शनिबार, साउन ९ २०८३
ताजा अपडेट

१५ सय तिर्न नसकेर स्कुलबाट निकालिएका क्षितिज, अहिले एप्पल कम्पनिको मुख्य इञ्जिनियर


  • शुक्रबार, चैत्र १८ २०७८
9.6K
SHARES

नेपालका क्षितिज राज लोहनीले आईफोनको नयाँ पुस्ताका लागि आईफोन डिजाइन गरेका छन् । लोहनी आईफोन टिमका इन्जिनियर हुन् । उनले ऐप्पलभित्र ‘नेपाली–एट–एप्पल’ समूह स्थापना गरेका छन् । समूहले एप्पलमा काम गर्ने ५० नेपालीलाई एकै ठाउँमा राखेको छ ।

‘एप्पल विश्वकै पहिलो ३ खर्ब डलरको कम्पनी हो । एप्पलका उत्पादनमा नेपालीको पनि योगदान छ,’ क्षितिज भन्छन् । आईफोन, आईप्याड, वाच, म्याप्स, म्याक जस्ता एप्पलका उत्पादनमा नेपालीको पनि योगदान रहेको उनी बताउँछन् । ‘व्यावसयिक करिअर बिकासमा हामीले नियमित रुपले अन्य नेपालीहरुलाई सहयोग गर्छौं,’ क्षितिज भन्छन् ।

नेपालीले एप्पलको अतिरिक्ति विश्वकै प्रतिष्ठित कम्पनीहरुः गुगल, अमेजन, फेसबुक, गोल्डम्यान साच्स, सीएनएन इत्यादिमा महत्वपूर्ण योगदान दिँदै आएका छन् ।जम्मा १५ सय रुपैयाँ तिर्नुछ भनेर पनि सम्झन सक्दैनस्?’ करिब १५ वर्षअघि स्कुलमा त्यो रकम तिर्न नसक्दा निकालिएको घटना क्षितिजराज लोहनीलाई ताजा छ। कक्षा ६ पढ्ने सानो क्षितिजको दिमागमा झन् त्यो कुरा जकडिएर बसेको थियो। त्यतिखेरै संकल्प लिएका थिए, ‘कमाउने भएपछि मजस्ता सबैको पैसा तिर्छु।

आफ्नो सपना पछ्याउँदै-पछ्याउँदै क्षितिज अमेरिका पुगे। संसारकै धनी कम्पनी एप्पलमा ‘सफ्टवेयर इञ्जिनियर’ का रूपमा कार्यरत छन्। बेला–बेला नेपाल आउने उनी गत दुई महिना नेपाल बसेर फर्किए। यो बसाइमा उनले सानो बेलाको संकल्प पूरा गर्ने प्रयास पनि गरे। बुढानिलकण्ठस्थित श्री भद्रकाली स्कुलका विपन्न परिवारका ३३ केटाकेटीको एक वर्षको पूरै खर्च तिरिदिए। त्यसका साथै पाँच वर्षसम्मको पढाइ खर्च बेहोर्ने प्रतिबद्धता जनाएर गए।

‘हाम्रो परिवारसँग कुनै बेला जम्मा १५ सय तिर्न सक्ने हैसियत थिएन। स्कुलको व्यवहारले मलाई साह्रै चित्त दुखेको थियो,’ सानो हुँदाको घटना सम्झँदै भने, ‘त्यो बेलाको केटौले जोशमा म जस्ता सबैको पैसा तिरिदिन्छु भनेको थिएँ। त्यो त नसकिएला, तर जति सक्छु, त्यति भने तिर्छु। मलाई जे भयो, भविष्यमा अरूलाई नहोस्।’क्षितिजका बुबा पनि इञ्जिनियर हुन्। धापासीमा उनीहरूको घर थियो रे। सुरुआतमा राम्रै थियो। माओवादी द्व’न्द्वका’लमा बुबाको जागिर गयो, पछि घर, विस्तारै सबै कुरा। बालख क्षितिजलाई भने यो कुराको चालै थिएन। खेल्ने, कुद्ने र बदमासी नै जिन्दगी।

सानोमा खासै पढ्न नरूचाउने उनले कक्षा १० सम्म आइसक्दै ८ वटा स्कुल फेरिसकेका थिए। कुनैमा बदमास भएकाले निकालिए, कुनै स्कुल मन नपरेर छाडे, कुनै टाढा भएकाले त कुनैमा के …।पढ्न भनेपछि उनलाई फिटिक्कै मन नलाग्ने। पढ्न नपर्ने भएपछि जे पनि गर्न तयार। आमाबुबाले पढाइमा चासो नदेखेपछि मनपर्ने अन्य गतिविधिमा सामेल गराउन चाहे।

पढ्नु पर्दैन भन्ने भएपछि मैले कक्षामा को नाच्छ भन्दा हातसमेत उठाएको थिएँ,’ उनले भने, ‘आमाले त एकपटक कुर्ता सुरुवाल बेचेरै तेक्वान्दोको लुगा समेत किनिदिनु भएको थियो। तेक्वान्दो होस् वा जिम्न्यास्टिक वा फुटबल, सबै पढ्न नपर्ने भएकै कारण मेरो मनपर्ने विषय थिए।बाध्यताले स्कुल फेर्नु एक कुरा, निकालिएपछि भने उनलाई नराम्रो चस्का पर्‍यो। जीवनमा केही नराम्रै भइरहेको छ भन्ने महशुस गरे। त्यो घटनाका कारण घरमा आमाबुबा रोइरहेको देख्दा दिमागले सोच्यो– क्षितिज, यसरी हावा भएर जिन्दगी चल्दैन।

त्योभन्दा बढी स्कुलबाट निकालिँदा प्रधानाध्यापकले ‘१५ सय रुपैयाँ पनि तिर्नुपर्छ भनेर सम्झन सक्दैनस्?’ भन्ने शब्द बारम्बार उनले सम्झिरहे। उनलाई रिसभन्दा बढी चित्त दुखेको थियो।स्कुलबाट निकालिएपछि घरमै थन्किए, स्मरणशक्ति बढाउने तालिम लिए। जीवनमा कुनै दिन गम्भीर भएर नपढेका क्षितिजले दैनिक ७-८ घन्टा ध्यान दिएर ‘मेमोरी रेकर्ड’ बनाउने दौडमा स्मरणशक्ति बढाउने अभ्यास गर्न थाले। सन् २००५ मा उनले चारवटा अन्तर्राष्ट्रिय र एउटा राष्ट्रिय रेकर्ड बनाए।

त्यो रेकर्डपछि उनले र उनकी बहिनीसमेतले पढ्ने छात्रवृत्ति पाए। ‘मेमोरी रेकर्ड’ बनाएकाले यसैलाई व्यावसायिक बनाएर भविष्य बनाऊँ कि भन्ने क्षितिजलाई लागेको थियो। तर उनले कम्प्युटर इञ्जिनियर बन्ने लक्ष्य राखे।सानोमा जिटिए, फिफा अत्ति खेल्थेँ। कम्प्युटरमा बसिरहन के पढ्नुपर्छ भन्दा कम्प्युटर इञ्जिनियरिङ भन्ने दिमागमा आयो,’ आफ्नो इञ्जिनियरिङ यात्राबारे खुलाउँदै भन्छन्, ‘प्रोग्रामिङमा चासो भएर होइन, गेम खेल्न मन लागेर यो पेसामा जोडिएँ।

एसएलसीपछि छात्रवृत्तिमै चेल्सी कलेजमा ‘ए लेभल’ पढे। आफ्ना सबै गतिविधिका रमाइला प्रसंग सुनाउने क्षितिजले भने, ‘ए लेभल भनेको के हो, थाहा पनि थिएन। एउटा साथीले भन्थ्यो, ‘क्षितिज, लास्टमा कि ब्ल्याक लेबल कि रेड लेबल खाने हो। पढ्न चाहिँ ए लेभल नै।’
साथीको उक्साहटमा ए लेभल पढेका उनले पढाइपछि अमेरिकाको नर्थ इस्टर्न विश्वविद्यालयमा छात्रवृत्ति पाए। छात्रवृत्ति पाएपछि खुसी हुनुपर्ने उनको दिमागमा प्रश्न जन्मिन थाले, ‘अब के त? भिसाको पैसा कहाँबाट ल्याउने, प्लेन खर्च, सामान कसरी किन्ने?’घरमा पैसा थिएन, प्लेनको टिकटका लागि माइजूले सिक्री बेचिन्। चेल्सीका एक शिक्षकले सामान किन्न खर्च जुटाइदिए।

त्यसरी अमेरिका पुगेका क्षितिजको इञ्जिनियरिङ यात्रा सुरू भयो।विश्वविद्यालय पढाइ क्रममा त्यहाँका शिक्षकले एकपटक प्रत्येक विद्यार्थीलाई आफ्नो देशको ‘नेटवर्किङ’ बारे प्रस्तुति दिन भनेका थिए। आफ्नो देशबारे सोच्दा अन्यौल भएपछि क्षितिजले अमेरिकाकै अन्तरिक्षसम्बन्धी काम गर्ने संस्था नासाबारे प्रस्तुति दिएछन्।शिक्षकले सोधे, ‘किन आफ्नो देशबारे नगरेको?’उनी नाजवाफ भए।

त्यो घटनाबाट प्रेरित क्षितिज आफैं केही काम किन नगर्ने भनेर घोत्लिन थाले।नेपालको झन्डा सबभन्दा अग्लो स्थानमा पुगेको भनेको सगरमाथाको ८८४८ मिटरमा हो। झन्डा त्योभन्दा माथि कसरी पुर्‍याउन सकिएला भनेर ‘ह्वेदर बलुन टेक्नोलोजी’ मार्फत् काम थाले। १७ महिना लगाएर उपकरण तयार गरे, प्रोग्रामिङ गरे र झन्डा राखे। ‘क्रिन्जल स्पेस’ नामाकरण गरिएको उक्त उपकरण ८० हजार फिट माथि पुग्यो।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा