शनिबार, साउन ९ २०८३
ताजा अपडेट

एक लाख म्यादी प्रहरीको भर्ना खोल्न अर्थको स्वीकृति, ४० दिनको तलबभत्ता दिइने


  • बिहिबार, फाल्गुन २६ २०७८
11K
SHARES

फाइल तस्विर

अर्थ मन्त्रालयले एक लाख म्यादी प्रहरीको भर्ना लिन स्वीकृति प्रदान गरेको छ । गृह मन्त्रालयले एक लाख १८ हजार म्यादी प्रहरी आवश्यक पर्ने प्रस्ताव पठाए पनि अर्थले एक लाख म्यादीको दरबन्दी स्वीकृत गरेको हो ।

स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै म्यादी प्रहरीको भर्ना लिन लागिएको हो । उनीहरूको पोसाकका लागि समेत बजेट विनियोजन भइसकेको गृहका एक अधिकारीले बताए ।

बुधबार गृहमा निर्वाचन सुरक्षासम्बन्धी चारवटै सुरक्षा निकायका प्रतिनिधिको उपस्थितिमा बैठक बसेको थियो । सोही बैठकमा गृहका अधिकारीहरूले एक लाख म्यादीको दरबन्दी स्वीकृत भएको जानकारी गराएका थिए ।

बैठकमा सहभागी एक अधिकारीका अनुसार पोसाकभत्ताका लागि ६ हजार रुपैयाँ समेत विनियोजन भइसकेको छ । यसबाहेक रासनभत्ता सात हजार निकासा भएको छ ।

अरू तलबभत्ता म्यादी प्रहरीकै खातामा जानेछ । बैठकमा सहभागी अधिकारीहरूका अनुसार म्यादी प्रहरीलाई ४० दिनको तलबभत्ता दिइनेछ । चैत दोस्रो साताबाट भर्ना प्रक्रिया सुरु गर्ने तयारी छ ।

आउँदो वैशाख ३० गते स्थानीय तह निर्वाचन हुँदै छ । निर्वाचन आयोगले समेत निर्वाचनको प्रक्रिया सुरु गरिसकेको छ ।

नेपाल प्रहरीसहित चारवटै सुरक्षा निकायले सुरक्षा रणनीतिको गृहकार्य सुरु गरिसकेका छन् । प्रहरी प्रधान कार्यालयले पनि निर्वाचन सुरक्षा रणनीतिका लागि आवश्यक गृहकार्य सुरु गरेको छ ।

प्रहरी प्रधान कार्यालयको कार्य विभागका डीआईजी रवीन्द्र धानुकको नेतृत्वमा निर्वाचनकेन्द्रित सुरक्षा समिति गठन गरिएको छ ।

म्यादी भर्नामा अवकाशप्राप्त सेना, प्रहरीलाई प्राथमिकतामा दिइनेछ । अवकाशप्राप्त सेना, प्रहरीसँग अनुभव हुने भएकाले उनीहरूलाई परिचालन गर्न सहज हुने सुरक्षा निकायको बुझाइ छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा