तपाईँका सपनाहरु पुरा होउन् । आफ्नो जीवनलाई नै उत्कृष्ट नमून बनाउँनु भएको बधाई एवम् थ्याङ्क्यू डोर सर ।
-राजेन्द्र बुढाथोकी


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा